PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्वास्थ्यमन्त्रीको निजी सचिवको पत्रपछि रोकियो लुम्बिनी अञ्चल अस्पतालको सटर भाडाको टेण्डर



चन्द्रकान्त खनाल

स्वास्थ्यमन्त्रीको निजी सचिवको पत्रपछि रोकियो लुम्बिनी अञ्चल अस्पतालको सटर भाडाको टेण्डर

रुपन्देहीः लुम्बिनी अञ्चल अस्पतालका सटरको टेण्डर प्रक्रिया स्थगित भएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निजी सचिवले ‘प्रदेश सरकारको सहमति अनुसार टेण्डर प्रक्रिया अघि बढाउनु भन्ने परिपत्र’ गरेपछि टेण्डर रोकिएको हो।

अस्पतालमा रहेका ६९ वटा सटरको चार वर्षे म्याद सकिएपछि टेण्डर प्रक्रिया सुरु भएको थियो। जेठमा  प्रकाशित सूचना अनुसार असार २६ गते अन्तिम मिति रहेको थियो। मन्त्रालयको पत्रपछि अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले टेण्डर स्थगित गरेको सूचना जारी गरेका हुन्।

मेसु खनालले जारी गरेको सूचनाप्रति अस्पतालका अध्यक्ष रमेश खनालले आपत्ति जनाएका छन्।

सोमबार पत्रकार सम्मेलन गरी मेसुले टेण्डर प्रक्रिया रोक्न चलखेल गरेको आरोप उनले लगाए । उनले विकास समितिलाई बाइपास गरिएको भन्दै आपत्ति जनाए। अस्पतालले सटरसहित जग्गाबाट करिब साढे सात करोड रुपैयाँ रकम वार्षिक आम्दानी गर्दै आएको छ।

मेसु खनालले भने टेण्डर रद्द नभई केन्द्रको निर्देशन अनुसार केही पछि सारिएको बताएका छन्। केन्द्र सरकारले लुम्बिनी अञ्चल अस्पताल बुटवललाई प्रादेशिक अस्पताल बनाउने चर्चा चलाएको छ। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले भने प्रदेशमा अहिलेसम्म लुम्बिनी अञ्चल अस्पतालबारे केही जानकारी नआएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell