PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार, मेयर भने प्रधानमन्त्रीसित चीनमा



काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार, मेयर भने प्रधानमन्त्रीसित चीनमा

काठमाडौँ : काठमाडौँका स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन्। 

धार्मिक एवम् पुरातात्विक महत्त्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन्।

काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानीपोखरीको सफाई गरेका थिए। सोही क्रममा रानी पोखरीको पुनर्निर्माणमा गति दिन दबाबस्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए।

रानीपोखरीको सफाई सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई 'घाँस' उपहार दिएका थिए। मेयर विद्यासुन्दर शाक्य भने प्रधानमन्त्री केपी ओलीको जम्बो टोलीमा चीन गएका छन्। 

त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानी पोखरी पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरिन्। उनले रानीपोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन्।

रानीपोखरीको पुनर्निर्माणमा ढिलाई भएकोमा काठमाडौं महानगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले रानीपोखरीको मन्दिर बिगारेको थियो। तर पुनर्निमार्ण गर्ने नाममा पोखरीको पानीसमेत सुकाएर पुननिर्माणको कामलाई गति दिने काठमाडौं महानगरपालिकाले  पटक–पटक प्रतिवद्धता जनाएपनि सोही अनुसार काम हुन सकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell