PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रिभ्यू : ब्राजिल vs बेल्जियम



पहिलोपोस्ट

प्रिभ्यू : ब्राजिल vs बेल्जियम

विश्वकप २०१८ अन्तर्गत सबैभन्दा माथिल्लो वरियतामा भएको टिमबीचको खेल हुनेछ, ब्राजिल भर्सेस बेल्जियम। फिफाको वर्तमान वरियतामा ब्राजिल दोस्रो तथा बेल्जियम तेस्रो स्थानमा छ।

विश्वकै महँगा खेलाडी नेमार सम्मिलित साम्बा टोली र गोल्डेन जेनेरेसन खेलाडी रहेको रेड डेभिल्स बीचको खेल पक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ।

विश्वकप र फुटबल दुबैको पर्यावाची शब्द रहेको ब्राजिल सर्वाधिक ५ पटकको विश्व च्याम्पियन हो र रसियामा ट्रफी चुम्दै त्यसलाई ६ पुर्‍याउन चाहन्छ। उता उत्कृष्ट खेलाडीहरुको साथ रहेपनि अहिलेसम्म विश्वकपको फाइनल पुग्न नसकेको बेल्जियम यसपटक उपाधिका दाबेदारको रुपमा रहेको छ। दुवैले उपाधि यात्रालाई कायम राख्न आजको खेल्नै जित्नैपर्छ।

ब्राजिल र बेल्जियम दुवै क्वार्टरफाइनल पुग्दासम्म अपराजित छ। ब्राजिलले समूह चरणमा एक खेल बराबरी खेलेको थियो भने बेल्जियमले अहिलेसम्म खेलको ४ वटै खेलमा जित हात पारेको थियो।

यी दुईको क्वाटरफाइनल यात्रा भने अलि भिन्न छ। ब्राजिलले अन्तिम १६ मा मेक्सिकोलाई सहजै २-० ले पराजित गर्दै लगातार सातौँ पटक क्वाटरफाइनल यात्रा तय गर्दा बेल्जियमले भने जापान विरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै ३-२ को जित हात पारेको थियो।

पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको पाँच पटकको च्याम्पियन ब्राजिल १६ वर्षपछि विश्वकप ट्रफी उचाल्ने दाउमा छ।

विश्वकै महँगा खेलाडी नेमार, युवा स्टार गाब्रीएल जेसस, अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्हो, विलियन, पाउलिन्हो जस्ता खेलाडीको साथ पाएको ब्राजिल जस्तोसुकै नतिजा पनि निकाल्न सक्छ।

चारवर्षअघि घरेलु भूमिमै भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७ गोल खाएको ब्राजिल यसपटक उपाधि जित्दै उक्त घाउमा मलम लगाउन चाहन्छ।

समूहको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेपनि त्यसयता ब्राजिलले कुनै गोल नखाई खेल जितेको छ। प्रशिक्षक टिटे प्रत्येक खेलमा फरक रणनीति बनाएर टिमलाई मैदान उतार्ने गर्छन्।

पाँच पटकको विश्वविजेतासँग खेल्दा बेल्जियमको नजर दोस्रो पटक सेमिफाइनल पुग्ने हुनेछ।

‘रेड डेभिल्स’ अहिलेसम्म एक पटक मात्र सन् १९८६ मा सेमिफाइनल पुगेको छ। समूह चरणको ३ वटै खेल जित्नेमध्ये एक बेल्जियमले अहिलेसम्म सर्वाधिक गोल समेत गरेको छ। क्वाटरफाइनलसम्म उसले सर्वाधिक १२ गोल गरिसकेको छ।

कुनै पनि बेला गोल गर्न माहिर र बलिया फरवार्ड रोमेलु लुकालु, कप्तान एडेन हाजार्ड जस्ता खेलाडी उत्कृष्ट फर्ममा छन्। क्लबमा उत्कृष्ट खेलेका केभिन डे ब्रुएनाले भने यस पटक सोचेजस्तो खेल देखाउन सकिरहेका छैनन्।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ तथा इंग्ल्याण्डलाई १-० ले हराएणको थियो। प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध २ गोलले पछि परेपनि उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले ३ गोल फर्कायो र खेल जित्यो। विश्वकपमा यस्तो भएको यो ४८ वर्षयता पहिलो हो। विश्वकपमा अन्डर डगको छवि बनाएको बेल्जियम सम्भावित नयाँ च्याम्पियनको रुपमा हेरिएको छ। त्यसका लागि बेल्जियमले यसअघिका कमजोरीलाई सच्याउँदै उत्कृष्ट खेल खेल्नु आवश्यक छ।

ब्राजिल र बेल्जियमबीच विश्वकपमा अहिलेसम्म एक पटक मात्र भेट भएको छ। रोनाल्डो र रिभाल्डोको गोलमा २००२ को विश्वकपको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई हराएको थियो। समग्रमा यी दुई टोली ४ पटक भिड्दा ब्राजिलले ३ तथा बेल्जियमले १ खेल जितेको छ। सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ५-१ ले विजयी भएको थियो तर त्यसयता लगातार ३ खेल ब्राजिलले जितेको छ।

 

ब्राजिल

ब्राजिल लगातार सातौँ पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। यो स्टेजमा ब्राजिलले दुई पटक मात्र हारेको छ। सन् २००६ मा फ्रान्स र २०१० मा नेदरल्याण्ड्ससँग।

ब्राजिलले विश्वकपमा हारेको पछिल्लो ६ खेल युरोपियन राष्ट्रसँग नै थियो।

विश्वकपको नकआउट राउण्डमा ब्राजिलले हराएको पछिल्लो युरोपियन टिम जर्मनी हो। सन् २००२ को फाइनलमा ब्राजिलले जर्मनीलाई २-० ले हराउदै उपाधि जितेको थियो।

सबैखाले प्रतियोगितामा गरेर ब्राजिल पछिल्लो १५ खेलमा अपराजित छ भने ३ गोल मात्र खाएको छ।

हेड कोच टिटेको आगमनपछि ब्राजिलले खेलेका २५ मध्ये २० खेल जितेको छ। ४ खेल बराबरी हुँदा खेलमा भने ब्राजिल हारेको थियो। यस्तै १९ खेलमा क्लिनसिट राखेको छ।

नेमारले ब्राजिलका लागि खेलेको पछिल्लो १९ खेलमा ११ गोल गरेका छन् भने ९ गोलका लागि सहयोग गरेका छन्।

 

बेल्जियम

बेल्जियमले खेलेको पछिल्ला दुई विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रसँग नै पराजित हुँदै बाहिरिएको थियो। २००२ मा ब्राजिलसँग २-० ले हरेको बेल्जियमलाई २०१४ मा अर्जेन्टिनाले १-० ले पराजित गरेको थियो।

ब्राजिल विरुद्ध जित हात पारे बेल्जियम दोस्रो पटक सेमिफाइनल पुग्नेछ। यसअघि १९८६ मा बेल्जियमले सेमिफाइनल खेलेको थियो।

रसिया विश्वकपमा बेल्जियमले अहिलेसम्म १२ गोल गरिसकेको छ। १९८६ मा पनि उसले १२ गोल गरेको थियो।

रोवर्टो मार्टिनेजको बेल्जियम पछिल्लो २३ खेलमा अपराजित छ। र रसियामा खेल्नेमध्ये सबैभन्दा बढी खेलमा अपराजित रहने टिम समेत हो।

बेल्जियमले खेलेका पछिल्लो १० मध्ये ९ खेलमा पहिलो हाफमा गोल गर्न असफल हुँदै आएको छ।

ब्राजिललाई हराए बेल्जियमले पहिलो पटक विश्वकपमा लगातार ५ खेल जित्नेछ।

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले रसियामा जम्मा ५ सटमा ४ गोल गरिसकेका छन्।

बेल्जियमले विश्वकपमा सबैभन्दा धेरै १२ खेल खेल्दा कुनैमा पनि क्लिनसिट राख्न सकेको छैन।

रोवर्टो मार्टिनेजले प्रशिक्षणमा कप्तान एडेन हाजार्डले बेल्जियमका लागि खेलेका १८ खेलमा १० गोल गरेका छन् भने ९ गोलका साथ असिस्ट गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell