PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुन तस्करी प्रकरणः छानबिन समितिको म्याद सकिँदै, अहिलेसम्म गोरै नै जालमा परेका ठूलो माछा



सविन ढकाल

सुन तस्करी प्रकरणः छानबिन समितिको म्याद सकिँदै, अहिलेसम्म गोरै नै जालमा परेका ठूलो माछा

काठमाडौँः सुन तस्करी प्रकरण र सनम शाक्य हत्याको अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीको पछिल्लो पटक थप गरेको समय सोमबारबाट सकिएको छ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गत चैत ३० गते गठन भएको समितिले अहिलेसम्म गरेका कामहरूको प्रतिवेदन तयार पारिरहेको छ।

छानबिन समितिका एक सदस्यले पहिलोपोस्टसँगको कुराकानीमा भने,' सोमबारदेखि समितिको थप भएको म्याद सकिएको हो। हाम्रो अनुसन्धान पनि लगभग निश्कर्षमा नै पुगेको छ। अहिले प्रतिवेदन तयार पारिहरेका छौँ। केही सातामा नै सरकारलाई प्रतिवेदन बुझाउने तयारी रहेको छ।'

समितिले सुन तस्करीमा ठूला माछा पक्राउ पर्ने दाबी गर्दै आए पनि अहिलेसम्म सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती र मोहनकुमार अग्रवालमात्र देखिएका छन्। मोहनकुमार अग्रवाललाई भने अझै पनि पक्राउ गर्न सकेको छैन। गोरे भने जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षको लागि थुनामा छन्।

९० दिनको अवधिमा समितिले सुन तस्करीको अभियोगमा ९ जना प्रहरीसहित गरेर ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो।

 

के के गर्‍यो समितिले

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले वैशाख ९ गते पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको थियो। चैत २८ मा अवकाश पाएका निरौला गत वर्ष विमानस्थलमा प्रहरी इञ्चार्जका रूपमा कार्यरत थिए। उनले विमानस्थलबाट सुन बाहिर ल्याउन सहयोग गरेको अभियोगपत्रमा उल्लेख छ।

पूर्वडिआइजी मात्र होइन बहालवाला एसपीसमेत वैशाख ११ गते पक्राउ परे। मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रूपमा कार्यरत विकासराज खनालको मुख्य तस्करसँग सम्पर्क खुलेको छ। उनी हाल पुर्पक्षको लागि क्षेत्रीय कारागार झुम्कामा छन्।

वैशाख १६ गते ३३ किलो सुन काण्डमा अनुसन्धानका लागि डिएसपी प्रजित केसी पक्राउ परेका थिए। केसीले सनम शाक्य हत्याकाण्डको अनुसन्धानको नेतृत्व गरेका थिए। उनी अदालतको आदेश अनुसार अहिले थुनामा छन्। त्यसको तीन दिनपछि अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीलाई पनि समितिले नियन्त्रणमा लिएको थियो। लोहनी पनि अहिले थुनामा छन्।

गत जेठ ८ गते सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती गोरे पक्राउ गर्न समिति सफल हुन्छ। बिहान ५:३४ बजे गौरीघाटबाट पक्रेका समितिको दाबी छ। गोरे हाल केन्द्रीय कारागार सुन्धारामा छन्।

जेठ २५ गते ३८ सय किलो सुन तस्करीको अभियोगमा फरार रहेका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको थियो।  समितिले सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा छापा मारेको थियो। छानबिन समितिले अग्रवाललाई खोजी गरिरहेको छ। उनको घरबाट प्रहरीले केही महत्त्वपूर्ण कागजपत्र समेत फेला पारेको छ।

जेठ २८ गते समितले सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्स छापा मारी प्रहरीले सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको थियो। टोलीको नेतृत्वमा दरबारमार्ग र न्युरोडस्थित आरके ज्वेलर्सका तीन वटा पसलमा छापा मारिएको हो।

समितिका एक सदस्यले भने, 'विभिन्न ३५ थान सामान जफत गरेका छौँ। ३० करोडभन्दा बढी मूल्यको सामान हुनुपर्छ।'

४९ वर्षीय आरके भनिने राजेन्द्रकुमार शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

गत जेठ ३० गते सुन प्रकरणलाई लिएर प्रहरीले ‘बाजेको सेकुवा’का आउटलेटहरुमा छापा मारेको थियो। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा अनामनगर लगायत काठमाडौँभित्र रहेका बाजेको सेकुवाका आउटलेटहरुमा छापा मारी पाँच वटामा सिलवन्दी गरेको छ। सुन प्रकरणमा बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ। जिल्ला अदालत मोरङमा दायर मुद्दामा भण्डारीलाई प्रतिवादी बनाइएको छ।

समितिले असार ६ गते व्यवसायी विमल पोद्दार पक्राउ गर्‍यो। पोद्दारलाई डिल्लीबजारमा रहेको कार्यालयबाट पक्राउ गरिएको हो। सुन प्रकरणमा तानिएका उनी पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पोद्दारलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell