PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश ७ मा सुरु भयो ‘हेलो सिएम', पहिलो गुनासो : 'धनगढीमा ट्राफिक जाम बढ्यो'



पासाङ ठकुल्ला

प्रदेश ७ मा सुरु भयो ‘हेलो सिएम', पहिलो गुनासो : 'धनगढीमा ट्राफिक जाम बढ्यो'

धनगढीः प्रदेशका जनतासँग प्रदेश सरकार जोड्ने उद्देश्यले प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। 

मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘हेलो सिएम’कार्यक्रमको सुरु गरेका हुन। 
प्रदेशबासीका गुनासा र समस्याहरूलाई सम्बोधन गर्न टोल फ्री नम्बर १६६०–९१५२२३ सञ्चालनमा ल्याइएको छ। यो टोल फ्री नम्बर प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन रहने छ।  

उक्त नम्बरको ‘हेलो सिएम’कार्यक्रम सञ्चालनमा ल्याइएपछि प्रदेश ७ का जनताहरूले आफ्ना गुनासा र समस्यहरु सिधै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा टिपाउन सक्ने छन्। 

कार्यक्रम सञ्चालनमा आएसँगै यहाँका प्रदेशबासीलाई प्रदेश सरकारसँग जोड्ने विश्वास मुख्यमन्त्री भट्टले गरे। 

प्रदेशका दूर दराजका जनताले सरकारी निकायबाट छिटो, छरितो र सहजरुपमा सेवा सुविधा प्राप्त गर्न सकुन भन्ने उदेशयले ‘हेलो सिएम’कार्यक्रम सुरु गरेको मुख्यमन्त्री भट्टले बताए। 

‘हेलो सिएम’ मा जनताले टिपाएका गुनासाहरूको प्रकृतिलाई हेरेर तत्काल समाधानको प्रयास खोज्ने छौ,’ उनले भने, ‘गम्भीर खालको विषयमा ४ घण्टाभित्र समाधान हुगे गरी पहल कदमी उठाउने छौँ।’ 

‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरेलगत्तै धनगढीबाट करणजग शाहीले धनगढीमा ट्राफिक जाम बढेको गुनासो टिपाए। 

उनको फोन मुख्यमन्त्री भट्टले स्वयमले उठाएका थिए। करणजंग शाहीको गुनासो सुने लगतै मुख्यमन्त्री भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दीपक पातलीलाई फोन गरे। 

धनगढीमा ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक पातलीलाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell