
काठमाडौं : होम अफ क्रिकेट मानिने लर्ड्समा यही जुलाई २९ मा हुने ट्राई सिरिजका लागि मेरिलेबोन क्रिकेट क्लब एमसीसीको अन्तिम टोली घोषणा भएको छ। एक दिने सिरिजमा एमसीसी, नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि नै एमसीसीको कप्तानी श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेले गर्ने पक्का भइसकेको छ। एमसीसीको टोलीबाट इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु इयान बेल र जोनाथन ट्रट पनि खेल्ने पक्का भइसकेको छ।
यसबाहेक १२ सदस्यी टोलीमा जिम्मबावेका पिटर मुर र इंग्ल्याण्डकै निक कोम्पटन पनि थपिएका छन्।
मुरले जिम्बावेका लागि तीन वटै फर्म्याटमा खेलिसकेका छन्। मुरले हालै मात्र अष्ट्रेलिया र पाकिस्तान सम्मिलित टी-२० ट्राई सिरिज खेलेका थिए। यस्तै कोम्पटनले पनि इंग्ल्याण्डका लागि टेष्ट खेलिसकेका छन्।
यस्तै एमसीसीको टोलीको विकेटकिपिङ सम्हाल्ने जेम्स फोस्टर पनि पूर्व टेष्ट प्लेअर हुन्। उनले इंग्ल्याण्डका लागि तीन वटै फर्म्याटमा खेलिसकेका छन्।
टेष्ट खेल्ने यी ६ बाहेक इंग्ल्याण्डका डोमिनिक मानथोर्प र कासिफ अली, न्यूजिल्याण्डका बेन सिर्स तथा स्कटल्याण्डका एलासडाएर इभान्स, मार्क वाट र डाएलन बड्जर एमसीसीको टोलीमा छन्।
डोमिनिक, कासिफ र बेन एमसीसीका युवा खेलाडी हुन्।
एकै दिन हुने तीनवटै खेलको तालिका पनि सार्वजनिक भएको छ। जसअनुसार जुलाई २९ मा स्थानिय मसयअनुसरा बिहान १० बजे एमसीसी र नेदरल्याण्ड्स तथा दिउँसो १:०५ बजे एमसीसी र नेपालबीच खेल हुनेछ। आइसीसी को अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल र नेदरल्याण्ड्सबीचको खेल ४:२० बजे सुरु हुनेछ।
लर्ड्समा हुने ट्राई सिरिजर अगस्ट पहिलो साता हुने नेदरल्याण्ड्स विरुद्धको पहिलो ओडिआई सिरिज खेल्नका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली लण्डन पुगिसकेको छ।
नेपालल टी-२० सिरिज अघि चार अभ्यास खेल समेत खेल्नेछ र आज ह्याम्सपायर हग्स विरुद्ध पहिलो अभ्यास खेल खेल्दैछ।