PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश ७ को प्रदेशसभामा चर्को गर्मी : सत्ता पक्षको बेन्चतिर मात्र पङ्खा चल्दा प्रतिपक्षीको विरोध



प्रदेश ७ को प्रदेशसभामा चर्को गर्मी : सत्ता पक्षको बेन्चतिर मात्र पङ्खा चल्दा प्रतिपक्षीको विरोध

धनगढी : प्रदेश ७ मा आइतवार बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले आफ्नो घरमा आठ दिनदेखि बन्द भएको बिजुली सञ्चालन हुन नसकेको भन्दै गर्मीकै अर्को घरमा डेरा सर्नु परेको बाध्यता सुनाइन्। 

विद्युत् प्राधिकरणका प्रमुखलाई आठ दिनदेखि अवरुद्ध बिजुली सञ्चालन गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शाहले बैठकमा, “प्रदेशका माननीयहरुको सुनुवाइ त हुँदैन, सर्वसाधारणले व्यहोरिरहेको समस्याको सुनुवाइ कसरी हुन्छ ?” भनी प्रश्न गरिन्। 

यस्तै, सत्ता पक्षका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले भने “बैठक चलिरहँदा गर्मीले खलखली पसिना आउँछ, कतिखेर सदन सकिएला र बाहिर निस्कौँला भन्ने लाग्छ।”

केही दिनयतादेखि बढेको चर्को गर्मीकाबीच आइतवारको प्रदेशसभा बैठक कक्षमा रहेका अधिकांश पङ्खा बन्द हुँदा असिन पसिन हुँदै सहभागीहरु सास्ती व्यहोरिरहेका देखिन्थे। 

प्रतिपक्षी बेन्च र पत्रकार बस्न बनाइएको दीर्घाका पङ्खा नचलेको देखेपछि एक मर्यादापालकले ‘पावर’ नभएको जवाफ थिए। तर सत्ता पक्षीय बेन्चतर्फको पङ्खा भने चलिरहेको थियो। 

उता प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि पोखे। 

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिनपसिन हुँदै डा रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँदाहुँदै पनि बैठकमा पङ्खा चल्ने व्यवस्थापन गर्न नसक्नु कमजोरी भएको आरोप लगाए। 

गर्मीका कारण प्रदेशसभा भवनको दर्शक र पत्रकार बस्ने स्थानमा उपस्थिति घट्दै गएको छ। 

प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बजेट निकासा गर्न ढिलाइ भएकाले प्रदेशसभा बैठकमा ‘एसी’ जडानको व्यवस्थापन गर्नमा ढिलाइ भएको बताए। 

“गर्मी बढेको छ, बत्तीको पावर नै छैन,” सचिव शर्माले भने, १५ दिने सूचना निकालेर बैठक कक्षमा एसी जडानको व्यवस्थापन गर्न लागेका छौँ।” 

केही दिनदेखि बढेको गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। गर्मीका कारण खास गरी वृद्धवृद्धा, विद्यालयका बालबालिका र दैनिक मजदूरी गरेर खाने मजदूर वर्ग बढी प्रभावित भएका छन्। नेपालगञ्ज, सिमरा र धनगढी बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell