PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सांसदको सिफारिसमा एसियन गेम्सको लागि बक्सिङमा पुन: खेलाडी छनोट हुने



पहिलोपोस्ट

सांसदको सिफारिसमा एसियन गेम्सको लागि बक्सिङमा पुन: खेलाडी छनोट हुने
दिपक श्रेष्ठ र कमल थापा

काठमाडौं : आगामी सेप्टेम्वरमा इन्डोनेसियामा हुने १८औँ एसिया गेम्सको लागि पुरुष ७५ केजी तौल समूहमा पुन: छनोट खेल गराइने भएको छ।

यसअघि नै बक्सिङको सबै खेलाडी छनोट गराएर क्लोज क्याम्पमा राखिएको भएपनि बाजुराको सांसद लालबहादुर थापाको सिफारिसमा ७५ केजी तौल समूहमा पुन: छनोट खेल गराइन लागेको हो।

क्याम्पमा नपरेका थापा भतिज कमल थापाको लागि पुनः छनोट खेल गराइने भएको छ। हाल पुलिस क्लबबाट खेल्दै आएका कमल झापामा भएको राखेप च्याम्पियनसिपमा तेस्रो भएका थिए। च्याम्पियनसिपमा पहिलो र दोस्रो हुने खेलाडी मात्र क्लोज क्याम्पमा छानिएका थिए।

यो स्पर्धामा छनोटको फाइनलमा एपीएफ क्लबका कौशल जङ थापाले वाक ओभर दिएपछि आर्मीका दिपक छनोट भएका थिए।

बक्सिङ टिमका मुख्य प्रशिक्षक प्रकाश थापाले राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार पुन: खेलाडी छनोट गराउन लागेको पहिलोपोस्टलाई बताए। ‘राखेपले जेठ १५ मा निर्णय गरेर खेलाडी छनोट सम्बन्धमा भनेर पत्र पठाएको छ। त्यसै अनुसार हामीले पुरुष ७५ केजी तौल समूहमा खेलाडी छनोट प्रतियोगिता गराउनेछौँ।’

लामो समयदेखि खेलाडी क्याम्पमा रहँदा पनि किन पुन: खेलाडी छनोट गराउनुपरेको भन्ने प्रश्नमा उनले आफूहरु कर्मचारी, प्रशिक्षक मात्र भएको र राखेपकै मातहतमा संघ रहेकाले राखेको निर्देशन मान्नुपर्ने बताए।

थापाले अब कमल थापा, दिपक श्रेष्ठ र यसअघि ६४ केजी तौल समूहको छनोटमा तेस्रो भएका दुई जनालाई समावेश गरेर ७५ केजीका लागि खेलाडी छनोट गराउने जानकारी दिए।

खेलाडी कमल थापाको लागि लालबहादुरले पावर लागएको भन्ने विषयमा आफूलाई त्यति जानकारी नभएको र हल्ला मात्र सुनेको थापाले बताए।

पहिले नेकपा एमाले  र हाल नेपाल कम्युनिष्ट पार्टीका सांसद रहेका थापाको सिफारिसमै राखेपले पुन: खेलाडी छनोट गराउन लागेको जानकारी आएको छ।

यस्तै कमल थापाले आफैँ राखेपलाज्ञ निवेदन दिएको बताउँदै सहि रुपमा खेलाडी छनोट हुनुपर्ने बताए। उनल् यसअघि ६४ केजीको खेलाडी रहेको दिपक श्रेष्ठलाई छनोट गराउनुलाई ठिक नभएको भन्दै राखेपमा १ महिनादेखि यस बारे जानकारी गराउँदै आएको तर सुनुवाई नभएको पहिलोपोस्टसँग बताए।

आफू कसैको भतिज भएको भन्दा पनि एउटा राम्रो खेलाडीले एसियन गेम्सको छनोट खेल्न पाउनुपर्ने माग मात्र राखेको बताए।

'हामीले एसियम गेम्समै खेल्न जानुपर्यो भनेका छैनौँ, सहि खेलाडीले सहि रुपमा छनोट खेल्न पाउनुपर्छ भन्ने माग हो।'

७५ केजी तौल समूहमा छनोट भइसकेका दिपक श्रेष्ठले भने क्लोज क्याम्पमा रहेका खेलाडीले जुन तौल समूहमा पनि खेल्न पाउने र महिला खेलाडीहरुको तौल समूह पनि हेरफेर गरेको बताए। उनले एकपटक छनोट भइसकेपछि पुन: छनोट खेल्नु एउटा खेलाडीको लागि ठिक नहुने पनि बताए।

यसबारेमा बुझ्न खोज्दा राखेपका सदस्य सचिव केशव विष्ट र बक्सिङ संघका अध्यक्ष अवालेसँग सम्पर्क हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell