PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ओली चीन भ्रमणमा जानुअघि भारतीय मिडियाको प्रोपोगान्डा : के नेपाली सेनाले चीनविरुद्ध संयुक्त अभ्यास गरे?



विधुर ढकाल

ओली चीन भ्रमणमा जानुअघि भारतीय मिडियाको प्रोपोगान्डा : के नेपाली सेनाले चीनविरुद्ध संयुक्त अभ्यास गरे?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन्। बुधबार परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी गराएकै दिन भारतीय सञ्चार माध्यमले नेपाल–चीन सम्बन्धलाई असर पार्ने अर्को ‘प्रोपोगान्डा’ प्रयोग गरेको हो। भारतको टेलिभिजन च्यानल एवीपी न्यूजले नेपाललाई चीनविरुद्ध देखाएको छ। 

नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’को समापनको समाचारलाई लिएर भारतीय सञ्चार माध्यमले चीनविरुद्धको संयुक्त सैन्य अभ्यासको रुपमा प्रसारण गरेको हो। 

भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १३ औं संस्करण सकिएको छ। टेलिभिजन रिपोर्टमा हरेक वर्ष पालैपालो नेपाल र भारतमा आयोजना हुने यो सैन्य अभ्यासलाई ‘चीनसँग लड्ने सैन्य अभ्यास’को रुपमा चित्रण गरिएको छ।

एवीपी न्यूजमा राती ८ः३० बजे प्रसारण भएको र न्यूज च्यानलको वेबसाइटमा राखिएको भिडियो रिपोर्टमा ‘सूर्यकिरण’लाई  चीन विरुद्ध भएको दावी गरिएको छ। 


सैन्य अभ्यासमा सैनिकहरुले आफ्नो बन्दुकमा हरियो बोतलको प्रयोग गरेका छन्। सो हरियो बोतललाई ‘चीनलाई चित खुवाउने हरियो बोतल’को चित्रण गरिएको छ। नेपाल भारत चीनबीचको त्रिदेशीय सीमा क्षेत्र नजिक भएको सैन्य अभ्यासलाई चीन विरुद्धको भन्दै प्रचार गरिएको हो। 

अघिल्लो वर्ष चीन र भारतबीच दोक्लाम विवाद उत्कर्षमा थियो। हाल त्यो विवाद मथ्थर भए पनि चीनको भरोसा गर्न नसकिने भन्दै भारतले नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा बलियो उपस्थिती बनाएको समाचारमा बताइएको छ। 

‘यद्यपि अहिले चीनसँगको सम्बन्ध सामान्य छ। तर, कुनै भरोसा छैन्। चीनले अरुणाञ्चल र जम्मू कस्मीरपछि उत्तराखण्डमा सीमा विवाद पैदा गर्ने प्रयास गरेको थियो,’ रिपोर्टमा अगाडि भनिएको छ, ‘त्यसैले पनि उत्तरखण्डमा भारत चीन र नेपालको त्रिदेशीय सीमाको नजिक भारतीय सेनाले दुई हप्तासम्म विशेष खालको युद्धअभ्यास गर्‍यो जसमा बन्दुकको माथि हरियो र कालो बोलत थियो।’

नेपाल भारत चीन को त्रिदेशीय सीमा क्षेत्रको २५० किलोमिटर पर भएको सैन्य अभ्यासमा कार्गिल युद्धमा लडेका भारतीय सेना सहभागी भएको बताइएको छ। सैन्य अभ्यासको क्रममा ‘एक गोली एक दुस्मन’ भन्ने नारा समेत लगाइएको थियो। ‘मित्र राष्ट्रसँग सैन्य अभ्यास भारतको सैन्य कुटनीतिको एउटा कडी हो,’ रिपोर्टमा अगाडि भनिएको छ। 

कालापानी र लिपुलेक माथि समेत दाबी

रिपोर्टमा नेपालको कालापानी र लिपुलेकलाई समेत भारतीय भारतीय भूमिको रुपमा प्रस्तुत गरिएको छ। कालापानी नेपाली भूमि भए पनि भारतले लामो समयदेखि अतिक्रमण गरेर आफ्नो सेनालाई राखेको छ। त्यस्तै लिपुलेक समेत विवादित छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा चीन र भारतबीच लिपुलेकलाई व्यापारिक केन्द्रको रुपमा स्थापना गर्ने सहमति भएको थियो। नेपालले यसको विरोध गरे पछि हाल यो सहमति स्थगित छ। 

‘कालापानी र लिपुलेकलाई चीनले विवादित बताउन थालेको छ। १९६२ को युद्धपछि चीनले उत्तराखण्डमा कुनै पनि घुसपैठ गरेको थिएन्। न त चीनसँग यहाँ कुनै ठूलो विवाद भएको थियो,’ रिपोर्टमा भनिएको छ, ‘तर, दोक्लाम विवाद पछि चीनले भारतीय सेनालाई भारत चीन सीमा अरु पनि कैयौँ विवादित त्रिदेशीय सीमा क्षेत्र छन् भनेर सतर्क गरायो। जानकारहरुलाई मान्ने हो भने चीनको यो इसारा उत्तराखण्डको लिपुलेख र कालापानी तिर थियो।’ 

यसै कारणले भारतीय सेनाले उत्तराखण्डमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सुरु गरेको भनिएको छ। 

युद्धाभ्यासमा प्रयोग भएको बन्दुकलाई चीन विरुद्ध लड्न सहयोगी हुने बताइएको छ। सैन्य अभ्यासमा प्रयोग भएको अर्को बन्दुकमा कालो रंगो क्यापसहितको बोतल रहेको देखिन्छ। 

यो सैन्य अभ्यासमा दुबै देशका महिला सैन्य अधिकारीहरु समेत सहभागि थिए। नेपाली सेनामा महिलालाई ‘कम्व्याट’को भूमिका दिइएको छ। उनीहरु युद्ध मैदानमा सहभागी हुन्छन्। भारतीय सेनामा महिलालाई ‘कम्व्याट’ रोल दिइएको छैन्। त्यसैले भारतीय सेनाबाट मेडिकल टिममा काम गर्ने महिला अधिकारीहरुलाई सहभागी गराइएको थियो। 

किन प्रयोग हुन्छ हरियो बोत्तल?

बन्दुमाथि लगाइएको हरियो बोतलको विशेष प्रयोजन भनेको गोलीको खोका संकलनका लागि हो। सैन्य अभ्यासका क्रममा सैनिकहरुले कति गोली चलाए भन्ने संख्या दिनु पर्ने हुन्छ। अभ्यासका क्रममा सैनिकले चलाएका गोलिको बाहिरी हिस्सा (खोका) बोतलमा संकलन हुन्छ। 

खोका संकलनमा ध्यान दिँदा सैनिकको ध्यान केन्द्रीत हुन नसक्ने हुँदा त्यसको प्रयोग हुने गरेको सैन्य अधिकारीहरु बताउँछन्। 

कालो बोतलको प्रयोग

कालो बोतल लगाइएको बन्दुक एमफोर कारवाइनको हुबहु नक्कल हो यो बन्दुक। यसमा रबरको गोली हुन्छ। जुन बन्दुकबाट निस्किँदा रंग छोड्छ। जसले निसाना कहाँ लाग्यो भन्ने बुझ्न मद्दत पुग्छ।

एवीपी न्यूजले सूर्य किरण अभ्यासका क्रममा भारतीय सेनाले नेपालबाट के के सिक्यो भन्ने रिपोर्ट आज साँझ प्रशारण गर्ने समेत बताएको छ। 

के हो सूर्यकिरण अभ्यास?

‘सूर्यकिरण’ २०६७ सालमा भारतको मिजोरमबाट सुरु भएको थियो। नेपाली सेनाले बुधवार  जारी गरेको विज्ञप्ति अनुसार ‘सूर्य किरण १३’ प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरिएको थियो। 

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज ९१ सेक्सन महिलासहित सहभागी थिए। 

त्यस्तै भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महासेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए। भारतीय सेनाका तर्फबाट मेडिकल टिमका महिला अधिकारी समेत सहभागि थिए। 

समापन कार्यक्रममा नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएका मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्मा पुगेका थिए। 

त्यस क्रममा उनीहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्धि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ। 

यो सैन्य अभ्यास नेपालमा गत वर्ष रुपन्देहीको सालझण्डीस्थित  एकीकृत सैन्य तालिम केन्द्रमा भएको थियो। भारतको पिथोरगढमा समेत यसअघि यो संयुक्त सैन्य अभ्यास भएको थियो। यो सैन्य अभ्यास नेपालको सालझण्डीमा हुँदै आएको छ। 


गत वर्ष सालझण्डीमा भएको सूर्यकिरण १२ को सैन्यअभ्यासमा सहभागी नेपाल र भारतका सेना।

सैन्य अभ्यास कुनै छिमेकी विरुद्ध होइन : सैनिक प्रवक्ता भण्डारी

यता नेपाली सेनाले भारतमा भएको सैन्य अभ्यास कुनै पनि छिमेकी विरुद्ध नभएको स्पष्ट पारेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले 'सूर्यकिरण- १३' भारतीय मिडियाले प्रचार गरेजस्तो चीन विरुद्ध नभएको बताए। 

'यो विशुद्ध प्रतिआतंकवादी र प्रतिविद्रोहीका साथै विपत् व्यवस्थापनमा केन्द्रित हो,' पहिलोपोस्टसँग उनले भने, 'भारतीय मिडियाले भने जस्तो चीन विरोधी होइन। यो अप्रेसन कुनै पनि देशको विरुद्धमा होइन। यसले नेपाल चीन सम्वन्ध प्रभावित पार्ने र नेपाली सेनालाई चीन विरोधी देखाउने प्रयास मात्र हो।'

उनले नेपाली सेना कुनै पनि एक छिमेकी मुलुकको पक्षमा लागेर अर्को छिमेकी मुलुक विरुद्ध प्रयोग नहुने स्पष्ट पारे।  
 

नेपाल चीन सम्बन्ध प्रभाव पार्ने भारतीय प्रयास

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ देखि १० गतेसम्म चीनको राजकीय भ्रमण गर्दै छन्। उनको भ्रमणलाई प्रभावित पार्ने गरी भारतीय सञ्चार माध्यमको यस्तो टिप्पणी आएको हो। 

‘प्रो चाइनिज’ लिडरको रुपमा चिनिएका प्रधानमन्त्री केपी ओलीसँग भारतीय संस्थापन पक्ष सम्बन्ध सुधारको प्रयास गरिरहेको छ। अर्को तर्फ भारत नेपालमा चीनलाई रोक्ने कोशिसमा लागेको छ। साथै नेपाललाई चीनतर्फ ढल्किनबाट रोक्ने प्रयासमा समेत छ। 

यसअघि गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणबाट रोक्न सफल भएको भारतले यसपटक नेपाल चीन सम्बन्धमा अविस्वास उत्पन्न गराउन खोजेको देखिन्छ। 

गत चैतमा चीनको बोआओमा सम्पन्न बोआओ फोरम फर एसियामा नेपाललाई रोक्नका लागि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा निम्त्याएको भारतले प्रधानमन्त्री चीन भ्रमण अगाडि मोदी नेपाल आएर नेपालमाथिको प्रभावलाई कायम राख्ने प्रयास गरेका थिए। 

अहिले प्रधानमन्त्रीको चीन भ्रमण सार्वजनिक भएकै दिन भारतीय सञ्चारमाध्यमबाट नेपाली सेनामाथि अविस्वास पैदा गर्ने खालको समाचार प्रकाशित गर्नु नेपाल र नेपाली सेनामाथिको चिनियाँ विस्वासलाई प्रभाव पार्ने अभिलासा स्पष्ट हुन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell