PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिंगापुरमा खुकुरी भिरेका गोर्खाले गर्नेछन् ट्रम्प र किमको सुरक्षा 



पहिलोपोस्ट

सिंगापुरमा खुकुरी भिरेका गोर्खाले गर्नेछन् ट्रम्प र किमको सुरक्षा 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन यही महिना सिङ्गापुरमा हुने ऐतिहासिक शिखर वार्ताको क्रममा भेट गर्दैछन्। दुई ‘विपरित ध्रुव’का नेताहरुको सुरक्षाको जिम्मेवारी संसारको सबैभन्दा ठूलो तथा शक्तिशाली योद्धाहरुको समूह नेपालका गोर्खाहरुले गर्ने भएका छन्। 

रोयटर्सका लागि सिङ्गापुरबाट ग्रेग टोरोड र डेबी सिमको रिपोर्ट अनुसार ट्रम्प र किमको सुरक्षाका लागि खुकुरी र आक्रमक राइफल बोकेका गोर्खाहरु परिचालित हुनेछन्। 

दुवै नेताहरुले आफ्ना निजी सुरक्षा दस्ता सँगै ल्याउने भए पनि उनीहरुको सुरक्षाका लागि सिंगापुर पुलिसको गोर्खा दस्ताले सम्मेलन स्थल, सडक र होटलहरुको सुरक्षा प्रदान गर्ने सुरक्षा सम्बन्धि अधिकारीसँग जानकार रहेका एक कुटनीतिज्ञले जानकारी दिएका छन्। 

सिंगापुर पुलिसमा ‘लो प्रोफाइल’ हैसियतमा रहेका गोर्खाहरुले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी डिफेन्स सेक्रेटरी जिम माटिस र अन्य उच्च अधिकारीहरुलाई गत महिना आयोजित सुरक्षा सम्मेलनमा सांग्रिला होटेलमा सुरक्षा प्रदान गरेका थिए। 

गोर्खाहरु शरीर कवजसहित बेल्जियममा निर्मित एफएन एससीएआर युद्धक, आक्रमक राइफल्स र खुट्टामा पेस्तोल सहित सम्मेलनमा उपस्थित हुने छन्। 

‘सबै अत्याधुनिक हतियारका वावजुद पनि गोर्खाहरु खुकुरीविना कुनै पनि युद्ध र प्रतिरक्षाको तयारी गर्दैनन्। उनीहरुको रोजाइमा केही मोडिएको परम्परागत हतियार पर्छ। किम्वदन्ती अनुसार खुकुरीलाई हरेकसमय रगत आवश्यक हुन्छ,’ रिपोर्टमा अगाडि भनिएको छ।

ट्रम्प र किमको सुरक्षाका लागि ‘सिंगापुरले प्रस्ताव गर्ने एउटा उत्तम विकल्प नै उनीहरु हुन् र म विश्वस्त छु की उनीहरु यो सम्मेलनमा संलग्न हुनेछन्,’ इन्टरनेशनल इन्स्टिच्यूट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)का सिंगापुर सशस्त्रबल सम्बन्धि विज्ञ टिम हक्स्लेले भनेका छन्, ‘उनीहरु अग्रपंक्तिमा उभिने उपयुक्त शक्ति हुन्।‘ 

सिंगापुर पुलिसका प्रवक्ताले सम्मेलनको सुरक्षाका लागि परिचालन हुने गोर्खा तथा त्यहाँका प्रहरीको संख्याको बारेमा भने खुलाउन चाहेका छैनन्। 

आईआईएसए मिलिटरी व्यालेन्सका अनुसार एक हजार ८ सय गोर्खाहरु त्यहाँका ६ अर्धसैन्य कम्पनीमा सिंगापुर पुलिस मातहत काम गरिरहेका छन्। 

वेलायती साम्राज्यको अन्त्यसँगै त्यसैको लिगेसीको रुपमा सिंगापुर पुलिसमा नेपालीलाई भर्ना गरिँदै आएको छ। उनीहरु वेलायती गोर्खा सैनिकसँग तुलना गरिन्छ। गोर्खाहरु करिब २ सय वर्षदेखि यहाँ सुरक्षाको काम गर्दै आएका छन्। 

१९ औँ शताब्दीमा नेपालसँगको युद्धमा पराजित भएको वेलायतले नेपाली गोर्खा सैनिकको युद्ध कौशलता र बहादुरीका कारण आफ्नो सेनामा भर्ना गर्न थालेको हो। 

हाल गोर्खा सैनिकहरु वेलायत, भारतीय सैनिक तथा ब्रुनाई र सिंगापुर प्रहरीमा समेत कार्यरत छन्। 

गोर्खाहरुले दुवै विश्वयुद्ध सँगै फोकल्यण्ड र हालैको अफगानस्तानको युद्धमा समेत लडेका छन्। 
 

सिंगापुरमा गोर्खा

गोर्खाहरुले आफूलाई लामो समयदेखि सिंगापुरको नेतृत्वको सुरक्षाका लागि बहुमूल्य भएको प्रमाणित गरिरहेको हक्स्लेले बताए। उनीहरु तटस्थ रुपमा जातीय आधारमा विविधता युक्त देशसँगै विशिष्ठ पाहुनाहरुको सुरक्षा प्रदान गरिरहेको उनले बताए। 

गोर्खाहरुले क्षेत्रीय विवादका समयमासमेत त्यहाँका अन्तर्राष्ट्रिय विद्यालयको रक्षा गरेका थिए। साथै मलेसिया र सिंगापुरको सीमा समेत उनीहरुले सुरक्षा दिएका छन्।
 
सिंगापुर पुलिसको आधिकारिक वेवसाइटमा गोर्खालाई सिंगापुरको सुरक्षाका लागि अर्धसैन्य अप्रेसन प्रणाली अन्तर्गत खटिने ‘शक्तिशाली, सतर्क र दृढ’ शक्तिका रुपमा व्याख्या गरिएको छ। 
गोर्खाहरु आफ्नो परिवारको साथमा शहर बाहिर माउन्ट वेरनान सिविरमा बस्दै आएका छन्, जहाँ सर्वसाधारण सिंगापुरका नागरिकहरु प्रवेश पाउँदैनन्।
 
एक गोर्खाकी श्रीमतीका अनुसार त्यहाँको जीवन प्रतिबन्धित जस्तै छ। 

‘हामीले यहाँ कर्फ्यूको महसुस गर्छौं,’ उनले भनिन्, ‘हामी बाहिर बस्नका लागि उपर्युक्त कारण दिए हुन्छ। तर, पुरुषहरुका लागि कुनै माफी छैन। एउटा नियम के हो भने हामी साढे १० बजेभित्र सुतिसक्नुपर्छ। यसको मतलब कुनै गीत संगीत समेत बज्न पाउँदैन। हामीले उत्सव मनाइरहेका छौँ भने पनि रोक्नुपर्छ। होइन भने त्यहाँ हस्तक्षेप हुन्छ।’  

१८–१९ वर्षको उमेरमा सिंगापुर पुलिसमा भर्ती हुने गोर्खाले सिंगापुरमा तालिम लिन्छन्। उनीहरु ४५ हुँदा अवकाश पाउँछन्। उनीहरुले स्थानीय महिलासँग विवाह गर्न पाउँदैनन्। उनीहरुका सन्तानलाई स्थानीय स्कुलमा नै पढ्न दिइन्छ। 

केही पूर्व वेलायती सैनिकहरुले सिंगापुर प्रहरीको नेतृत्व, तालिम तथा संगठनात्म भूमिका निभाएका हुन्छन्।
 
‘यद्यपि, उनीहरु प्रहरी हुन् तर यो दस्ता र वेलायती सेनाबीचमा गहिरो र बलियो सम्बन्ध छ,’ एक वेलायती सैन्य अधिकारीले भने, ‘उनीहरु राम्रो परम्पराका अंग हुन्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell