PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डा केसी र सरकार : वार्ता असफल हुनुका 'फ्याक्टर',  नियत कि कन्टेन्ट?



सागर बुढाथोकी

डा केसी र सरकार : वार्ता असफल हुनुका 'फ्याक्टर',  नियत कि कन्टेन्ट?

२७ दिनदेखि अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने भनिरहेका बेला वार्ता टोलीका दुवै पक्षले आफ्नो अडान छाडेका छैनन्। अनशन लम्बिँदै गएपछि केसीको स्वास्थ्यप्रति संवेदनशील नभएको भन्ने सरकार र डा केसी, दुवै पक्षका वार्ता टोलीलाई आरोप लागिरहेको छ। बारम्बार वार्ता चलिरहँदा पनि वार्ताले निकास निकाल्न भने सकेको छैन।

बुधवार शिक्षा मन्त्रालयमा वार्ता हुनुअघि डा केसी र सरकारबीच वार्ताका लागि सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, नेकपा नेता नरायणकाजी श्रेष्ठ, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालका डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा छलफल भएको थियो।

त्यो छलफलले केसीको मागको विषयमा अनौपचारिक रुपमा सहमति भएको नेम्वाङले बताएका थिए। तर, दोस्रो वार्ताले नेम्वाङको कुरालाई झुट सावित गरिदियो, वार्ता सफल भएन।

लगभग सहमति भइसकेको भनिएको वार्ता असफल भएपछि वार्ता सफल नहुनुको कारण 'नियत' कि 'कन्टेन्ट'? भन्ने प्रश्न उठ्न थालेको छ। वार्ता असफल गराउन विभिन्न 'फ्याक्टर'हरु लागिपरेको भन्दै दुवै पक्षले एक अर्कालाई दोषी करार गरिरहेका छन्।  

डा केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंह सरकारले कन्टेन्टमै छलफल नगरेका कारण वार्ता असफल भएको बताउँछन्। डा सिंह भन्छन्, 'म्यान्डेट छ भन्दै हामीलाई झुक्याइयो। तर, उहाँहरुलाई सहमति त टाढाको कुरा विधेयकमा छलफल गर्ने अधिकारसमेत दिइएको रहेनछ।'

डा केसीले हदैसम्म लचकता अपनाउँदै विधेयक फिर्तीको माग थाँती राखेर संशोधनका प्रावधानमा मात्र सहमति जुटाउन खोज्दा पनि सरकार अडिग रहेको उनको आरोप छ। डा सिंह भन्छन्, 'मुख्य विषयमा छलफल नगरी सरकारले वार्ता गरेको भन्दै झुक्याउने काम गर्‍यो। उनीहरुले मुख्य विषयमा छलफल नै गरेनन्।'

डा सिंहको आरोप छ, 'कन्टेन्टमा छलफल नगरी सरकारले झुक्याउन खोज्दा वार्ता सफल भएन।'

त्यस्तै सरकारी वार्ता टोलीका संयोजक खगराज बराल भने केसी पक्षका बार्ता टोलीका सदस्यहरुको 'नियत'को कारण वार्ता सफल हुन नसकेको बताउँछन्। सरकारले डा केसीको माग पूरा गर्न हदैसम्म लचकता अपनाउँदा पनि उनीहरुले आफ्नो अडान नछाडेको कारण वार्ता सफल नभएको उनको तर्क छ।

बराल भन्छन्, 'उनीहरुले बाहिर एउटा र भित्र अर्को कुरा गरे। अघिल्लो दिन सफल भइसकेको वार्ता दोस्रो दिन सफल बनाउन जिम्मेवार देखिएनन्। उनीहरुले मिडियाबाजी र गलत प्रचार गरेर डा केसीको सेन्टिमेन्टसँग खेल्न खोजे।'

डा केसीको अनशन सधैको लागि अन्त्य गर्न सरकार कटिबद्द भएर लागेपनि विभिन्न फ्याक्टर लागिपरेकाले वार्ता सफल हुन नसकेको बराल बताउँछन। भन्छन्, 'अघिल्लो दिन कन्टेन्टमा लगभग सबै बुँदामा सहमति भएको थियो। तर, दोस्रो दिन उहाँहरु नयाँ माग लिएर आउनुभयो। यसरी त उहाँहरुको 'नियतमा' खोट देखियो नि।'

बरालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा केसी पक्षका सुझाव विधेयकको संशोधनमा राख्न लचिलो हुने गरी वार्ता टोली प्रस्तुत भएको थियो। तर, डाक्टर केसीका पक्षले संघीय संसद्को क्षेत्राधिकारलाई अस्वीकार गर्ने गरी नयाँ माग राखेकाले सरकारी वार्ता टोलीलाई अप्ठ्यारो पार्‍यो। बरालले भने, 'तर, हामी डाक्टर केसीको माग पूरा गर्न र उहाँको जीवनरक्षा गर्नै अत्यन्तै सिरियस छौं। चाँडै नै यो केस सदाको लागि सल्ट्याउन लागिरहेका छौं।'

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्याल सरकारले डा केसीको माग विधेयकमा संशोधन गरेर लाने भन्दाभन्दै मन्त्रिपरिषदले पास गर्नुपर्ने मागका कारण वार्ता सफल हुन नसकेको बताउँछन्। निष्कर्षमै पुगिसकेको वार्ता विवेकशील साझाका कार्यकर्ताको कारणले भाडिएको उनको आरोप छ।

***

गत मंगलबार राति भएको सरकारी टोली र डा केसी पक्षको वार्ता सहमति नजिक पुगेको भन्दै डा केसी पक्षको वार्ता टोलीको संयोजक डाक्टर अभिषेकराज सिंह र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालले सयुक्त विज्ञप्ति जारी गरेका थिए।

त्यसपछि बुधवार बिहान नेम्बाङ र माथेमा सहितको टोलीले बालुवाटारमा छलफल गरेपछि शिक्षा मन्त्रालयमा दोस्रो वार्ता सुरु भएको थियो। पहिलो वार्तामा अनौपचारिक सहमति भएको भनिएको थियो। तर, दोस्रो वार्ता बिनानिष्कर्ष टुंगिएपछि दुवै टोलीले एक अर्कालाई वार्ता असफल बनाउन लागिपरेको भन्दै आरोप प्रत्यारोप गरिरहेका छन्।

तर, वार्ता सफल गराउन  डाक्टर केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेको थियो भने सरकारी वार्ता टोलीले विधेयक संशोधन गरेर डाक्टर केसीको माग पूरा गर्ने सहमति जनाएको थियो। तर, दुवै टोली यति लचक हुदाँहुदै पनि वार्ताले निष्कर्ष निकालेन।
 
आज पनि पनि डाक्टर केसीको माग पूरा गराउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल भन्छन्, 'वार्ता असफल गराउन कुनै पनि 'फ्याक्टर' लागि नपरे आजको वार्ताले निष्कर्ष निकाल्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell