PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेसी ठग समातिँदा, एमाले समर्थक भने भाग्न ‘सफल’, नपक्रन नेताकै फोन



सविन ढकाल

कांग्रेसी ठग समातिँदा, एमाले समर्थक भने भाग्न ‘सफल’, नपक्रन नेताकै फोन

काठमाडौं : चार वर्षदेखि मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम असुल्दै आएका विभिन्न कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा चर्चित व्यवसायी रामकुमार श्रेष्ठ थिए, जसको नेपाली कांग्रेससँग गहिरो नाता थियो। तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका समर्थक (तत्कालीन एमाले) व्यवसायी भने 'फरार' हुन सफल रहे।

भिएलएन र वान स्टप सर्भिसका नाममा वैदेशिक रोजगारमा कार्टेलिङ गर्ने ३९ कम्पनीका संचालकसहित काठमाडौंबाट ४० जनालाई प्रहरीले पक्राउ गरेको हो।
 
प्रहरीले आइतवार ती कम्पनीमा छापा मारेको थियो। पक्राउको सूचीमा हार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष रामकुमार श्रेष्ठ देखि जीएसजीका संचालक गोविन्द थपलियासमेत थिए। अध्यक्ष श्रेष्ठ पक्राउ परे तर जिएसजीका संचालक गोविन्द थपलिया भने उम्किन ‘सफल’ भए। 

थपलिया प्रहरीको हात नलाग्दै फुत्किन सफल भए। प्रहरीले पक्राउ गर्नुपर्ने लिस्टमा थपलियाको नाम थियो। एक प्रहरी अधिकृतले पहिलोपोस्टसँगको कुराकानीमा भने, ’उनको नाम पक्राउ गर्नुपर्ने सूचीमा त थियो। तर, समातिएको लिस्टमा भने छैन।’

थपलियाले जिएसजी कम्पनीको नाममा वैदेशिक रोजगारीमा जानेकहरुलाई चार वर्षदेखि ठगी गर्दै आएको प्रहरीको दावी छ। उनी पेशाले म्यानपावर व्यवसयी पनि हुन्। काभ्रे स्थायी घर भएका थपलियाको विशालनगरमा कोशी म्यानपावर समेत छ।


कांग्रेस समर्थित समातिँदा एमालेका फरार हुन सफल

पूर्व प्रहरी समेत रहेका थपलिया नेकपा एमाले निकट हुन्। गएको प्रतिनिधिसभा निर्वाचनमा थपलियाले एमालेका उम्मेद्वार तथा अहिलेका संचारमन्त्री गोकुल बास्कोटालाई प्रत्यक्ष सहयोग गरेका थिए।

थपलियालाई नसमात्न आइतवार दिउँसोदेखि नै दवाबपूर्ण फोन प्रहरीले सामना गरेका थिए। एक प्रहरी अधिकृतले भने, ’खै उहाँको कस्तो पावर रहेछ कुन्नी पक्राउ गर्ने लिस्टमा नाम पर्नासाथ मन्त्रालयबाटै नेताहरुको फोन आइरहेको थियो।‘

थपलिया अवकाशप्राप्त डिएसपी हुन्। अहिले पनि उनले सरकारी सेवा भत्ता खाइ नै रहेका छन्। स्रोतले दिएको जानकारी अनुसार मन्त्रालयबाट नै नेताले फोन गरेर ‘उहाँलाई अहिले पक्राउ नगर्नु होला। आवश्यक प्रमाण र कागजपत्र मिलाएर मात्र समात्नु होला’ भने पछि प्रहरी सचेत बन्यो। र, उनी फरार हुन ‘सफल’ भए।

अध्यक्ष श्रेष्ठ लगायत ४० जनाविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गर्ने तयारी गर्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell