PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिलामाथि गिद्दे नजर लगाउनेको हुर्किएको भर्सन : प्रसाइँ र मन्त्री तामाङको अभिव्यक्ति



स्वेच्छा राउत

महिलामाथि गिद्दे नजर लगाउनेको हुर्किएको भर्सन : प्रसाइँ र मन्त्री तामाङको अभिव्यक्ति

घटना एक: भर्खरै बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मिडियासँग बोलेको एउटा भिडियो सार्वजनिक भयो। उनले भनेका छन् –‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्।‘

छात्राको चरित्र माथि प्रश्न उठाउन प्रसाईं यहीँ रोकिएनन्। थपे –‘बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्?’

घटना दुई:  शनिबार काठमाडौंस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै गर्दा कानुन मन्त्री शेरबहादुर तामाङले भने- ‘बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ। तर डाक्टरको सर्टिफिकेट लिनको लागि मैले सुन्या छु  उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। हाम्रा छोरी चेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन।’ 

*** 

‘छोरी मान्छे भएर सहनशील हुनुपर्छ’ भन्ने सिकाइ बीच हुर्किएका हामी। कति, कसरी, किन सहने भन्ने सिकाइएन। त्यसैले धेरै चुप लाग्न सिक्यौं। प्रतिवाद नगर्न थाल्यौँ।

तर यो पटक हदै भयो।

मेडिकल कलेजका निर्देशक र कानुन मन्त्रीजस्ता देशको ‘ठूला मान्छे’हरुले सार्वजनिक अभिव्यक्तिमार्फत् महिलाको भद्दा मजाक गरे। महिलाको अस्मिता र चरित्रमाथि आघात पर्ने अभिव्यक्ति दिए। सामाजिक सञ्जालमा उनीहरु तारो बने।

बंगलादेशमा पढ्ने विद्यार्थीहरूले प्रसाईंको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै विरोध गरे। ‘वर्ल्डवाइड नेप्लिज स्टुडेन्ट्स अर्गनाइजेसन बंगलादेश'ले छात्राहरुको चरित्रमाथि प्रश्न गरेकोमा प्रसाईँलाई कारबाहीको माग गर्योन। राप्रपाले त मन्त्रीको राजीनामा माग्यो।

यो घटना बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथिको मानसिक, सामाजिक दुर्व्यवहार हो। त्यति मात्र नभएर हामी कस्ता व्यक्तिहरुको निर्देशन र नेतृत्वमा छौं भन्ने प्रश्नको जवाफ पनि। हामीले गलत मान्छेलाई सही ठाउँमा पुर्या्इरहेका छौं भन्ने तथ्यको पुष्टि हो। अनि दुई तिहाइको घमण्ड गरिरहेको नेकपा सरकारले महिलालाई कसरी हेर्छ भन्ने चित्र।

*** 

मन्त्री तामाङ र प्रसाईँले महिलालाई ‘सेक्स अब्जेक्ट’को रुपमा ब्याख्या गरे। यस्ता तथ्यहीन उदाहरण बक्नुको दोष उनीहरुको चेतनास्तरको हो। तर यो नाङ्गो चेतनास्तरको दोष दुर्गा प्रसाईं र शेरबहादुर तामाङहरुलाई मात्र दिन भने मिल्दैन। 

कम्तिमा हामीले मिल्दैन। 

हामी अर्थात् जो सामाजिक सञ्जालमा महिलाको सुन्दरता, कुरुपता वा यौनिकता ट्रोल र मेमका कमेन्टहरु, लाइक, मेन्सनमा खेलाएर रमाइरहेका छौँ।

कसैले ठूलो ओठ र स्तन भएकी केटीको कार्टुन राखेर ‘भाउजु भेटियो’ लेख्छ। अनि त्यसैमा मेन्सन र कमेन्ट गर्नेको ताँती लाग्छ।

कसैले मोटो शरीर भएकी युवतीको फोटो राख्छ र लेख्छ- ‘एम’बाट नाम आउने अभागीलाई यसको किस मिल्छ। अनि त्यसैमा ‘हाहा’ र ‘वाह’ रियाक्ट हुन्छ।

कालो र गोरो छाला भएकी केटीलाई दाँजिन्छ र लेखिन्छ- कुन ‘आइटम’ छान्नु हुन्छ? 

दैनन्दिन ब्युटी पार्लर, मेकअप स्कूल, फिटनेस सेन्टर र विविध औषधी व्यापारीहरुले महिलाको शारीरिक बनोट र यौनिकतालाई विज्ञापनको माध्यम बनाएका छन्।

व्यक्तिगत फोटो वा पोस्टमा सार्वजनिक रुपमा च्वांक, भ्याकेन्सी खुल्ला हो?, पहिलेभन्दा दुब्लाएछौ, फूच्ची आदि लेख्नेहरु पनि हुन्छन्। मेसेज वा कमेन्ट रिप्लाई नगर्दा अभद्र गाली लेखी पठाउनेहरु पनि छन्।

हामी पनि धेरथोर यस्तैमा रमाएका छौं। कतिपटक आफ्नै नजिककाले यस्ता पोस्टहरुमा मेन्सन गर्दा सहजै लिएका छौं। छोडिदिएका छौं। प्रतिवाद गरेका छैनौं। 

जसबाट उनीहरुले आफ्नो दिमागमा ‘ए यसले जे भने पनि सहन्छे’ भन्ने चित्र कोर्दै जान्छन्। अनि न भोलि, आज ट्याग गरेकोभन्दा भद्दा पोस्टमा मेन्सन गर्न आँट्छन्। अनि न हामीलाई कमेन्टमा अपाच्य शब्द वा वाक्यको प्रयोग गर्ने हिम्मत राख्छन्। आज च्याटमा गरेको मजाकलाई हल्का रुपमा लिन्छौं। फलस्वरुप भेटमा द्विअर्थी मजाक गर्न तम्सन्छन्।

दुर्गा प्रसाईं र शेरबहादुर तामाङको दिमागमा महिलालाई लिएर सायद यस्तै चित्र बन्यो। त्यसैले यी ठूला भनिएकाहरुले हल्ला सुनेका भरमा अफवाह फैलाउने दुस्साहस गरे। यी दुई महिलाको शारीरिक बनोट हेरेर उसको चरित्रको टिप्पणी गर्ने,आफूसँग प्रस्तुत हुने शैली हेरेर उसको संस्कार र व्यवहारको निस्कर्ष निकाल्नेहरुको प्रतिरुप हुन्। बाटोमा बसेर महिलामाथि गिद्दे नजर लाउने, जिब्रो पड्काउने र ‘त्यो त मस्की’ भन्नेहरुको हुर्किएका भर्सन हुन्।

यो पटक यी पात्रले महिलामाथि गर्दै आएको टिप्पणी सीमित मान्छेको बीचमा घुम्ने फेसबुक र ट्विटरमामात्र सीमित भएन। आम सञ्चारमार्फत् बाहिरियो। घटनाले ठूलो रुप लियो।

किनभने मन्त्री र व्यापारीले महिलाहरुमाथि एकसाथ सामूहिक लाञ्छना लगाए। अभद्र वचन लगाए। अनि गोविन्द केसीको मागलाई लिएर आन्दोलित मेडिकल विद्यार्थीको आगोमा होमिए। र न प्रश्न उठाइयो। छोरी पढ्न पठाएका हजारौं अभिभावकमा त्रास फैलाइयो र न मुद्दा ठूलो बन्यो। नत्र दैनिक कति युवतिको चरित्रमाथि धावा बोलेर आत्मरतिमा रमाइरहनेहरु सामाजिक सञ्जालमा छन्। 

करणी, बलात्कार, देह व्यापारजस्ता विषय जोडेर महिलाको चरित्र, इज्जत बारे तथ्यहिन दोष थोपर्नु अघि हाम्रा आँखा, ओठ, शरीर, हिंडाई आदि माथि गरिने टिप्पणीले भूमिका खेलेको हुन्छ। मजाकको नाममा प्रयोग हुने द्विअर्थी संवादले उक्साएको हुन्छ। तर हामीले यस्ता कुरालाई साना मानेर छोडिदिन्छौं। कतिपटक थाहै पाउँदैनौं त कतिपटक थाहा नपाए जस्तो गर्छौं। कारण – डर, लाज अनि सामाजिक प्रतिष्ठाको चिन्ता। 

त्यसैले अब साना साना घटना र व्यवहारमा नै ध्यान दिने समय आएको छ। प्रतिकार र प्रतिवाद गर्न सके धेरैजना शेरबहादुर तामाङ र दुर्गा प्रसाईं बन्नबाट पाउँदैन थिए। 
गोविन्द केसीको अनसनले चर्को रुप लिएपछि यी दुईको स्वार्थमा लेउ लाग्यो। संयम गुमाए र कुण्ठा पोखे। अरु कति होलान् यस्तै सोच र यही स्तरको चेतना बोकेर स्कूल कलेजमा- सामाजिक  शिक्षा, नैतिक ज्ञान र शिक्षाको महत्व बारे भाषण ठोक्नेहरु।
प्रश्न, अब के हुन्छ भन्ने हो। 

प्रधानमन्त्री मौन बस्छन् वा कारवाहीका लागि कदम चाल्छन्। 

*** 

सन् २०१३ मा महिलामाथि अभद्र टिप्पणी गरेपछि भारतको उत्तरप्रदेशका खादी तथा ग्राम उद्योग मन्त्री राजाराम पाण्डे बर्खास्त भए। आफ्नो जिल्लाका सडक भारतीय अभिनेत्रीहरु हेमा मालिनी र माधुरी दीक्षीतको गाला जस्तै चिल्ला बनाउने टिप्पणी गरेपछि मुख्यमन्त्री अखिलेश यादवले‘एक्सन’ लिए।

उनले सडकको मर्मतलाई फेसियलको संज्ञा दिएका थिए। अनि महिलाको अनुहारमा चमक र सडकको अवस्था दाँजेका थिए। भारतका विभिन्न महिला संगठनले उनको नियत खराब रहेको भन्दै विरोध गरे। र कारवाहीमा पनि परे।

त्यसअघि राजारामले नै सुल्तानपुरका प्रमुख जिल्ला अधिकारीको शारीर र सुन्दरतापको टिप्पणी गर्दा महिला आयोगले स्पष्टीकरण मागेको थियो।

यो उदाहरण नेपाल सरकारलाई हो। अनि प्रश्न पनि - शेरबहादुर तामाङलाई कारवाही गर्नु पर्छ कि पर्दैन? माफी माग्दै जारी गरेका एक पाने विज्ञप्ति स्वीकार्य छ? बंगलादेशमा अध्ययनरत विद्यार्थी र उनका परिवारलाई परेको मनोसामाजिक आघातको जिम्मेवार को?

अझ व्यवसायी प्रसाईंले त माफी माग्नु त परै जाओस् फेसबुकमार्फत ‘मैले आज होइन केही समय अघि बोलेको कुरा हो’ भन्दै लेखे (हाल उनको फेसबुक बन्द गरिएको छ)। प्रश्न कहिले टिप्पणी गरे होइन। प्रश्न उनको चेतनास्तरको हो।

के मुख थुनेर बसेको सरकारलाई अझै पनि लाग्छ यो चेतना स्तरकाहरुले सही निर्देशन दिन्छन्? कुशल नेतृत्व गर्छन्? होइन भने यस्तो संवेदनशील विषयलाई हल्का रुपमा नलिइयोस्। माइक समातेर आफैँलाई नङ्ग्याउने र अरुलाई कुरीकुरी भन्नेहरुलाई कारवाही गरियोस्। 

प्रधानमन्त्रीलाई चेतना होस्, एकतिर यस्तालाई सुन पानी छर्केर चोख्याउँदा उनीहरु झनै बलिया बन्नेछन् भने अर्कोतिर राज्यप्रतिको जनताको विश्वास भने टुटेर जानेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell