PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एकतापछि नेकपाले यसरी बनाउँदै छ तल्लो तहका कमिटीहरु



विधुर ढकाल

एकतापछि नेकपाले यसरी बनाउँदै छ तल्लो तहका कमिटीहरु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो तहसम्मको कमिटीलाई एकीकरणका लागि गृहकार्य अगाडि बढाएको छ। 

तीन महिनाभित्र एकीकरणका लागि प्रतिवेदन तयार गर्नेगरी कार्यदलले काम अगाडि बढाएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ मा पार्टी एकता हुँदा केन्द्रीय समिति र स्थायी समिति गठन भइसकेको छ। 

त्यस्तै आन्तरिक रुपमा पार्टीका तल्ला कमिटीलाई एकीकरणका लागि गत बिहीवार पार्टीका दुवै अध्यक्षले आन्तरिक सर्कुलर जारी गर्दै एकीकरणका लागि तयार रहन समेत निर्देशन दिएका थिए। केन्द्रमा एउटै कमिटी बने पनि स्थानीय तहमा भने दुवै दलका कमिटीहरु छन्।
 
दुवै अध्यक्षले दुवै पार्टीका कमिटीलाई तीन महिनाभित्र एकीकरणको प्रक्रियामा समाहित गराउन सर्कुलर जारी गरेका थिए। 
त्यस्तै तल्ला कमिटीहरु एकीकरणका लागि समेत विभिन्न कार्यदल गठन भएका छन्। 
प्रदेश कमिटीहरू समायोजन गर्न नेकपाले सातै प्रदेशमा चार–चार जनाको कार्यदल बनाएको थियो। सोही अनुरुप कार्यदलले काम थालेको प्रदेश ५ को कार्यदलका सदस्य मणि थापाले जानकारी दिए। 

जिल्ला संगठन निर्माणका लागि कार्यदलको बैठकमा तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका जिल्ला इञ्चार्ज समेत सहभागी हुन पाउनेछन्। 

‘हामीले काम अगाडि बढाइसकेका छौं। तीन महिनाभित्र प्रदेश र जिल्लाका पदाधिकारी सहित समिति टुंगोमा पुराउने हामीलाई जिम्मेवारी छ,’ उनले भने, ‘सोही अनुरुप हामीले काम अगाडि बढाएका छौं।’
 
यस विषयमा जिल्ला र प्रदेशमा समेत छलफल अगाडि बढेको थापाले जानकारी दिए।

नेकपाले तल्लो कमिटी गठन गर्दा एक सदस्य एक पदको अवधारणा समेत लिएको छ। केन्द्रीय कमिटीमा परेका सदस्य जिल्ला वा प्रदेशको समितिको नेतृत्व पाउने छैनन्। 

केन्द्रमा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेकपाको प्रदेश कमिटी १५१ सदस्यीय हुनेछ। यसअघि पार्टी एकताका लागि गठन भएको कार्यदलले तयार पारेको विधानमा ७५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने उल्लेख छ। यसरी गठन हुने जिल्ला कमिटीमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच जनाभन्दा बढी सहभागी गराइने उल्लेख छ। 

त्यस्तै स्थानीय तहमा महानगरपालिका समिति ७५ सदस्यीय हुनेछ। उपमहानगर ६५, नगर र गाउँपालिका कमिटी बढीमा ५१ सदस्यीय हुने विधानमा उल्लेख छ। त्यस्तै वडा कमिटीहरु बढीमा २५ सदस्यीय हुने छ। नेकपाको सबैभन्दा तल्लो कमिटी प्रारम्भिक कमिटी १५ सदस्यीय हुने रामबहादुर थापा नेतृत्वको कार्यदलले बनाएको विधानमा उल्लेख छ। 

यता जनवर्गीय संगठनको एकीकरणका लागि समेत कार्यदलहरुले काम थालेका छन्। यी कार्यदलले १५ दिनभित्र काम सकी प्रतिवेदन बुझाउनुपर्ने छ। सोही अनुरुप कार्यदलले काम अगाडि बढेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell