PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आज तीन खेल : डिफेन्डिङ च्याम्पियन जर्मनी र ब्राजिल पहिलो खेल खेल्दै



आज तीन खेल : डिफेन्डिङ च्याम्पियन जर्मनी र ब्राजिल पहिलो खेल खेल्दै

विश्वकपमा आज समूह 'ई' का दुई खेल र समूह 'एफ'का एक खेल हुँदैछन्। पहिलो खेल समूह 'ई'बाट कोस्टारिका र सर्बियाबीच हुँदैछ। साँझ ५:४५ मा हुने खेलमा जित अर्को चरणमा पुग्नका लागि आवश्यक हुन्छ। किनभने यही समूहमा ब्राजिल र स्विट्जरल्यान्ड पनि छन्। 


कोस्टारिकाले चार वर्षअघि क्वार्टर फाइनलको यात्रा गर्दा पूर्व विजेताहरु इंग्ल्यान्ड, इटाली र उरुग्वेलाई डालेको थियो। कोस्टारिका त्यसअघि एक पटकमात्रै समूह चरण पार गर्न सक्षम भएको थियो। 

यता युगोस्लाभियाबाट टुक्रेर बनेको सर्बिया अहिलेसम्म विश्वकपमा समूह चरण पार गर्न सकेको छैन। 

कोस्टारिकाका कोच अस्कर रमिरेज भन्छन्, 'विश्वकपको पहिलो म्याच सधैँ महत्त्वपूर्ण हुन्छ। खेल सुरु भएपछि सर्बियाले त्यसलाई कसरी ह्यान्डल गर्छ, हामी हेर्नेछौँ। उनीहरुले पहिलो २० मिनेटमा निकै प्रेसर दिनेछन् र हामीले यसलाई ब्यालेन्स गरी शान्तसाथ डिल गर्नुपर्नेछ। हामीले पहिला स्कोर गर्छौँ कि उनीहरुले, त्यो मुख्य हुनेछ।'

यता सर्बियाका क्याप्टेन अलेक्ज्यान्ड कोलारोभ आफ्नो क्षमतासहित इमान्दार भएर खेल्ने हो भने गर्न सकिने बताउँछन्। विश्वकपमा छनौट हुनु ठूलो सफलता भए पनि यसमा मात्र सन्तुष्ट भएर नबसी एक चरण अघि बढ्नुपर्ने उनको धारणा छ। 
 

कोस्टारिका र सर्बिया पहिलो पटक एकअर्काको सामना गर्दैछन्। सन् २०१४ को विश्वकपमा कोस्टारिका सबै खेलमा अपराजित रहने तीन टिममध्ये एक थियो। नकआउट चरणमा कोस्टारिका टाइब्रेकरमा पराजित भएको थियो। 

डिफेन्डिङ च्याम्पियनको पहिलो खेल


विश्वकप विजेता जर्मनी आफ्नो पहिलो खेल आज खेल्दैछ। विश्वकप विजेताले आफ्नो टाइटल डिफेन्ड गर्न नसकेको लामो इतिहासका बीच जर्मनीले मेक्सिकोसँग समूह चरणको पहिलो खेल राति ८:४५ मा खेल्दैछ। 

यतिबेला जर्मनीको खराब फर्म चलिरहेको छ। विश्वकपका तयारी म्याचहरु पनि गतिला भएनन्। साउदी अरेबियासँगको जितअगाडि पाँच वटा म्याचमा जर्मनी विजयी हुन सकेन। यसमा होमग्राउन्डमा ब्राजिलसित १-० को पराजय र अस्ट्रियासित २-१ को पराजय पनि छ। 

आजको खेलमा आर्सनलका मेसट ओजिल र म्यानचेस्टर सिटीका इल्के गुन्डोगान दुबैलाई बेञ्चमै राखिने सम्भावना जर्मन मिडियाले उल्लेख गरेका छन्। 

जर्मनी र मेक्सिकोबीच भएका ११ खेलमा मेक्सिकोले एकमात्र जितेको छ। यो खेल सन् १९८५ मा भएको थियो। रुसी भूमिमा दुईको खेल गत वर्ष कन्फिडेरेसन कपको सेमिफाइनलमा भएको थियो जसमा जर्मनी ४-१ ले विजयी भएको थियो। 

जर्मनीले विगत सात विश्वकपका पहिलो खेल जितेको छ। यसमा विगतका चार सुरुका खेलमा गरेका २० गोल पनि सामेल छन्। सन् २०१४ मा पोर्चुगलविरुद्ध चार, सन् २०१० मा अस्ट्रेलियाविरुद्ध चार गोल, सन् २००६ मा कोस्टारिकाविरुद्ध चार गोल र सन् २००२ मा साउदी अरेबियाविरुद्ध आठ गोल जर्मनीले गरेको थियो। 

यता मेक्सिको विगत पाँच वटा विश्वकपका सुरुका खेलमा अपराजित छन्। उनीहरुको पछिल्लो सुरुको खेलमा पराजय सन् १९९४ मा नर्वेसँग थियो। 

सन् १९९० यता हरेक विश्वकपमा ग्रुप टप रहेको जर्मनी चार वटा विश्वकपमा सेमिफाइनलमा पुगेको छ। मेक्सिको भने विगत ६ वटा विश्वकपमा राउन्ड अफ १६ बाट बाहिरिएको छ। 
 

ब्राजिल स्विट्जरल्यान्डसँग भिड्दै

सबैभन्दा बढी पटक विश्वकप जितेको ब्राजिल र स्विट्जरल्यान्डबीच आजको अन्तिम खेल राति ११:४५ मा हुनेछ। यस पटकको विश्वकपका लागि छनौट हुने पहिलो टिमसमेत रहेको ब्राजिलको फर्म वार्मअप खेलहरुमा पनि प्रभावशाली थियो। क्रोएसिया र अस्ट्रियासितको वार्मअप म्याचमा नेयमार जबर्जस्त देखिए। 

पछिल्लो विश्वकपमा होमग्राउन्डमा जर्मनीबाट ७-१ को लज्जास्पद पराजय बिर्सन ब्राजिल प्रयासरत छ। ब्राजिल यस पटकको विश्वकपको प्रमुख दावेदार मध्ये एक हो। टिटेको प्रशिक्षणमा ब्राजिलले अहिलेसम्मका २१ खेलमा एउटामात्रै हारेको छ। 

७-१को पराजय हाम्रो दिमागमा छैन। हामी इतिहास पुनः लेख्छौँ' डिफेन्डर थियगो सिल्भा भन्छन्। 

ब्राजिल र स्विट्जरल्यान्डबीच यसअघि विश्वकपमा एकमात्र भिडन्त भएको छ जुन २-२ मा टुङ्गिएको थियो। खेल सन् १९५० मा ब्राजिली भूमिमा भएको थियो। 

स्विट्जरल्यान्ड आफ्नो समूहको टप एक पटकमात्र भएको थियो। सन् २००६ को विश्वकपमा स्विट्जरल्यान्ड एक गोल पनि नखाने एउटामात्र टिम भएको थियो। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell