काठमाडौं : २० दिनदेखि जुम्लामा अनशनरत डाक्टर गोविन्द केसी काठमाडौं फर्कन तयार भएका छन्।
आज दिउँसो जुम्लामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले आफू काठमाडौं जान तयार भएको बताएका हुन्। केसीलाई उद्धृत गर्दै उनका सहयोगी विशाद दाहालले भने, 'म सकारसँग डराएर होइन। आफ्ना विद्यार्थीमाथि गुन्डा शैलीमा धरपकड गरेकाले मात्रै जान तयार भएको हुँ।'
जुम्लामा सुरक्षाकर्मी र केसीका समर्थकबीच झडप भएको छ। झडपका क्रममा केसी समर्थक र केही प्रहरी पनि घाइते भएका छन्।
काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डाक्टर गुणराज लोहनी नेतृत्वको टोली बिहीवार बिहानै जुम्ला पुगेको थियो। हेलिकप्टर सहित सरकारी टोली जुम्ला पुगे पनि उनी सरकारी टोलीसँग आउन भने इन्कार गरेका छन्। उनले पत्रकार सम्मेलनमा आफू सरकारको खर्चमा काठमाडौं नजाने बतएका हुन्।