PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रेस्टुराँमा तिरेको नक्कली नोटले भेटियो जालो, यसरी छापिन्थ्यो पैसा



सविन ढकाल

रेस्टुराँमा तिरेको नक्कली नोटले भेटियो जालो, यसरी छापिन्थ्यो पैसा

काठमाडौं : प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिनेसमेत खुलासा भएको छ।

चाबहिल बस्ने धादिङका प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुरका विकेश नापितलाई नोट छाप्न दिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। नोट नापितकै प्रेसमा छापिएको अनुसन्धानमा खुलेको छ। नोट छाप्न प्रयोग भएको प्लेटसमेत प्रहरीले प्रकाश सुवेदीको प्रेस नवज्योति प्रिन्टिङ प्रेसको कार्यालयमा बरामद गरेको छ। ४ वटा प्लेट प्रहरीले जफत गरेको छ।
 


नक्कली नोट बजारमा ल्याउनेको सञ्जालमा प्रहरीको पञ्जा पर्दा फिल्म निर्माता माधवराज वाग्लेको कठालोसम्म पुग्यो। उनको कोठामा १ हजार दरका नक्कली नोट फेला पर्‍यो जुन सबैभन्दा बढी परिणामको थियो। उनको कोठाबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ जफत गर्‍यो।

रेस्टुँरामा नक्कली पैसा तिर्दा भेटियो जालो 

हिजोमात्रै २४ वर्षीय महेन्द्र बोगटीले काठमाडौ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भयो। लगत्तै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरेका थिए। प्रहरीले तत्काल उनलाई पक्राउ गरी सोधपूछ थाल्यो।

उनीसँग १ लाख २० हजार नक्कली रुपैयाँ फेला पर्‍यो। उनकै सूचनाका आधारमा लुभु बस्ने २४ वर्षका सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठामा ७ लाख ४३ हजार रुपैयाँ फेला पर्‍यो।

आजमात्रै निर्देशक वाग्लेको घरमा छापा मारिएको थियो। प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठामा सबैभन्दा धेरै नक्कली नोट फेला परेको हो। 

समातिएका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

वाग्लेले फिल्मको सुटिङका लागि नोट ल्याएको बयान प्रहरीलाई दिएका छन्। तर एसएसपी पोखरेलले भने गलत प्रयोजनका लागि नोटको प्रयोग गरिएको दावी गरे। 

स्पष्ट रुपमा नक्कली बुझिने वा देखिने नोटमात्र प्रयोग गर्न पाइने उनले बताए। बरामद भएका केही नोटमा साना अक्षरमा 'नक्कली नोट', केहीमा 'नक्कली फिल्म प्रयोजनका लागि' लेखिएको छ भने केहीमा भने त्यति पनि नलेखिएको एसएसपी पोखरेल बताउँछन्। 

नेपालमा प्रचलनमा रहेको नोट छाप्ने जिम्मा पाएको नेपाल राष्ट्र बैँकले समेत नोट आफै छाप्न पाउँदैन। राष्ट्र बैँकले पनि मन्त्रिपरिषद्को निर्णय भइसकेपछि मात्र नोट छाप्न अनुमति पाउँछ। 

   

लुट फिल्मका निर्माता

बैँक लुटे पनि प्रहरीले पक्राउ गर्न असफल हुने कथामा रहेको हिट फिल्म 'लुट' का निर्माता वाग्ले नै हुन्। फिल्म वितरक हुँदै फिल्म निर्माण कम्पनी बनाएर निर्माता बनेका उनको फिल्म निर्माणका लागि प्रिन्सेज मुभिज र वितरणका लागि  पपकर्न पिक्चर्स छ। 

आठ वर्षअघि 'फर्स्ट लभ' फिल्मबाट निर्माणमा होमिएका वाग्लेले  छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा  लुट २ फिल्म बनाएका थिए। 

आफूले बनाएका फिल्ममा वाग्ले अतिथि कलाकारका रुपमा समेत देखिँदै आएका छन्। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell