PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'श्रीदेवी'को मृत्युमा विक्षिप्त ‘रंगीला’को कष्टकर भारत यात्रा 



'श्रीदेवी'को मृत्युमा विक्षिप्त ‘रंगीला’को कष्टकर भारत यात्रा 

काठमाडौं : नेपाल सरकारले उत्तरी चीनलाई उपहार स्वरुप दिएको एक जोडी गैंडाको विदाईमा प्रधानमन्त्री स्वयम उपस्थित भए। देशी विदेशी मिडियाले यसलाई प्राथमिकताका साथ प्रकाशित गरे। तर नेपालबाट अर्को छिमेकी भारत पठाइएको भाले भालु ‘रंगीला’ प्रति भने नेपाली सञ्चार माध्मयले खासै चासो दिएनन्। 

झण्डै उस्तै समयमा रंगीला एक हजार किलोमिटर लामो ३० घण्टे यात्रा गर्दै भारतको आगरा पुगेको एएफपीले जनाएको छ। 

चितवनको सौराहाबाट ल्याइएका भद्र र रुपसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्दै गर्दा रंगीला एउटा ट्रकमा आफ्नो यात्रा गरिरहेको थियो। 

रंगीलालाई उत्तर प्रदेशको आगरास्थित ‘बियर रेस्क्यू फेसिलिटी’मा पुर्याचइएको टाइम्स अफ इण्डियाले जनाएको छ। 

कसरी आइपुग्यो रंगीला नेपाल?

रंगीलालाई वन्यजन्तु संरक्षणकर्मी तथा प्रहरीले नेपालको दक्षिणी क्षेत्र रौतहटबाट उद्दार गरेका थिए। 

गत वर्ष मंसिरको अन्तिम साता रंगीला अर्को पोथी श्रीदेवीसँगै रौतहटमा फेला परेको थियो। वन्यजन्तु संरक्षणकर्मीहरुको टोलीले यी दुई भालुलाई निगरानीमा राखेका थिए। नेपालको एक मात्र नाच्ने भालुको पहिचान बनाएको रंगीलालाई तस्करहरुले भारतबाट नेपाल ल्याइपुराएका थिए।

भालुलाई विशेष तालिम दिएर नाच्ने गराइन्छ। उनीहरुको नाक छेडेर रड हालिन्छ जसका माध्यमबाट लामो सिक्रीको सहायताले उनीहरुलाई आफ्नो वशमा राखिन्छ। यही अवस्थामा यी दुई भालुलाई पहिलो पटक रौतहटमा देखिएको थियो। 

रंगीला र उसको जोडी श्रीदेवीलाई कानूनविपरीत नचाउँदै हिँडिरहेको अवस्थामा संरक्षणकर्मीहरुले उजुरी दिएका थिए। प्रहरीले भालु लिएर हिँड्नेहरुको मोबाइल फोन ट्र्याक गरी नियन्त्रणमा लिएको थियो। प्रहरीले भालुलाई उद्दार गरी जिल्ला वन कार्यालय रौतहटलाई बुझायो। 

वन कार्यालयले पर्सा वन्यजन्तु आरक्ष केन्द्रलाई हस्तान्तरण गर्‍यो। तर पर्सामा रंगीला र श्रीदेवीको हेरचाह राम्रो हुन सकेन। व्यवस्थापनमा समस्या भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा उसलाई ललितपुरको सदर चिडियाखानामा ल्याइएको थियो। 
नेपालमा सन् १९७३ देखि भालु नियन्त्रण तथा ओसारपसार प्रतिबन्धित छ। 

रंगीलाको भारत यात्रा

गत जेठ ३१ को मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा ‘भाले’ भारतलाई फिर्ता दिने निर्णय भएको जानकारी गराएका थिए। उनले भाले भनेर संकेत गरेको यही भाले भालु रंगीला थियो। 

साइटिस सन्धि अन्तर्गत भारतको रहेको सो भाले भालु भारतलाई फिर्ता दिने निर्णय भए पनि कहिले कसरी लैजाने भन्ने खुलेको थिएन। ‘सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा भाले जो साइटिस सन्धिअनुसार भारतको रहेछ, त्यो भारत सरकारलाई फिर्ता गर्ने निर्णय भएको हो,’ प्रवक्ता बाँस्कोटाले भनेका थिए। 

नेपालमा भालु लोप जस्तै अवस्थामा छ। अति संकटापन्न सूचीमा छ। 

नेपालमा रहेको भालु फिर्ता लिनका लागि विभिन्न वन्यजन्तु अधिकारवादी संघ संस्थाले नेपाल सरकारलाई दबाब दिइरहेका थिए। सोही अनुरुप नेपाल सरकारले मन्त्रिपरिषदको निर्णयबाट फिर्ता पठाएको हो। 

सदर चिडियाखाना ल्याइएका एक जोडी भालु आफ्नो भएको भन्दै यसबीच भारतले दाबी गर्‍यो।
 
भारतका संरक्षणकर्मीहरुले यसबीच भारतको संघीय वातावरण मन्त्रालयलाई भालु फिर्ता ल्याउनका लागि दबाब दिए। उत्तर प्रदेशका वन्यजन्तु प्रमुख वार्डेनले भालुलाई फिर्ता ल्याउनका लागि पत्र लेखे। लगत्तै भारतको केन्द्रीय सरकारले भालुलाई फिर्ता दिनका लागि पहल थाल्यो।
 
भारतले दाबी गरे पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नारायण रुपाखेती, पर्सा राष्ट्रिय निकुञ्ज चिफ वार्डेन हरिभद्र आचार्य र जिल्ला वन कार्यालय रौतहट डिएफओको नेतृत्वमा गठन भएको अध्ययन समितिले १२, १३ र १४ वैशाखमा रौतहटमा पुगेर अध्ययन गर्‍यो।
अध्ययन टोलीले रंगीला र श्रीदेवी भारतकै रहेको निष्कर्ष निकाल्यो। भालु भारतकै भएको भन्ने त टुंगो लाग्यो तर कसरी फिर्ता दिने भन्ने नेपालमा कानुनी अड्चन देखा पर्‍यो। 

यस्तो अड्चन आएपछि मन्त्रिपरिषदको निर्णयबाटै भारत फिर्ता पठाउने निर्णय भयो। सोही अनुरुप रंगीला आफ्नो प्राकृतिक बासस्थानमा पुगेको छ। 

भारतको जनवार उद्दार संस्था वाइल्ड लाइफ एसओएसका अधिकारीहरुले भालु आफूहरुकहाँ आइपुगेको एएफपीलाई बताए। वाइल्डलाइफ एसओएसले आगरामा भालु उद्दार सेवा सञ्चालन गर्छ।

'हामीले उसको ख्याल गरिरहेका छौँ र खाना दिइरहेका छौँ। उसलाई मह असाध्यै मनपर्छ,' वाइल्डलाइफ एसओएसका सदस्य कार्तिक सत्यनारायणले एएफपीसँग भने, 'क्वारेन्टाइन अवधिपछि उसको घुलमिल र पुनःस्थापना प्रक्रिया शुरु गर्नेछौँ।' 

श्रीदेवीको मृत्यु पछि सरकारलाई थियो दबाब

रंगीलासँगै उद्दार गरिएको श्रीदेवीको मृत्यु भएपछि रंगीलालाई जोगाउने चुनौतीसमेत चिडियाखानामा सामु थपियो। 

१९ वर्षे रंगीलासँगै उद्दार गरेर ल्याइएको १७ वर्षीया श्रीदेवीको चिडियाखानामा ल्याएको केही सातामै मृत्यु भयो। 

उद्दारमा संलग्न संस्थाका निरज गौतमले श्रीदेवीलाई लिभरमा समस्या भएको र त्यो जन्डिस भएको बताउँदै उसको मृत्यु चिडियाखानाको लापरवाहीका कारण भएको बताउँछन्। 

‘यस्ता जनवारहरुलाई नियमित रुपमा परीक्षण गरिरहनुपर्छ। तर त्यहाँ त्यस्तो भएन। हामीले औँल्याएको लापारवाही नै यही हो,’ उनले भने। 

भालुलाई नियमित स्वास्थ्य परीक्षणसँगै प्राकृतिक वासस्थानमा फर्काउनु पर्नेमा त्यस्तो नभएको उनले बताए। ‘उनीहरुलाई एउटा सानो खोरमा राखिएको थियो जुन सफा पनि थिएन,’ उनले भने, ‘हामीले उद्दारका लागि गरेको मेहनत खेर गए जस्तो देखिएको थियो।‘ 

जण्डिस लागेर पोथी भालु श्रीदेवीको मृत्यु भएपछि रंगीलासमेत विरक्तिएको थियो। योसँगै नेपालमाथि जीवित रंगीला फिर्ता पठाउन थप दबाब पर्‍यो।
 
खतरामा परेका तथा दुर्लभ वन्यजन्तु एवं वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साइटिसको पक्ष राष्ट्र भएको कारण नेपालले सोही सन्धिअनुरुप वन्यजन्तुलाई फर्काउनुपर्ने प्रावधान पनि थियो। 

तर फिर्ता लैजानका लागि कानुनी जटिलता रहेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक गोपालप्रसाद भट्टराईले चिडियाखानाले उपयुक्त संरक्षण दिएको त्यतिबेला दाबी गरेका थिए। 

श्रीदेवीको मृत्यु पछि कानुनी अड्चनलाई खोलेर भारत पठाउने तयारी भइरहेको थियो। तर रंगीलाको व्यवस्थापनमा समस्या देखिएपछि फास्ट ट्र्याकको प्रयोग गरी रंगीलालाई फिर्ता पठाउने निर्णय मन्त्रिपरिषदले नै गर्‍यो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell