PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आफन्तै-आफन्त मिलेर डुबाए एपेक्स बैंकः यसरी भयो परिवारकै नेटवर्किङ, २१ समातिँदा १३७ अझै फरार



सविन ढकाल

आफन्तै-आफन्त मिलेर डुबाए एपेक्स बैंकः यसरी भयो परिवारकै नेटवर्किङ, २१ समातिँदा १३७ अझै फरार

काठमाडौँ: २०७२ मंसिर। एपेक्स डेभलोपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्जको प्रक्रियामा थिए। एकथरी बैंकका सञ्चालकहरु मर्ज प्रक्रियामा जुटिरहँदा एपेक्स बैंकका केही सञ्चालक र कर्मचारी भने षड्यन्त्रको जालो बुन्दै थिए।

एपेक्स बैंकको केन्द्रीय कार्यालय नै बैंक डुबाउने षड्यन्त्रको थलो बनेको थियो। तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल यसका प्रमुख डिजाइनर थिए।

एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले अध्यक्ष धिताल सहित २१ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ। यो प्रकरणको जालोमा परेका छन् १४८ भन्दा धेरै छन्। उच्च अदालत पाटनमा बैङ्किङ कसुरमा मुद्दा चलाइएको छ।

दुई महिनाको प्रहरी अनुसन्धानपछि बैंक घोटालाको ‘राज’ बाहिरिएको हो। व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्की ‘लामो अनुसन्धानपछि प्रहरी घटनाको निचोडमा पुगेको’ बताउँछन्।

 

घोटालामा आफन्तकै साथ

बैंक घोटालामा अध्यक्ष धितालले आफन्तै-आफन्तको गुट बनाएका थिए। उनका विश्वासपात्र थिए विकास श्रेष्ठ। श्रेष्ठ एपेक्स बैंक दरबारमार्गका इन्चार्ज। ऋणी खोज्नेदेखि फर्जी धितोसम्मको कागजात बनाउने जिम्मेवारी धितालले श्रेष्ठलाई सुम्पिएको प्रहरी अनुसन्धानमा खुलेको छ। धितालका भाइ सन्तोषले पनि यसमा साथ दिएको देखियो। सन्तोष तिनै हुन् जसलाई एनसीसी बैंकले कारबाही गरेर बर्खास्त गरेको थियो।

बैंक घोटालाका अर्का पात्र हुन् ऋषिराज भट्ट। भट्ट तत्कालीन एपेक्स बैका प्रमुख कार्यकारी अधिकृत थिए। भट्ट अध्यक्ष धितालका साढुभाइसमेत हुन्। धितालपछि बैंक घोटालामा उनको सबैभन्दा बढी सक्रियता रहेको प्रहरीको दाबी छ।

एपेक्स बैंकका सञ्चालक सुवर्ण राजभण्डारी पनि प्रहरीको अनुसन्धानमा देखिएका मुख्य अभियुक्त हुन्। उनले नक्कली ऋणी बनाउन र योजनालाई सहयोग गर्न आफ्नै साढुभाइ वसन्त मल्लको सहयोग लिएका थिए। मल्लको सहयोगमा नै राजभण्डारीले अदिती इन्टरप्राइजेज, आरोहण हाउजिङ, दीव्यदर्शन हाउजिङ, गुरु दक्षिणकाली हाउजिङको नाममा कमसल धितो राखी ऋण प्रवाह गराएका थिए।

सञ्चालक राजभण्डारीले सालीका छोरा त्रिचन्द्र श्रेष्ठलाई समेत साथमा लिएका थिए। श्रेष्ठ बैंकमा कर्जा शाखामा कार्यरत थिए। श्रेष्ठको सहयोगमा नै रातारात कर्जा प्रवाह हुने गरेको थियो।

षड्यन्त्रको यस्तो योजना बनाउँदा घटना बाहिर जानसक्ने भएकाले उनीहरूले आफन्तलाई नै सामेल गराएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको दाबी छ।


आफूसँगै अरूलाई डुबाए ठेकेदार भेटवालले

एपेक्स बैक घोटाला काण्डमा ‘क’ वर्गका निर्माण व्यवसायी मनोज भेटवालको पनि मुख्य भूमिका देखियो। भेटवालले बैंकका कर्मचारीसँगको मिलेमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिए। भेटवालले अरूकै नाममा ऋण लिने र रकम चलाउने गरेको अनुसन्धानमा खुलेको डिआइजी कार्कीले बताए।

कार्कीले भने, ‘मनोजले अरूलाई प्रयोग गरेको देखियो। ऋण अरूको नाममा निकालेर आफैं चलाउँथे।‘

भेट्वालका भाइ भैरवप्रसादको नाममा रहेको बिरुवा कन्सट्रक्सनबाट पनि ऋण निकालिएको पाइयो।

भेटवालले इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट पनि ऋण लिएको देखिएको छ। पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यू टावरका ठेकेदार पनि हुन् उनी। व्यवसायी भेट्वालले १५ जनाभन्दा बढी व्यक्ति र कम्पनीको नाममा कमसल जग्गा राखेर ऋण झिकेका थिए। भेटवालले अहिलेसम्म आफूले लिएको ऋणको साँवा तथा ब्याजसमेत तिरेका छैनन्।

 

मुद्दापछि भेटवालको ऋण अरूले नै तिरे

बैङ्किङ कसुरमा उच्च अदालत पाटनमा मुद्दा दर्ता भएपछि आफ्नो नाममा भेटवालले लिएको ऋण तिर्ने पुगेका छन्। केही दिन अघिमात्र तीन जनाले १ करोड २० लाख रुपैयाँ भन्दा बढी साँवा/ब्याजसहित बुझाएका हुन्।

२०७३ असार २७ गते कर्जा स्वीकृत भएको ४७ लाख रुपैयाँको ब्याजसहित ५० लाख रुपैयाँ एक जनाले केही दिनअघि मात्र बुझाएका हुन्। त्यस्तै, अन्य दुईवटा ऋण पनि साँवासहित बुझाइएको छ।

 

फरार अभियुक्त खोज्दै

प्रतिवादीमध्ये अझै १३७ जना फरार छन्। बैंक डुबाउने खेलको यो जालोमा सक्रियमध्ये २१ जनामात्र प्रहरीको नियन्त्रणमा छन्। बाँकीलाई प्रहरीले खोजिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell