PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

उत्तर कोरियाली उच्च अधिकारी अमेरिकामा, ट्रम्प र किमबीचको वार्तामा छलफल केन्द्रित 



उत्तर कोरियाली उच्च अधिकारी अमेरिकामा, ट्रम्प र किमबीचको वार्तामा छलफल केन्द्रित 
तस्विर : Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन्। उत्तर कोरियाको वर्कस् पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष जेनरल किम योङ चोल नेतृत्वको टोली बेइजिङ हुँदै अमेरिका पुगेको हो।

बेइजिङमा रहँदा किमले चीनका अधिकारीसँग सिंगापुर वार्ताका बारेमा परामर्श गरेको जनाइएको छ।

अमेरिका पुगे लगत्तै उत्तर कोरियाली विशेष दूतका रूपमा किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग बुधबार भेट गरेका छन्। यस्तै बिहीबार पनि किम र पोम्पियोबीच महत्त्वपूर्ण छलफल हुने बताइएको छ। किम योङ चोलको अमेरिकी राष्ट्रपतिसँग भेट हुनेबारे केही खुलाइएको छैन।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ का लागि तय भएको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता रद्द गरेका थिए। तर, ट्रम्पले पुनः किमसँगको वार्ता नटरेको अभिव्यक्ति दिएका थिए। साथै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच गत शनिबार आकस्मिक भेटवार्ता भएको थियो र त्यस वार्ताले पनि ट्रम्प र किम जोङ उनबीच हुने भनिएको वार्ताको सम्भावनालाई बढाएको थियो।
 
सिंगापुरमा जोइ हयागिन नेतृत्वमा एक अमेरिकी टिमले पनि किम योङ चोलसँग  शिखर वार्ताका विषयमा रणनीतिक छलफल  गर्ने जनाइएको छ।

त्यस्तै,‍ रूसी विदेशमन्त्री सर्जी लाभरोव पनि बिहीबार वार्ताका लागि पोङयाङ्ग आइपुग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell