PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'गोरे'का बाबु भन्छन्- छोराको मानसिक सन्तुलन गुमेको हो कि ! सुनको काम गर्छ भन्ने सुइँको थिएन



अनन्तराज न्यौपाने

'गोरे'का बाबु भन्छन्- छोराको मानसिक सन्तुलन गुमेको हो कि ! सुनको काम गर्छ भन्ने सुइँको थिएन

विराटनगर : ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले मानसिक सन्तुलन गुमाएको आशङ्का उनका बाबुले गरेका छन्।

मोरङ जिल्ला अदालतको परिसरमा सञ्चारकर्मीसित गोरेका बाबु नेत्र उप्रेतीले आफ्ना छोराले मानसिक सन्तुलन गुमाएको हो कि भन्ने आशङ्का भएको बताए।

‘आफ्ना सन्तानको बानीब्यहोरा र बोलिचाली कसलाई थाहा हुँदैन र ?’ विक्षिप्त मुद्रामा भेटिएका नेत्रको प्रतिक्रिया थियो, ‘आज धेरै दिनपछि उसलाई देख्ता अनि उसको चालचलन र बानीब्यहोरा हेर्दा मानसिक समस्या सुरु भएको हो कि जस्तो लागेको छ।’

‘म पनि लामो समय प्रहरीमा जागिर खाएर रिटायर भएको हुँ’, उनले थपे, ‘हाउभाउ र बोलिचाली हेरेर कसैको पनि मानसिक अवस्था ठम्याउन सक्छु।’

छोराका लागि लुगाफाटो लिएर बाबु नेत्र बिहिबार दिउँसो १ बजे अदालत आइपुगेका थिए । उनले आफू काठमाडौंबाट आएको बताए ।

बाबुलाई देख्नेबित्तिकै गोरेले दण्डवत् प्रणाम गरे । 

बाबुले भइगो पर्दैन भनेर उठाउन खोजे ।

गोरेले म मेरो कर्तव्य पूरा नगरी कसरी रहनसक्छु भन्दै सम्मान जनाए।

बयानको ब्रेकमा पनि छोरासित सामान्य भलाकुसारी गर्न पाएको नेत्रले उल्लेख गरे। उनले आफ्नो छोराले अझै पनि ज्यानको खतराको अनुभव गरिरहेको बताए।

‘हामीले मानव अधिकारकर्मी, अदालत, पत्रकार सबै गुहारेका छौँ’, नेत्रको कथन थियो, ‘गोरे अझै डराएको छ । मार्ने हुन् कि भन्ने लागेको छ उसलाई ।’

आफूले गोरेलाई ढाडस दिएको र अदालतको शरणमा आइसकेको हुँदा अब उसको ज्यान जोखिममा छैन भनेर उसको मनोबल उच्च बनाउन मद्दत गरेको नेत्रले सुनाए ।

‘जेल त पर्ने नै भयो, ज्यान मार्ने हुन् कि भन्ने डर थियो अब त्यो चाहिँ भएन’, उनले भने, ‘कर्मको फल हो भोग्नै पर्दोरहेछ ।’

'हामीलाई थाहै थिएन'

गोरे सुनको धन्धामा रहेको घरमा बाबुआमालाई थाहा नभएको उनको दाबी थियो।

नेत्रले भने, ‘छोराछोरी यस्तो लाइनमा लागेका छन् भन्ने थाहा पाए भने कुन चाहिँ आमाबाबुले रोक्तैनन् होला ? हामीलाई सुइँकै भएन ।’

सकिएन बयान

मोरङ जिल्ला अदालतमा गोरेको बयान बिहिबार पनि सकिएन । उनलाई मङ्गलबार यहाँ ल्याइएको थियो । उनको बयान शुक्रबार पनि जारी रहने छ ।

सुन काण्डका २८ अभियुक्तलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएपछि गोरेलाई बुधबार रातिदेखि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । यसअघि २८ अभियुक्त र गोरे सँगै नपरून् भनेर गोरेलाई छुट्टै वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । गोरेलाई अदालतदेखि जिल्ला प्रहरीसम्म सबैतिर कडा सुरक्षा दिइएको छ ।
 
(*यसअघि असावधानीवश अर्कै फोटो परेकोले सच्चाइएको छ। सम्बन्धित व्यक्तिलाई पर्न गएको असुवधाप्रति क्षमाप्रार्थी छौँ: सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell