PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ७ः कांग्रेसले अघि बढायो संसदीय दलको नेता चयन प्रक्रिया, यी हुन् आकांक्षी



पहिलोपोस्ट

प्रदेश ७ः कांग्रेसले अघि बढायो संसदीय दलको नेता चयन प्रक्रिया, यी हुन् आकांक्षी

धनगढीः प्रदेश ७ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेको छ। सरकार गठन भएको तीन महिनापछि कांग्रेस संसदीय दलको नेता चयन गर्न लागेको हो। 

संसदीय दलको नेताको लागि अधिवक्ता प्रयाग दत्त भट्टलाई निर्वाचन अधिकृत समेत तोकिएको छ। विवादका कारण दलको नेता चयन प्रक्रिया पूरा हुन सकेको छैन। ढिलाइबारे नेताहरू बोल्न चाहँदैनन्। 

संसदीय दलको नेता ५ गतेसम्म सर्वसम्मत हुन्छ। नभए विधान अनुसार चुनावी प्रक्रिया भने पुरा गर्छौँ,’ कांग्रेस सांसद् कर्ण मल्लले भने, ‘ढिला किन भयो भनेर हामीलाई नसोध्नुस्। पार्टी सभापतिलाई सोध्नुस्।’

सरकारलाई सचेत गराउन प्रमुख प्रतिपक्षी दलको भूमिका महत्त्वपूर्ण हुने गर्छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नेतृत्व गर्ने नेता नपाउँदा भूमिका कम्जोर भएको महसुस स्वयंम कांग्रेसका सांसदहरूले गर्ने गरेका छन्। 

नेताविहीन हुँदा संसदमा अपेक्षाकृत रूपमा प्रस्तुत हुन सकेनौँ,’ एक सांसद्ले भने, ‘हाम्रो नेतृत्व चयन हुन नसक्दा संसद्को सूचना पाउनेदेखि पार्टीका काम कारबाहीहरू समेतमा प्राभावित भएका छन्।’ 


यस्ता छन् आकाङक्षी

संसदीय दलका नेताका तीन जना आकांक्षी देखिएका छन्। 

कैलालीका रणबहादुर रावल, डोटीका भरतबहादुर खड्का र डडेल्धुराका कर्ण मल्ल संसदीय दलको नेताका लागि आकांक्षी हुन्। 

कैलाली टीकापुरबाट निर्वाचित रावलले पार्टीको महासमिति सदस्य, राष्ट्रिय विकास परिषद्को सदस्यको भूमिकामा रहेर काम गरेका छन्। उनी संसदीय दलको नेताको लागि यही कुरालाई प्रमुख आधार मान्दै आएका छन्। लामो समयसम्म पार्टीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेकाले जिम्मेवारी दिए आफू संसदीय दलको नेताका लागि तयार रहेको उनले बताए। 

डडेलधुराबाट निर्वाचित सांसद कर्ण मल्ल पनि संसदीय दलको नेता बन्ने दौडमा छन्। उनले आफू २ पटक पार्टीको जिल्ला सभापति भएर काम गरी सकेकोले संसदीय दलको नेता आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन्। 

डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्का पनि आफू सबैभन्दा पुरानो नेता भएकोले संसदीय दलको नेता आफूले पाउनु पर्ने दाबी गर्छन्। सबै नेताहरूलाई समेटेर लैजाने क्षमता आफूसँग रहेकोले संसदीय नेताको जिम्मेवारी दिनु पर्ने बताए। खड्का यसअघिका संविधानसभा सदस्य पनि हुन्।

संसदीय दलको नेता बन्न उनीहरू पार्टी नेतृत्वसँग लविङमा छन्। आकांक्षीहरु पछि नहट्दा नेता चयनको लागि यसअघि गरिएका पहलहरू असफल भएका थिए। प्रदेश ७ मा कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्षबाट ४ र समानुपातिकबाट ८ गरी १२ जना सांसदको उपस्थिति छ। 


राजपामा पनि अलमल 

प्रदेश ७ मा राजपाबाट दुई जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गरेका छन्। राजपाबाट प्रदेशसभामा कृष्ण चौधरी र मालामती रानाको प्रतिनिधित्व छ।  उनीहरू दुबै जनाले संसदीय दलको नेताको लागि अडान लिएपछि संसदीय दलको नेता चयन हुन सकेको छैन। 

उनीहरूको अडानले नेतृत्व कसलाई दिने भन्ने विषयमा पार्टीले समेत निर्णय गर्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell