PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कागजको जहाज चलाउनेलाई प्रम ओलीको निम्तोः पुस १६ गते आउनुस, जहाज चढेर कलकत्ता जाने हो



विधुर ढकाल

कागजको जहाज चलाउनेलाई प्रम ओलीको निम्तोः पुस १६ गते आउनुस, जहाज चढेर कलकत्ता जाने हो
फोटो: kpsharmaoli.com.np

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट छिट्टै पानी जहाज कलकत्ता पुग्ने बताएका छन्। मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जहाजको यात्रा गर्न निम्तोसमेत दिए। 

‘रेलको कुरा गर्दा खेलौना देखाए। जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए,’ उनले भने, ‘हेर्दा हेर्दै हनुमाननगरबाट रेल चल्छ। यो २०१८ हो, २०१९को सुरुमै जहाज चल्छ। पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ। सबैलाई निम्तो छ।’ उनले अहिले विरोध गर्नेहरु इतिहासमा मजाकका पात्र बन्नेसमेत बताए। 

उनले ढुंग्रो फुकिरहेकाहरुलाई ग्यास पाइपबाटै पुराइदिन्छु भन्दा पागल नै भएको समेत टिप्पणी गरे। 

देश युग समाप्तीको युगमा प्रवेश गरेको समेत उनको भनाई थियो। ‘देश युग समाप्तीको बाटोमा हिँडेको छ। अब नाकाबन्दीको युग समाप्त भयो। तुईन युग समाप्त भयो। एकदुई वटा होलान ती पनि समाप्त पारिन्छ,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा मैले दुई वर्षमा तुइन समाप्त पार्छु भने। दुई वर्ष वित्यो खै तुइन समाप्त भएको भनेर गिज्याए। अब म दुई वर्ष नी टिकिन त के गर्नु।’ 

त्यतिवेला आफूसँग बहुमत नभएकोले भने जस्तो काम गर्न नसकेको समेत संकेत गरे। ‘त्यतिवेला बहुमत थिएन्। बहुमत नहुदा तर्साउन हुँदो रहेनछ की के हो। रेल आउँछ। जहाज आउँछ भनेर तर्साएँ। अनि चिथोरि हाले नी,’ उनले भने, ‘अहिले त्यस्तो छैन्। हामी दुईतिहाई बहुमतमा छौँ। ६ वटा प्रदेशमा हाम्रो सरकार छ। प्रदेश २ मा ठूलो पार्टी छौँ। स्थानीय तहमा हामी दुईतिहाइकै अवस्थामा छौँ।’
 
ओलीले बहुमतको कुरा गरेर आफूले दम्भ नदेखाएको समेत बताए। ‘यो दम्भ होइन आग्रह हो। विनम्रता हो।’ प्रधानमन्त्री ओलीले अहिले चाहेर पनि वृद्ध भत्ता बढाउन नसकेको बताए। ‘राजस्व उठ्छ १० खर्ब। यही हो मौका भन्दै सुरुसुरु चुनाबको मुखमा बाढेँ मन्त्रीहरुले साढे सात खर्ब स्रोत सुनिश्चित भनेर। अर्थतन्त्र खोक्रो रहेछ। त्यसलाई भर्नुपर्छ,’ उनले भने, ‘यस्तोमा कसरी वृद्धभत्ता बढाउनु? अर्को वर्ष बढ्छ वृद्धभत्ता। पहिला खोक्रो अर्थतन्त्रलाई भर्नुछ।’
 
देश समाजवादी बाटोमा हिँडेको बताउँदै समाजवादलाई कसैले रोक्न नसक्ने बताए। ‘विकटका अव्यवस्थित बस्ती हटाएर आधुनिक एकीकृत बस्ती बनाइन्छ। बाटो बनाउदा डिफेन्डरसहित बाटो बनाइन्छ। डाइबर निदाएनि गाडी खोलामा खस्दैन,’ उनले भने, ‘कसैले सोध्लान कसरी आउँछ समाजवाद? हो यसरी आउँछ। विकट बस्तीहरु आधुनिक शहर तिर लम्किन्छन्।’ 

उनले काम गर्ने भन्दा कराउनेहरु बढी भएको समेत टिप्पर्णी गरे। ‘गाउँमा पहिरो गयो। गाँउका सबै मान्छे पहिरो थुन्न लागि परेका छन्। एकजना सेतै दौरा सुरवाल। पालिस गरेर टिलिक्क टल्काएको जुत्ता लाएर ठाँटिएर गएको छ। उसकै आवाज चर्को यो भएन् त्यो भएन्,’ उनले अगाडि थपे, ‘आजभोली मैले पनि त्यस्तै कराउनेहरु धेरै भेट्छु। जो काम गर्न जान्दैन। जो काममा जाँदैन। तिनिहरुकै चर्को आवाज।’
 
उनले सरकार निर्माण म्युनिकल चेयरको कुर्सी जस्तो नभएको समेत बताए। ‘यो म्युजिकल चेयरको कुर्सी जस्तो होइन्। घण्टी बज्न बन्द हुँदा अगाडि आएको कुर्सी जस्तो ठ्याक्क बस्यो,’ उनले भने। उनले कम्युनिष्ट पार्टीको दृष्टिकोणसहितको नेतृत्वले समाजवाद ल्याएरै छाड्ने समेत दाबी गरे। 

प्रधानमन्त्री ओलीले असोज ३ गते भित्र सबै कानुन बनिसक्ने समेत दाबी गरे। ‘आश्विन ३ भित्र संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन बन्छन्’ उनले भने, ‘सुनिन्छ, खोइ कानुन बनाएको। तिनिहरुले दुई वर्ष के गरे? बल्ल त हामी आएको चार महिना भयो।’ 

यसैबीच प्रधानमन्त्री ओलीले माक्र्सवादलाई मान्दिन भन्नेहरुले माक्र्सवाद नपढेको समेत टिप्पर्णी गरे। ‘पुल बनाउने इञ्जिनियरले मलाई जहाज चलाउन मन लाग्दैन भन्छ। जाने पो चलाउँथ्यो,’ उनले भने, ‘केही वुद्धिजिवीहरुले भन्छन् माक्र्सवाद मन पर्दैन्। पढेको भए पो मन पथ्र्यो।’ 

उनले माक्र्सवाद झण्डाबुर्जा (लंगुर बुर्जा) जस्तो नभएको समेत बताए। ‘विचार टाउका बाहिर पलाउने कपाल जस्तो होइन्,’ उनले भने। 

साम्यवादलाई गरिबीको वितरण भन्नेहरुको मुखमा बुझो लागेको समेत उनले बताए। ‘जसले साम्यवादलाई गरिविको वितरण भन्थे आज चीनले गरेको विकास, भियतनामले मारेको फड्को देखेर उनीहरुको मुखमा बुझो लागेको छ,’ उनले भने, ‘आज आफूलाई पुजिवादी भन्नेहरु पनि आफूमा साम्यवाद घुसाइसकेका छन्।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell