PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'टोले गुन्डादेखि नाइकेसम्म प्रहरी निगरानीमा' 



पहिलोपोस्ट

'टोले गुन्डादेखि नाइकेसम्म प्रहरी निगरानीमा' 

काठमाडौँ: केही साता यता राजधानीबाट टोलेदेखि गुन्डा नाइकेसम्म पक्राउ परिरहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुन्डा नियन्त्रण अभियान नै चलाएको छ।

गत शुक्रबार काठमाडौँमा गुण्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल महाशाखाको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। महाशाखाको टोलीले भुजेललाई कालिमाटीबाट पक्राउ गरेको हो।

सोमबार साँझ ठमेल, दरबारमार्ग लयायतका क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सपन भनिने विमल तुङगेली मगर पक्राउ परे। परिसर टेकुले गुण्डागर्दी गरेको आरोपमा मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।

जेठ २८ गते ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका थिए। महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको थियो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भई चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर प्रहरीको दाबी छ।
३८ वर्षीय लामा गुन्डा नाइके दावा लामासँग निकट भएर गुण्डागर्दी गर्दै आएको प्रहरीको दाबी छ। उनीविरुद्ध व्यापारी, ठेक्केदारलाई धम्काउने पैसा असुल गर्ने उजुरी परेको थियो। 
महाशाखाका प्रमुख एसएपी धिरजप्रताप सिंह पछिल्लो समय गुण्डागर्दी बढेको भन्दै उजुरीहरू पर्ने गरेकाले उनीहरूको निगरानी बढाएको बताउँछन्। 
एसएसपी सिंह भन्छन्,' उपत्यकाभित्र रहेर हुन गुण्डागर्दी गर्ने गुन्डाहरूको सूक्ष्म निगरानी गरिरहेका छौँ। कसैले धम्काउने त्रास फैलाउने गरेको पाइएमा हामी छोड्दैनौँ।'

काठमाडौँको नयाँ बस्ती, कपन, बुढानीलकण्ठ, धापासी,  नयाँ बसपार्क,  बालाजु, बाफल, कालिमाटी, थानकोट, कोटेश्वर क्षेत्र पछिल्लो समय गुण्डागर्दी हुने क्षेत्र हुन् । यहाँ गुण्डागर्दीमा सक्रिय टोलेदेखि नाइके गुन्डाहरूसमेतले बसोबास गर्ने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाको रेकर्डले देखाउँछ।

अहिले पुराना गुण्डागर्दीमा सामेल भन्दा नयाँ टोले गुन्डाहरुले तर्साउने गरेको पाइएको एसएसपी सिंहले बताए। 
उनले भने, 'पुराना नाम सुनिएका गुन्डा नाइके कोही जेलमा छन्। कोही विदेश गइसकेका छन् पहिले लिष्टमा भएकाभन्दा पनि नयाँ टोले गुन्डाको पहिचान गरेर निगरानी गरेका छौँ।'

परिसर काठमाडौँबाट खटिएको टोलीले पनि असार २ गते २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरूले ठमेल, ज्याठा लगायतका क्षेत्रमा  सञ्चालित होटेल, रेस्टुरेन्टमा व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको प्रहरीको दाबी छ।

काभ्रे देउराली ८  घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङ पनि प्रहरी नियन्त्रणमा छन्। 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल शहरमा विभिन्न नाममा आतंक फैलाउने, अशान्ति कायम गर्ने कसैलाई पनि नछोड्ने बताउँछन्।

कुनै समय गुण्डागर्दीमा नाइके गुन्डा भनिएर चिनिएका दीपक मनाङे,  गणेश लामा,  समीरमान बस्नेत, अभिषेक गिरी  लगायतका गुन्डाहरु विभिन्न अभियोगमा थुनामा छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell