PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ने क पाकै सांसदद्वारा सरकारको आलोचना, 'खोकना विनाश गर्न खोजियो, मुअाब्जा कम भयो'



ने क पाकै सांसदद्वारा सरकारको आलोचना, 'खोकना विनाश गर्न खोजियो, मुअाब्जा कम भयो'

काठमाडौं : सत्तारुढ दलका सांसदहरुले नै सदनमा मन्त्रीहरुको आलोचना गरेका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले मन्त्रीहरुले आफ्नो जिल्लामा मात्र बजेट र कार्यक्रम लगेको भन्दै व्यांग्यात्मक आलोचना गरिन्। 

पार्टीका दुई अध्यक्षको निर्देशन विपरित उनले बजेट र मन्त्रीको आलोचना गरिन्। सदनमा बजेट माथिको छलफलका क्रममा सत्तारुढ दलकै सांसदले बजेटको विरोध गरेपछि प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको विरोध नगर्न निर्देशन दिएका थिए।

'मैले यो सदनको सुरुवातमै एउटा कुरा राख्या थिएँ र यो सरकारको नीति तथा कार्यक्रम बजेटमा ललितपुर-३ मेरो क्षेत्र पनि हो। सम्पूर्ण मन्त्रालयबाट परेको योजना भनेको यही एउटा फस्ट ट्र्याकले छुन्छ र रिङरोडले छुन्छ,' उनले व्यंग्य गर्दै भनिन्, 'मन्त्रीज्यूहरुले पहिला आफ्नो जिल्ला विकास गर्नुस त्यसपछि हामीहरुले गरौँला। हामी राजधानीको जिल्ला अलिअलि विकसित छौँ।'

उनले फस्ट ट्र्याकले एेतिहासिक खोकना बस्तीसमेत धरापमा पर्ने भन्दै विरोध गरिन्। स्थानीय जनप्रतिनिधिहरुसँग समेत छलफल नगरी कर्मचारीले कागजमा कोरेर बनाएको योजनाले नेपालको सबैभन्दा पूरानो व्यवस्थित बस्ती खोकना र एेतिहासिक मछिन्द्रनाथ भएको नेवा: जातिको घना बस्ती भएको बुङमतीका स्थानीय सम्पदा र गुठीका सबै सम्पतिहरु विनास हुने भन्दै उनले विरोध गरिन्।

उनले मुआब्जा पनि कम भएको भन्दै आलोचना समेत गरिन्। 'मुआब्जा पनि यति कम छ की रोपनीको ४४ लाख छ। सरकारले खोकना आसपास होइन यो उपत्यका आसपास कहिँपनि ४४ लाखमा रोपनी जग्गा खरिद गर्न सक्छ भने बजार मूल्यमा त्यहाँका जनताको पुन:बास गरोस,' उनले भनिन्, 'होइन भने हामीले त्यो बस्तीलाई संरक्षण गर्ने एेतिहासिक कला सम्पदाको रक्षा गर्ने गरेर स्थानीय जनप्रतिनिधि, सरोकार समाज, रक्षा मन्त्रालय, सैनिक हेडक्वाटर जसले यो फस्ट ट्र्याक बनाइरहेको छ पटक पटक बसरेर हामीले ९ बुँदे समझदारी गरेर बुङमतिको फर्सिडोलमा फस्ट ट्र्याकको जिरो प्वाइन्ट लैजाने सहमति भएको थियो।' 

उनले अहिले समझदारी विपरित त्यहाँका किसानलाई रोपाइ गर्न नदिने गरी काम भएको भन्दै विरोध गरिन्। बदनाम ठेकेदारले डोजर लगेर रोपाइ गर्न नदिएको भन्दै डजर आत‌ंक बन्द गर्न समेत सांसद भुसालले माग गरिन्। उनले सहमति अनुसार फस्ट ट्र्याक बनाउन र क्षतिपूर्ती दिन सरकारसँग माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell