PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'प्रधानमन्त्रीज्यु, मलाई हटाउने भए एेन संशोधन गरेर आउनुस्, प्रहरीलाई समाउन लगाउँदैमा कुलप्रसाद डराउँदैन'



सागर बुढाथोकी

'प्रधानमन्त्रीज्यु, मलाई हटाउने भए एेन संशोधन गरेर आउनुस्, प्रहरीलाई समाउन लगाउँदैमा कुलप्रसाद डराउँदैन'

सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राडा कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलमै रोकेपछि सरकारको कदमको विरोध शुरु भएको छ। विभिन्न प्राध्यापक संघले यो कदमको विरोध गरिरहेका छन्। 

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा हुने पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।

उनै कोइरालासँग सम्मेलनमा जान रोक्नुको कारणबारे सागर बुढाथोकीले गरेको कुराकानी :

सरकारसँग स्विकृति नलिइ जान लाग्नु भएको रै छ नि?

यो झुटो हो। म विधि विधान र नियम पुर्‍याएर जान लागेको थिएँ। त्यो भन्दाअघि पटक पटक त्यसैगरी जाँदा रोकिएन। मैले त्यही विधि र प्रकिया अपनाएर बिदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ। तर, किन रोकियो। मेरो बिदाको निवेदनको फाइल किन र कस्ले लुकायो। सरकारले मविरुद्ध षड्यन्त्र गरिरहेको छ। मैलै स्विकृति लिएकै हो। निवदेन दिएकै हो। तर कुलपतिले अपराधीको शैलीमा प्रहरी लगाएर पक्राउ गर्नुभयो। १ घण्टा कुराउनु भयो। भेट नि गर्नुभएन। उहाँले गर्न खोज्या के हो, केही थाहा भएन।

केही कारण नभई त प्रहरीले पक्राउ गर्दैनन् नि!

सरकारले मलाई पक्राउ किन गर्‍यो, मलाई नै थाहा छैन। मैले के गल्ती गरें, त्यो पनि भनिएको छैन। तर एउटा कुरा के भने हाम्रो नेपाली समाज बढ्ता 'पोल्टिसाइज' भएको छ। अब कसैले कुलपतिलाई गएर गलत कुराहरु सुनाइदिए होलान्। अफवाह फैलाइदिए होला। तर उहाँले मलाई भेटेर सत्यतथ्य बुझनुपर्थ्यो। सत्यतथ्य नबुझी पक्राउ गर्नुभयो।

कांग्रेसको कोटाबाट उपकुलपति भएकै कारण सरकारले यो कदम चालेको हो भन्ने पनि छन्। तपाइलाई के लाग्छ?

त्यस्तो त हुँदै होइन। मलाई रोकिएको दुइटा कुराले हो कि भन्ने शंका लागेको छ। एउटा कुरा उहाँहरुलाई एकेडेमिक फ्रिडम असह्य छ। दोस्रो उहाँहरु संस्कृत विश्वविद्यालयको विकास र विस्तार चाहनुहुन्न। सन् २०२४ मा विश्व संस्कृत सम्मेलन नेपालमा गर्ने योजना हो। क्यानडा गएर मेरो पहल नै त्यही हुन्थ्यो। अहिले नै ११२ मुलुक छन् त्यहाँ । त्यो बेला अझै बढ्लान भन्ने उहाँहरुलाई पिर हो। नेपालमा संस्कृत सम्मेलन हुदाँ संस्कृतको विकास र विस्तार हुन्थ्यो। वेद विज्ञानको विस्तार हुन्थ्यो। उहाँहरुले नचाहेको कुरा भएकाले उहाँहरुले रोक्ने नै भए। उहाँ(कम्युनिस्ट)हरु त संस्कृत र संस्कारको विरोधी नै हो।

संस्कृत र संस्कारको विकासमा अवरोध गर्नकै लागि तपाईलाई फर्काइयो त्यसो भए?

अरु कारण के नै हुन सक्छ, सबै प्रकिया पुर्‍याएको छु। टुरिस्ट भनेर घुम्नलाई जान लागेको हैन। विश्वविद्यालयको कामले नै हो। अब जानुभन्दा केही क्षण अगाडि पक्राउ गरेर कैद गर्नुको अरु के कारण हुन सक्छ। एक घण्टा रोकेर भेट नै नगरी फिर्ता पठाउनुको अरु कारण के हुन्छ? यो सरकारको गल्ती हो।

सरकारले गल्ती गर्‍यो भन्नुहुन्छ अब के गर्नुपर्‍यो त सरकारले?

मेरो एउटै माग हो कसैले चाहँदैमा नेपालको संस्कृतलाई अपमान र कुण्ठित गरेर फाल्न सक्दैन। प्रधानमन्त्री ज्यू तपाइँले चाहँदैमा नेपालको संस्कार र संस्कृति लोप भएर जान्नँ। जनताहरु सचेत भइसके।

शिक्षामन्त्रीले तपाइलाई पदबाट हट्न निर्देशन दिनुभएको रहेछ,  तर तपाईले नटेरेको भन्ने कुरा पनि आएको छ नि?

शिक्षामन्त्री भएको १७ दिनमा उहाँले हामीहरुलाई बोलाएर तपाइहरुले डेलिभर दिन सक्नुभएन हट्नुस भनेका थिए। हामीले विधि र विधान पुर्‍याउन आउनुस् अनि हट्छौ नत्र हट्दैनौ भनेका थियौ।  त्यसपछि उहाँले हाम्रो धेरै कामहरु रोक्नुभयो। दाङमा ठूलो संस्कृत प्रोजेक्ट ल्याउने कुरा रोकियो। मलाई हटाउन धेरै षड्यन्त्र भइरहेको छ। विधि र विधान पुर्‍याएर आए हट्छु। कुनै पनि एनले उपकुलपतिलाई त्यतिकै हटाउन मिल्दैन। म त अझै प्रधानमन्त्री ज्यूलाई आग्रह गर्छु, दुइतिहाइको सरकार छ एन संशोधन गरेर आउनुस म पदबाट हट्न तयार छु। नत्र धाक धम्की र अपमानले कुलप्रसाद कोइराला डराएर भाग्छ भन्ने नसोच्नु।

कुलपतिले तपाईका गल्ती देख्नुभयो होला नि?

मेरो गल्ती भए मलाई भन्न सक्नुहुन्छ। भेट्न सक्नुहुन्छ। तर उहाँले मेरो गल्ती के हो भन्न सक्नुभएको छैन। घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाले उहाँहरुले  सर्वसत्ताबाद लाद्न खोजेको हुन्। नपढेको मान्छेले ज्ञानको गहिराइ पवित्रता बुझ्ने भएपनि प्रधानमन्त्री ओलीले संगत हुर्काइ र संस्कारले ज्ञानको गहिराइ नबुझेर मलाइ पक्राउ गर्न लगाए। १४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुन्नुहुन्छ होला भन्ने सोचेको थिए तर उहाँ त सामन्ती हुनुहुदोँरहेछ।

अब के गर्नुहन्छ त?

म केही गर्दिनँ। उहाँहरुले कुरा गर्न बोलाउनु भए म छलफल गर्न तयार छु। तर उहाँहरुले अधिनायवाद लाद्न खोज्नुभयो। म सरकारलाई भन्छु, एकेडेमिक क्षेत्रलाई कुनै तानाशाहीले तहसनहस पार्न सक्दैन। हवल्दारी पारा देखाएर विश्वविद्यालय चल्दैन। मेरो एउटै माग हो मेरो गल्ती के हो देखाइदिनुस।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले हवल्दारी पारा देखाए, गोली ठोकेर सरकारमा पुगेकाले संस्कृति मास्न खोजे : उपकुलपति

संस्कृत सम्मेलनमा क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई रोकियो

उपकुलपति नियन्त्रण, अपराधमा संलग्न कि 'कमरेड मोनोपोली'को आवेग? : कांग्रेस प्रवक्ता शर्मा

उपकुलपतिको भ्रमण रद्द : गृहमन्त्रीले भने, ‘गृहमन्त्रालयलाई स्पष्ट जानकारी छैन’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell