PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले र माओवादीको सम्बन्धमा उतारचढाव : २९५ एमाले कार्यकर्ता जसले 'जनयुद्ध'मा माओवादीका कारण ज्यान गुमाए



एमाले र माओवादीको सम्बन्धमा उतारचढाव : २९५ एमाले कार्यकर्ता जसले 'जनयुद्ध'मा माओवादीका कारण ज्यान गुमाए

एमाले र माओवादी केन्द्र एक भई नेपाल कम्युनिस्ट पार्टी बनिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरण घोषणामा भने, ‘अब हामी अन्तरघुलन भइसक्यौँ। हिन्द महासागरमा कोशीको पानी वा सेतीको पानी खोजेर हुन्न।‘  पछिल्लो चुनावमा पहिलो र तेस्रो बनेको दल मिलेपछि इतिहासकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ। यी दुई पार्टीको सम्बन्धमा भने निकै उतारचढाव आए। पछिल्लो पटक ओली सरकारलाई अविश्वास प्रस्ताव ल्याएर कांग्रेसको सहयोगमा सरकार बनाएपछि दुई पार्टीबीच तिक्तता चरम बिन्दूमा पुगेको थियो। लगत्तै प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव अगाडि दुई पार्टीबीच गठबन्धन बन्यो र पार्टी एकताको बीऊ रोपियो।

माओवादीले सुरु गरेको ‘जनयुद्ध’ लाई एमालेले ‘सशस्त्र द्वन्द्व’मात्रै भन्दै आएको छ। यो शब्दलाई लिएर नै एकतामा व्यवधान आउने संकेतसमेत देखियो। अन्ततः ‘जनयुद्ध’लाई पार्टीको दस्तावेजमा लिपिवद्ध गर्न एमाले सहमत भयो।

एमालेले यसलाई सुरुमा आनाकानी गर्नुको कारण थियो- सशस्त्र द्वन्द्वकालमा आफ्ना थुप्रै कार्यकर्ताको ज्यान माओवादीकै कारण गुम्नु। १० वर्षीय द्वन्द्वमा कूल ४९० एमालेका कार्यकर्ताको ज्यान गएको पार्टीकै तथ्याङ्क छ। यसबारे अभिलेख तयार पार्न एमालेले देवशंकर पौडेललाई जिम्मा दिएको थियो। पौडेलले पार्टीमा बुझाएको अध्ययन प्रतिवेदन अनुसार माओवादीका कारण २९५ जना एमाले कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो। 

त्यसैगरी पार्टीले झलनाथ खनालको संयोजकत्वमा ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ २०५६ सालमा बनाएको थियो। कार्यदलको प्रतिवेदनमा मारिएका ३० जनाको विवरण यसरी उल्लेख गरिएको छ।



पढ्नुस् प्रतिवेदनको अंश जस्ताको तस्तै-

माओवादी जनयुद्ध शुरु भए यता माओवादीको प्रहार नेकपा (एमाले) माथि पनि हुँदै आएको छ । माओवादीले नेकपा (एमाले) को संगठन कमजोर वनाउने अनेकौं हरकतहरु गरेका छन् । नेकपा (एमाले) लाई ठूलो अवरोध ठान्ने माओवादीले एमाले माथि अनेकौं किसिमिले आक्रमण गर्ने काम गरिरहेका छन् । एमालेका कतिपय नेता, कार्यकर्ता, सदस्य र समर्थकको हत्या गरी आफ्नो खुनी अनुहार प्रदर्शन गर्दै आएका छन् । आफूलाई कम्युनिष्ट पार्टी भन्ने समूहले देश, जनता र क्रान्तिको लागि संघर्षरत कम्युनिष्ट कार्यकर्ताहरुको हत्या गर्नु कति सुहाउने कुरा हो । माओवादीले एमालेका कार्यकर्तालाई सुराकी गरेको, जनयुद्धको प्रतिकार समिति वनाएको लगायतका झुठ्ठा आरोपहरु लगाएर हत्या गर्ने, अपहरण गर्ने, कुटपिट र दण्डित गर्ने जस्ता अमानवीय कामहरु गर्दै आएको छ ।

 ०५२ साल फागुन यता माओवादीको गोली र खुकुरीको शिकार भएर मृत्युवरण गर्ने एमाले कार्यकर्ता र सदस्यहरुको संख्या अहिले ३१ पुगेको छ । राप्तीमा मात्र माओवादीद्वारा एमालेका १९ जना कार्यकर्ताहरु मारिएका छन् । यसरी मारिनेमा एमालोका नेता, कार्यकर्ता, जनप्रतिनिधि, सदस्य र समर्थकहरु रहेका छन् । रातो झण्डा वोकेर कम्युनिष्ट कार्यकर्ताकै हत्या गर्ने कार्यमा निर्लज्जतापूर्वक उत्रिएको माओवादी डफाले सैद्धान्तिक, राजनीतिक विश्लेषण विना विवेक गुमाएर देश र जनताको मुक्तिको लागि समर्पित कैयौं क्रान्तिकारी योद्धाहरुको ज्यान लिने काम गरेको छ । यसरी हत्या गरिएका एमालेका शहीदहरुको सम्वन्धमा छोटकरीमा यहाँ चर्चा गरिएको छ ।

यदुकुमार गौतम, रुकुम

नेकपा (एमाले) रुकुम जिल्ला कमिटीमा तत्कालिन सचिव कमरेड यदु कुमार गौतमलाई माओवादीहरुले ०५५ फागुन २१ गते शहीद दिवस’ को दिन वर्वरतापूर्वक हत्या गरेका थिए । नेकपा (एमाले) राप्ती अंचल समन्वय कमिटी सदस्य र राष्ट्रिय पार्षद समेत रहेर सक्रियता पूर्वक काम गरिर हनु भएका क. यदु ०५६ सालको आम निर्वाचनमा रुकुम क्षेत्र नं २ बाट पार्टीको उम्मेदवार समेत घोषित हुनु भएको थियो । निर्वाचनमा विजयी हुने निश्चित अवस्था रहेको उक्त क्षेत्रमा क. यदु गौतम चुनाव प्रचार र संगठन निर्माणको सिलसिलामा ०५५ साल फागुन २१ गते गरायला गाविस वार्ड नं. ७ को मेघा भन्ने ठाउँमा पुग्नु भएको थियो । सोही ठाउँमा उहाँ माथि षडयन्त्रमूलक तरिकाले कायरतापूर्वक खुकुरी प्रहार गरेर क्रुर र पाशविक हत्या गरियो । यसबाट माओवादीहरुको कथित क्रान्तिकारीता नराम्रो सित उदांगिएको छ । क. यदु गौतम नेपाली जनताको मुक्ति आन्दोलनमा क्रियाशील हुने क्रममै शहीद हुनु भएको छ । उहाँले देश, जनता र पार्टीको लागि हाँसी हाँसी मृत्युवरण गरेर आफ्नो मृत्युलाई पहाड भन्दा उचो aनाउनु भएको छ।

        ०१८ साल वैशाख १६ गते रुकुम विजेश्वरी गाविस वार्ड नं ५ रुकुमे गाउँ चौरजहारीमा क. यद्धुको जन्म भएको थियो । पिता उमाकान्त गौतम र माता जानकी गौतमका जेष्ठ सुपुत्र यदु वाँचुञ्जेल नेपाली जनताको मुक्ति आन्दोलनमा इमान्दारिता पूर्वक सक्रिय रहनु भयो । ०३५ साल देखि पंचायत विरोधी संघर्षमा संलग्न क. यदु   अनेरास्ववियू छैठौंको वाँके जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य, कोषाध्यक्ष र महासचिव भएर काम गर्नु भएको थियो । उहाँ नेकपा (चौम) को काठमाण्डौ जि.क. सदस्य, नेकपा (मशाल) को उपत्यका कमिटी सदस्य र केन्द्रीय प्रचार विभागको सदस्य भएर समेत काम गर्नु भएको थियो । कानूनमा स्नातक सम्म अध्ययन गर्नु भएका क. यदुले केही समय पत्रकारिता र वकालत पनि गर्नु भएको थियो ।

        ०४७ मा आफ्नै गृह जिल्ला रुकुम गएर ०४८ को चुनावमा संजमोको प्रचार कमिटी संयोजक भई काम गरेका क. यदुको अन्तरविरोध मशालसँग बढ्दै गयो र उहाँ केही समय निस्क्रिय हुनु भयो । यसै सिलसिलामा ०५२ मंंसीर १ गते उहाँ नेकपा (एमाले) मा प्रवेश गर्नु भयो । उहाँले नेकपा (एमाले) रुकुम जि.क. सदस्य र उपसचिव भई काम गर्नु भयो । ०५४ सालमा भएको छैठौं महाधिवेशनमा प्रतिनिधि वन्नु भएका क. यदु पार्टी विभाजन पछि जि.क. सचिव भएर रुकुमको नेतृत्व संम्हाल्नु भयो । क. यदुले विभिन्न समयमा जेल जीवन पनि विताउनु भएको थियो ।

        ०३९ सालमा अखिल कार्यकर्ता तिर्था निरौलासँग उहाँको पार्टीगत विवाह भएको थियो । तिर्था अहिले प्रतिनिधिसभा सदस्य भएर राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँका ७४ वर्षीय वुवा, ७२ वर्षीय आमा, श्रीमति तिर्था गौतम, चार छोरीहरु सुवानी, सुदिना, सुदृष्टि, सुजाता र एक छोरा सुरजका साथै एक दिदी, एक वहिनी, एक भाई, एक वुहारी र दुई जना भतिजीहरु हुुनुहुन्छ ।  

हरिसिंह नेपाली, सल्यान

     नेकपा (एमाले) सल्यान जिल्ला परिषद्का सदस्य एवं वडागाउँ गाविसका उपाध्यक्ष रहनु भएका हरिसिंह नेपाली एकजना इमान्दार, सक्रिय, निडर र दलित समुदायबाट सामाजिक मुक्ति आन्दोलनमा निरन्तर लागि परेको योद्धा हुनुहुन्थ्यो । उहाँ उत्पीडित जातीय मुक्ति समाजमा पनि क्रियाशील हुनुहुन्थ्यो । माओवादी जत्थाले उहाँलाई गाउँमा प्रहरी चौकी राख्न लगायो र माओवादीको सुराकी गर्‍यो’ भन्ने कपोलकल्पित आरोप लगाई बर्बर यातना दिएर २०५५ फागुन ११ गते हत्या गरेको थियो । हरिसिंह नेपाली अत्यन्त गरीब परिवारको दलित कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ जीविका चलाउन फलामका भाँडा वनाउने र परिवार पाल्ने काम गर्दै राजनीतिमा सक्रिय हुनुुहुन्थ्यो । उहाँका  श्रीमति, २ छोरा, २ छोरी हुनुहुन्छ । गरीवीका कारण घर चलाउन ल्याएको ऋण तिर्न नसकेका दलित राजनीतिक कार्यकर्ताको हत्या गरेर माओवादीहरुले कसको निम्ति क्रान्तिको गरी रहेका छन् ? प्रश्न खडा भएको छ । यस घटनाबाट माओवादी जत्था नराम्रोसँग नांगिन पुगेको  छ ।   

दलराम खड्का, रुकुम

०२८ सालमा रुकुमको प्वाङ गाविस४, किंदामा गंवरसिंह खड्का र मदी खड्काको कोखबाट जन्मनु भएका क. दलरामको ०५५ साल मंसीर २ गते रुकुमको राङ्सी गाविसमा माओवादीहरुले निमर्मतापूर्वक ज्यान लिएका थिए । ०४९ सालमा नेकपा (एमाले) को संगठित सदस्य रहनुृ भएका खड्का ०४७ सालदेखि नै पार्टी कार्यकर्ताको हैसियतमा सक्रिय हुनुहुन्थ्यो । उहाँ नेकपा (एमाले) तीन नम्वर इलाका कमिटीको सदस्य हुनुहुन्थ्यो । राङ्सी गाविसको सचिव पदमा अस्थायी सेवामा कार्यरत दलरामका पत्नी जमृुना खड्का र ३ वर्षको छोरा विजय खड्का हुनुहुन्छ । उहाँलाई माओवादी गुटले वर्वरतापूर्वक कुटपिट गरी हत्या गरेको थियो ।

शेरबहादुर खड्का, रुकुम

        नेकपा (एमाले) को सदस्यका हैसियतले ०४९ सालदेखि राजनीतिमा सक्रिय शेरबहादुर खड्काको ०५५ साल मंसीर २८ गते माओवादी जत्थाले घरमै बसिरहेको वखत हत्या गरेको थियो । पद्मसिंह खड्का र बेलमति खड्काको कोखबाट प्वाङ गाविस रुकुममा जन्मनु भएका क. शेरबहादुर ०५० सालमा इलाका पार्टी सक्रिय दलमा संगठित भई सात नम्वर इलाकाको जिम्मेवारी निर्वाह गरी रहनु  भएको थियो । उहाँकी पत्नी सेती खड्का, छोरा देवीलाल खड्का र छोरी निशा खड्का रहनु भएको छ ।

 चीनबहादुर रोका, रुकुम

        २००५ सालमा रुकुमको खोलागाउँ गाविस वडा नं २ मा जन्मिनु भएका चीनबहादुर रोका सिकर्मीको काम गरेर जीवन गुजारा गर्दै आउनु भएको थियो । एक जना इमान्दार किसान कार्यकर्ता चीनवहादुर रोकालाई ०५६ सालको माघे संक्रान्तिको राति १२ बजे घरबाट लगी गाउँको वीचमा माओवादी जत्थाद्वारा हत्या गरिएको थियो । ०४७ सालमा पार्टीको साधारण सदस्य हुनु भएका रोकाले ०५२ सालमा संगठित सदस्यता प्राप्त गर्नु भएको थियो । उहाँले पार्टीमा खोलागाउँ गाउँ कमिटीको सदस्यका हैसियतले इमान्दारीपूर्वक काम गरिरहनु भएको थियो । रुद्र वहादुर रोका र मागी रोकाका छोरा गरीब किसान चीनबहादुरकी पत्नी गंगाकुमारी रोका, दुई छोरा, तीन छोरी हुनुुहुन्छ । उहाँको हत्या गरेर माओवादी जत्था जनतामा अझ नराम्ररी नांगेझार बन्न पुगेको छ ।

विष्णुप्रसाद गिरी, सल्यान

        २०३० साल माघ २५ गते सल्यान जिल्लाको कालागाउँ गाविस वार्ड नं १ मा पिता चित्रवहादुर गिरी र माता गोविन्दा गिरीको एक मात्र छोराको रुपमा जन्मिएका विष्णुप्रकाश गिरी नेकपा (एमाले) का सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । एमालेमा सक्रिय भएको कारण सुराकीको आरोप लगाएर माओवादीहरुले उहाँलाई ०५६ असार ५ गते आफ्नै घरबाट अपहरण गरेका थिए । उहाँलाई हत्या गरेको वारे माओवादीले अहिले सम्म आधिकारी रुपमा नवोले पनि उहाँ जीवित हुनुहुन्न भन्ने कुरा प्रष्ट भएको छ । उहाँका आमा वावु अहिले आफ्नो जन्मथलोबाट विस्थापित हुन वाद्य हुनु भएको छ । क. विष्णु की २८ वर्षीय श्रीमति दिपा, दुई छोरी ८ वर्षीय रञ्जना र ३ वर्षीय हिमा र एक छोरा ६ वर्षीय घनश्याम हुनुहुन्छ ।

शोभाराम बस्नेत, सल्यान

        सल्यान जिल्ला सिद्धेश्वरी गाविस २ निवासी अनेरास्ववियू जिल्ला कमिटी उपाध्यक्ष मनवीर वस्नेतका वुवा तथा नेकपा (एमाले)का समर्थक   सर्वसाधारण किसान शोभाराम वस्नेतलाई माओवादीहरुद्वारा एमालेको समर्थन गरेको, माओवादीका गलत क्रियाकलापको विरोध गरेको, माओवादीलाई चन्दा नदिएको कारण विभिन्न झूठा आरोप लगाएर यही ०५८ साउन ६ गते राति निमर्मतापूर्वक कुटपिट गरी हत्या गरिएको छ ।

हारजंग हत्याकाण्ड रोल्पा

        ०५५ साल माघ २७ गते विहान ५ बजे अत्यन्त ठूलो सशस्त्र तयारीका साथ माओवादी छापामार’ हरु हारजंग गाउँमा प्रवेश गरे । रातभरी गाउँको गस्ती गरेर थाकेका गाउँ सुरक्षा समितिका सदस्यहरु कमारा भन्ने बलवहादुर रोकाको घरमा सुतिरहेका थिए । माओवादी जत्थाले त्यही बेला अचानक घेरा हाले । अनि ढोकामा बाहिरबाट चुकुल लगाएर घरमा आगो लगाइदिए । आगो लागेको थाहा पाएपछि भित्र सुतेकाहरु उठेर बाहिर निस्कने प्रयास गरे । तर आगोबाट वच्न वाहिर निस्कनेहरु पालैपालो माओवादीको गोलीको शिकार बन्न पुगे । आगो निभाउन आउने गाउँलेहरु पनि हत्यारो जत्थाको कुटपिट र आक्रमणमा परे । यसरी एउटै थलोमा डढेर तथा गोली लागेर आठ जना एमाले कार्यकर्ताहरुले आफ्नो अमूल्य जिन्दगी गुमाउनु भयो । उक्त घटनामा तीनजना गंभीर रुपमा घाइते बन्नु भयो भने अन्य सात जना आक्रमण  र आगलागीमा परी सामान्य घाइते बन्नु भयो ।

त्यसपछि माओवादी जत्थाले गाउँमा अराजकता र लुटपाट मच्चाउने जस्ता काम पनि ग¥यो । यसरी माओवादीका नाममा हारजंग घटना आधुनिक मानव सभ्यताको कलंकका रुपमा अंकित बन्न पुग्यो । आगलागिबाट घर र घरभित्र रहेको सम्पूर्ण सम्पत्ति नष्ट भयो । उक्त घटनाको सर्बत्र निन्दा भएपछि माओवादी जत्थाले कथित छानविन गर्ने भनेर जनआक्रोशबाट वच्ने प्रयत्न गरेको थियो । तर त्यो कथित छानविनको रिपोर्ट सार्वजनिक नगरी हारजंग घटना गलत भएको र संलग्न छापामारहरु माथि कारवाही गरिएको विवरण सार्वजनिक गरेर माओवादीले आफ्नो अपराध स्वीकार गर्न पुगेको छ । तर घटनामा संलग्न युद्ध अपराधी’हरुलाई गरेको कारवाहीको विवरण जनताले थाहा पाउन सकेका छैनन् ।

हारजंगमा बलवहादुर रोकाको घरलाई “ग्यास च्याम्वर” बनाएर हिटलरी शैलीमा आठआठ जना नेपाली समूहहरुलाई जिउँदै डढाएर मार्दा गुञ्जिएको चित्कारले माओवादीहरुलाई बाँचुन्जेल निरन्तर लखेटिरहने छ । उक्त घटनामा ८ जनाको हत्या भयो, १०जना घाइते भए र ३ जनालाई अपहरण गरिएको थियो । ती मध्ये एक जना अपहरणबाटै भाग्न सफल हुनु भयो भने दुई  जनालाई चरम यतना दिएर छाडिएको थियो। घाइते भएका मध्ये  हस्ते रोकाको केही समय पछि उपचार गर्दा  गर्दै मृत्य भएको थियो । यसका साथै माओवादीहरुको यतानाको कारणले केही महिना पछि श्रीमति खिरु पुनको समेत मृत्यु हुन पुगेको थियो । यसरी एकै घरमा आतंकारी जत्थाको शिकार हुनु भएका बहादुर सपूतहरु निम्न अनुसार हुनुहुन्छ :
१. पुष्टवहादुर (पुष्टे) गिरी, उमेर ६५ वर्ष 
२. अमृतबहादुर गिरी, उमेर ५५ वर्ष
३. ढाँटे पुन, उमेर ६० वर्ष
४. मनबहादुर गिरी, उमेर ४२ वर्ष
५. एैभान पुन, उमेर ५० वर्ष
६. चैते पुन, नाबालक उमेर १४ वर्ष
७. बेगमबहादुर पुन, उमेर ३३ वर्ष
८. तिर्खु गिरी, उमेर ३५ वर्ष
९. हस्ते रोका, उमेर ४९ वर्ष
१०. श्रीमति खिरु पुन
       
यस घटनामा परी घाइते हुनेहरुमा शोभाराम गिरी, माने बूढा, दिलु गिरी, विर्मा गिरी र हाँसे बूढा रहनुभएको थियो भने अपहरण हुनेहरुमा डम्बर पुन, जंगवहादुर पुन र किशोर पुन रहेको बताइन्छ । यो घटनाले माओवादी जनयुद्धको पतनको संकेत मात्रै गरेन, उनीहरुको जनतामारा, नीच र पासविक चरित्रको भण्डाफोर समेत गरेको छ ।

हार्जङ घटनाको सम्बन्धमा माओवादी पक्षले विभिन्न भ्रामक कुराहरु गरीरहेको सन्दर्भमा नेकपा (एमाले) द्वारा हार्जङ घटना सम्बन्धी सत्य तथ्य पत्ता लगाई छानविन गर्न एउटा कार्यदल गठन गरेको थियो र सो कार्यदलले आफ्नो प्रतिवेदन पार्टीलाई वुझाई सकेको छ ।

मिझिङ एम्बुस काण्ड, रोल्पा

 माओवादी समूहले ०५६ माघ १० गतेको पश्चिमाञ्चल वन्दको पूर्वसन्ध्यामा रोल्पाको मिझिङमा एम्बुस थापेका  थिए ।   सोही दिन रोल्पा जिल्ला खानेपानी कार्यालयमा कार्यरत कर्मचारीहरु एकजना ठेकेदारको गाडीमा चढी घर फर्कदै गरेको अवस्थामा उक्त गाडी माओवादीको एम्बुसमा प¥यो र दुईजना कर्मचारीको घटनास्थलमै निधन  भयो । नेपाल निजामति कर्मचारी संगठनमा संगठित उहाँहरु नेकपा (एमाले) का समर्थक हुनुहुन्थ्यो । माओवादी डफाले उक्त एम्बुस काण्ड’ मा परेर दिवंगत हुने कर्मचारीद्वयप्रति गल्ती महसूस गरेको छ । तर सर्वसाधारण जनतालाई धराप थापेर हत्या गर्ने उसको गैर जिम्मेवार कदमको सर्वत्र निन्दा गरिएको थियो । मिझिङ एम्बुस काण्डमा परी ज्यान गुमाउनु हुने दुई जना दाङ निवासी कर्मचारीहरु निम्न अनुसार हुनुहुन्छ
१. वामदेव रिजाल
२. सुश्री विश्वमाया सुवेदी ।

सूर्यबहादुर खत्री, रोल्पा

रोल्पा जिल्लाको पाखापानी गाविसमा एमालेको तर्फबाट निर्वाचित वार्ड सदस्य तथा एमाले सदस्य सूर्य वहादुर खत्रीलाई ०५७ वैशाख २५ गते केही अज्ञात व्यक्तिहरुले वर्वरतापूर्वक हत्या गरे । उनलाई प्रहरी सँग सुराकी गर्छ भनेर माओवादीले पहिले देखि नै झूठ्ठा आरोप लगाउँदै आएको सन्दर्भमा उनको हत्या हुनुले उनको पारिवारीक सुत्रका अनुसार यस हत्यामा माओवादीको हात रहेको आशंका गरिएको छ ।

पर्वलाल शाही, कालिकोट

अन्य जिल्लाहरु जस्तै कालिकोटमा पनि माओवादीहरुले एमालेका कार्यकर्ताहरुको हत्या गर्ने काम गरेका छन् । कालिकोट जिल्लाको छाप्रे गाविस अध्यक्ष क. पर्वलाल शाही नेकपा (एमाले) का सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । उहाँलााई माओवादीले झुठ्ठा आरोप लगाएर ०५६ फागुन २९ गते हत्या गरेका थिए ।

खड्क वोगटी र रोम वोगटी,  कालिकोट

 कालिकोट फूकोट गाविसका एमालेका साधारण सदस्यहरु खड्ग वोगटी र रोम वोगटीलाई माओवादीहरुले ०५६ भाद्र २६ गतेका दिन निर्मम ढंगले हत्या गरेका थिए ।
 

विष्णुप्रकाश बराल, कालिकोट  

नेकपा (एमाले) का अर्का साधारण सदस्य क. विष्णुप्रसाद वराललाई माओवादीहरुले ०५६ चैत्रमा हत्या गरेका थिए ।

विजुलीप्रसाद रेग्मी, जाजरकोट

        जाजरकोटमा पनि माओवादीले एमालेका कार्यकर्ताको हत्या गरेका छन् । जाजरकोट थाला रैकरका एमाले गाउँ कमिटीका सचिव तथा इ.नं ९ का सदस्य विजुलीप्रसाद रेग्मीलाई ०५५ कार्तिक १२ गते माओवादीद्वारा हत्या गरिएको छ । उहाँलाई माओवादीले घरबाट जवर्जस्ती वाहिर ल्याएर हत्या गरेका थिए ।

गंगाबहादुर सुवेदी, सिन्धुपाल्चोक

        सिन्धुपाल्चोक राम्चे गाविसका एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष तथा पार्टी सदस्य गंगाबहादुर सुवेदीलाई पनि माओवादीले क्रुरतापूर्वक हत्या गरेका छन् । आफ्ने अडानमा दृढ क. सुृवेदी जस्ता जनप्रतिनिधिलाई माओवादीले गलत आरोप लगाएर ०५६ जेष्ठ १४ गते हतया गरेका छन् । उहाँ पार्टीको इमान्दार कार्यकर्ता हुनुहुन्थ्यो ।

बलराम सापकोटा, काभ्रे

        काभ्रे जिल्ला पाँचखाल गाविस ९ का एमालेबाट निर्वाचित उपाध्यक्ष तथा इलाका कमिटी सदस्य ३० वर्षीय वलराम सापकोटा पनि माओवादीको शिकार हुनु भएको छ । पार्टीको सक्रिय र इमान्दार कार्यकर्ता क. सापकोटालाई माओवादीले सुराकी गरेको झूठो आरोप लगाएर ०५६ मंसीर १० गते घरबाट अपरहण गरेका थिए । अपहरण पछि उहाँको वारेमा अहिलेसम्म पनि माओवादीहरुले आधिकारीक रुमपा वोलेका छ्रैनन् । यसको अर्थ उहाँको हत्या भैसकेको हुन सक्ने अनुमान गरिएको छ । उहाँको हत्याको औचित्यता पुष्टि गर्न नसक्ने वाध्यताको कारण माओवादीहरु चुप लागेको हुनु पर्छ ।

श्री बहादुर कुँवर, काभ्रे

        काभ्रे जिल्लाका एमाले कार्यकर्ता श्री बहादुर कुँवरलाई माओवादीहरुले ०५५ श्रावण २४ गतेका दिन हत्या गरेका   थिए । चौवासा९ निवासी कुँबर एक जना इमान्दार व्यक्ति हुनुहुन्थ्यो ।

मित्रमान तामाङ, दोलखा

        दोलखा जिल्लामा पनि माओवादीले एमालेका एक जना कार्यकर्ताको हत्या गरेको छ । त्यसरी मारिनेमा भिमेश्वर नगरपालिका ४ निवासी एमालेका संगठित सदस्य तथा नगर परिषद सदस्य मित्रमान तामाङ हुनुहुन्छ । उहाँलाई कुनै आधार विना नै ०५६ भाद्र २६ गते हत्या गरिएको थियो । उहाँकाश्रीमति, २ छोरा र १ छोरी छन् ।

मानसिंह थापा, बाजुरा

  नेकपा (एमाले) का साधारण सदस्य मानसिंह थापालाई बाजुरामा माओवादीहरुद्वारा हत्या गरिएको छ ।

     

'वार्ता नै समाधान'

उक्त प्रतिवेदनले माओवादी समस्या मूलतः राजनीतिक समस्या हो भन्दै  यस समस्याको समाधान पनि राजनीतिक वार्ता र छलफलबाट नै निष्कर्ष निकाल्ने प्रयत्न गर्नु पर्ने भन्दै एउटा ठोस राष्ट्रिय सहमतिमा पुगेर माओवादीहरुलाई पनि राष्ट्रिय राजनीतिको मूल प्रवाहमा ल्याउन सक्नु नै समस्याको वास्तविक समाधान हो भनेको थियो। प्रतिवेदनमा लेखिएको थियो- 'यस समस्याको समाधानमा इमान्दारीतापूर्वक अधिकतम् कोसिश गर्नु र राजनीतिक ढंगले यस प्रकारको समस्याको समाधान हुन सक्छ भन्ने कुरालाई तथ्य र व्यवहारमा पुष्टि गर्न सक्नु मुलूकको राजनीतिक नेतृत्वका सामू रहेको एउटा ठूलो चुनौति हो।'  प्रतिवेदनको ६ वर्षपछि २०६२ सालमा सात राजनीतिक दल र माओवादीबीच १२ बूँदे समझदारी भयो र आन्दोलन सफल भएपछि माओवादी राजनीतिको मूल प्रवाहमा आयो। त्यसको १३ वर्षपछि दुई पार्टी एकै भएर विगतका सारा तिक्तता भुली नयाँ बाटोतर्फ अग्रसर छन्। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell