PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विकास बोर्डबाट हटाइएकी नीकिताले भनिन्- अदालत जान्नँ



विकास बोर्डबाट हटाइएकी नीकिताले भनिन्- अदालत जान्नँ

काठमाडौँ :  चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलको सात महिना नबित्दै पद खोसिएको हो।

शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन्। सञ्चार मन्त्रालयले उनलाई आइतबार पदमुक्त भएको पत्र थमाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई बदर गर्ने निर्णय गरेको थियो।

सरकारबाट पत्र प्राप्त गरेसँगै उनी विकास बोर्ड जान छोडेकी छिन्।  उनले पद थमौतिका लागि सर्वोच्च अदालतमा नजाने बताएकी छिन्। 

भनिन् 'म सर्वोच्च जान्न। बोर्डमा अरु नै कोही आएर राम्रो काम गर्नुहुन्छ भन्ने आशा गर्दछु। मेरो त आफ्नै व्यवसाय छँदैछ नि। मेरो टिभी (टिभी फिल्मी) छ, रेडियो छ। 

उनी आफू राजनीतिक दबाबबाट नभई खुल्ला प्रतिष्पर्धाबाट अध्यक्ष बनेकी बताउँछिन्। 'हामी जसरी खुल्ला प्रतिष्पर्धा लडेर, भ्याकेन्सी निकालेर नियम अनुसार नै लडेर आयौं। त्यस्तै प्रकियाबाट अब पनि अध्यक्ष छान्नुपर्छ भन्ने लाग्छ।'

‘भोलि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्मको पहुँच पुर्या उने, बजार विस्तार गर्ने र विदेशी फिल्मलाई नेपालमा छायाँकन गर्न मिल्ने ठाउँ बनाउने योजना भएको मान्छे, पढेलेखेको, बुझ्ने मान्छे अध्यक्ष हुनुपर्छ जस्तो लाग्छ' उनले थपिन्। 

उनले थपिन्, ‘म कुनै पार्टीसँग आबद्ध छैन। आजसम्म कुनै पार्टीमा मेरो लगाव छैन।'

नीकिता बोर्ड अध्यक्षबाट हट्नासाथ नयाँ अध्यक्ष चयन तयारी सुरु भएको छ। अहिले जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष एवम् चलचित्र निर्माता कलाकार केशव भट्टराई बोर्ड अध्यक्ष बन्ने दौडधुपमा छन्। 

'बक्स अफिसका कुरा अब मलाई त थाहा भएन' 

 नीकिताले आफ्नो सात महिने कार्यकालमा बक्स अफिस साउनबाट सुरु हुने दाबी गरेकी थिइन्। तर अब उनी नै पदमुक्त भएपछि बक्स अफिसको कुरा के होला ?  

यसबारे प्रश्न गर्दा उनले अब आफूलाई यसबारे केही थाहा नभएको बताइन्। उनले भनिन् 'खोइ अब म त तयार नै थिएँ। हाम्रो टिम तयार थियो। प्राविधिक कुराहरु पनि मिलाइसकेका थियौं।'

सात वर्षअघिदेखि बक्स अफिसका कुरा सबै अध्यक्षले कुरा उठाए पनि सात महिनाको आफ्नो कार्यकालमा आफूले बक्स अफिस लागु गर्ने मिति नै पक्का गरेको उनले बताइन्। 

उनले विकास बोर्डमा हुँदा बनाएका योजनाहरुमध्ये दुई योजना व्यक्तिगत रुपमा आफैले नै पूरा गर्ने बताइन्। 

उनले पहिलोपोस्टसँग भनिन्, 'मैले बनाएका योजनाहरुमध्ये दुई ‌वटा त म आफै पूरा गर्छु। ‘अन्तर्राष्ट्रिय ट्रेनिङ' र 'सुटिङ डेस्टिनेसन नेपाल' म आफै पूरा गर्छु।'



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell