PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तःशुल्क बढ्ने सूचना चुहिएपछि गाडी आयात बढ्यो, १० दिनमै ८२६ गाडी आयात 



सविन मिश्र

अन्तःशुल्क बढ्ने सूचना चुहिएपछि गाडी आयात बढ्यो, १० दिनमै ८२६ गाडी आयात 

काठमाडौँः पछिल्लो दश दिनको अवधिमा वीरगंज भन्सार हुँदै ६ सय ३३ वटा साना चार पांग्रे सवारीसाधन नेपाल भित्रिएका छन्।

बजेट आउनुअघि सीमामै थन्क्याएर राखेका गाडी एकाएक व्यवसायीले भित्र्याउन थालेका हुन्। बजेटमार्फत सवारी साधनको अन्तःशुल्क परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीले आयात बढाएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल बताउँछन्। 'बजेट आउने दिन नजिकिँदै गर्दा अनुमानका आधारमा गाडी भित्र्याउने पहिलेदेखिकै चलन हो, अहिले पनि त्यही भइरहेको छ' पोखरेलले भने। 

वैशाख अन्तिम सातादेखि नै सवारी साधनको आयात बढ्न थालेको उनले बताए। साना सवारीका अतिरिक्त मोटरसाइकल र अन्य ठूला सवारीसाधन पनि जेठ १५ अघि नै भन्सार 'क्लियर' गर्ने हतारोमा आयातकर्ता लागेका छन्। 

बजेट आउन चार दिनमात्रै बाँकी रहँदा सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्कको दर परिवर्तन हुने सूचना अर्थमन्त्रालयबाट चुहिएको भन्दै व्यवसायीले गाडी आयात बढाएका हुन्। अन्तःशुल्क बढे त्यसले सवारी साधनको मूल्य बढाउने भएकाले बजेट अगावै सामान भित्र्याउने क्रम बढेको हो। 

सरकारले चालु आर्थिक वर्षको बजेट निर्वाचनको समयमा ल्याएकोले राजस्वका दरमा हेरफेर गर्न पाएन। निर्वाचन आचारसंहिता लागू भएकाले नयाँ कार्यक्रम थपिएको थिएन भने करको दर पनि परिवर्तन भएको थिएन। 'गत वर्ष आयातमा खासै फरक देखिएको थिएन, यो वर्ष धेरै नै बढेको छ' पोखरेलले भने।

भैरहवा भन्सार कार्यालयबाट आयात हुने सवारी साधनको संख्या गत वर्षको वैशाखभन्दा यो वर्षको वैशाखमा करिब दोब्बरले बढेको छ। गत वर्षको वैशाखमा भैरहवाबाट ३६६ वटा साना चारपांग्रे सवारीसाधन भित्रिएकोमा यो वर्षको वैशाखमा ६८१ वटा भित्रिएका छन्। यस्तै जेठको ९ दिनमा १९३ वटा त्यस्ता सवारीसाधन नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यले जानकारी दिए। 
 बजेटको मुखमा सवारी साधनको आयात बढ्ने नियमित 'ट्रेन्ड' यो पटक वैशाखबाट देखिएको शाक्यले बताए। 'पछिल्लो समय आयात बढेको सत्य हो। हल्लाकै भरमा गाडी आयात बढेको छ' उनले भने, 'गत वर्षको अवस्था यस्तो थिएन। यो वर्ष धेरै बढेको छ।'

 
सरकारलाई लक्ष्य पुर्‍याउन राहत

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको १० महिना सम्ममा ५ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो। तर यो अवधिमा लक्ष्यको ९७.७८ प्रतिशत अर्थात् ५ खर्ब ६५ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। 

 वर्षको अन्तिममा आयात बढ्ने भएकाले बाँकी अवधिमा लक्ष्य पूरा हुनेमा राजस्व सचिव शिशिरकुमार ढुंगाना ढुक्क देखिएका छन्। 'अहिले जम्मा १२ अर्ब रुपैयाँ अपुग देखिएको छ। बाँकी अवधिमा पनि यो रकम पूर्ति हुन्छ र लक्ष्य पूरा हुन्छ' उनले भने, 'बजेटको मुखमा आयात बढ्छ। यसले राजस्व बढाउन सहयोग गर्छ।'

 बजेटको मुखमा सवारी साधनको आयात बढ्नुलाई उनले स्वाभाविक मानेका छन्। 'कर बढ्ने डर व्यवसायीलाई हुन्छ, व्यवसाय गर्ने मान्छेलाई यो लाग्नु स्वाभाविक हो' उनले भने।

थप समाचार विजमाण्डूमा पढ्न सक्नुहुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell