PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दिनभरि तगडा प्रधानमन्त्री ओली त्रिवि सिनेटका लागि किन भए 'विरामी'?



नेत्र तामाङ

दिनभरि तगडा प्रधानमन्त्री ओली त्रिवि सिनेटका लागि किन भए 'विरामी'?

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको आज बस्ने भनिएको सिनेट अप्रत्यासित रुपमा बस्न सकेन। अन्य दिन झै आज दिनभर सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको 'स्वास्थ्य खराब भएको' भन्दै बिहान ९ बजे डाकिएको सिनेट बैठक किन स्थगित भयो त? 

त्रिविले शुक्रबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कीर्तिपुरमा बिहान ९ बजे सिनेट बस्ने कार्यक्रमसहितको सूचना प्रवाह गरेको थियो। त्यसको निम्तो पत्रकारहरुलाई पनि दिइएको थियो। तर, त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण र औपचारिक कार्यक्रम एकाएक रोकियो। त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीले सिनेट रोकिनुमा प्रधानमन्त्री ओली विरामीलाई नै कारण बताइन्। 

'त्रिवि सिनेट आजका लागि डाकिएको थियो। तर, प्रधानमन्त्री अस्वस्थ हुनुभयो भन्ने खबर आयो। त्यसपछि बैठक रद्द भयो,' शिक्षाध्यक्ष डा त्रिपाठीले भनिन्।

तर, प्रधानमन्त्री कार्यालयले भने प्रधानमन्त्री अस्वस्थ नभएको प्रस्टिकरण दियो। 'प्रधानमन्त्री ओली स्वस्थ हुनुहुन्छ। बिहानैदेखि उहाँ सक्रिय रुपमा काम गरिरहनु भएको छ,' प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए, 'आज उहाँका अरु कुनै कार्यक्रम रोकिएको छैन।'

विश्वविद्यालयले सिनेट बैठकमा राखेका एजेन्डा ओलीसामु पहिले नै पुर्‍याइएको थियो। ती एजेन्डाप्रति असन्तुष्टि जनाउँदै ओलीले कार्यक्रममा नजाने निर्णय गरेका थिए। त्यसैलाई विश्वविद्यालयका अधिकारीहरुले 'ओली विरामी परेकाले' भन्दै व्याख्या गरे। 'केही विषयमा प्रधानमन्त्रीको असहमति रहेकाले उहाँले बैठकमा नजाने निर्णय गर्नुभएको हो,' सल्लाहकार अर्यालले भने।

विश्वविद्यालयका अधिकारीले 'विरामी बनाइदिएका' प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिनभरि अन्य दिन झै सक्रिय भए। 
प्रधानमन्त्री त सबैजसो कार्यक्रममा सहभागी भइरहनुभएको रहेछ नि त कसरी विरामी हुनुभयो? 

जवाफमा शिक्षाध्यक्ष त्रिपाठीले भनिन्, 'हामीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलज्यूबाट यस्तै म्यासेज आयो। फोन गरेरै 'प्रधानमन्त्री अस्वस्थ हुनुभयो' भन्नुभयो। त्यसैले बैठक रोकिएको हो।'

प्रधानमन्त्री आफै कूलपति रहेको संस्थामा ढाँटेर सहभागी नभएको भए त्यो प्रधानमन्त्रीको गरिमाभन्दा बाहिरको कुरा भएको शिक्षाध्यक्षको भनाई थियो। 

कार्यसूचीमा असन्तुष्टिले प्रधानमन्त्री सहभागी नभएको कुरा बाहिरिएको छ नि? 

जवाफमा त्रिपाठीले भनिन्, 'त्यसो हो भने त उहाँले त्यही कुरा भन्नुपर्थ्यो। उहाँ नै त्रिविको हेड हुनुहुन्छ। पदाधिकारीलाई ढाँटेर कुलपतिले यसो गर्न मिल्छ?' 

के थियो आजको कार्यसूचीमा?

त्रिविको सिनेटमा नियम संशोधन, एजेन्डा बनाउने, भावी कार्यक्रम पारित गराउने र अन्तिममा हाजिर अनुमोदन गराउने तय थियो।

आजको सिनेटमा नियम संशोधन, सिनेट थप्ने र एल्मुनाइ एसोसियसनलगायतका विषयमा छलफल हुने कार्यसूची थियो। त्यसैगरी प्राध्यपक, सहप्रध्यापक लगायतको हजिरी अनुमोदन गराउने कार्यसूचीसमेत थियो। यसबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएर नै सिनेटको मिति तय गरिएको त्रिविले जनाएको छ। 

सिनेट पदाधिकारीमा प्रधानमन्त्री, शिक्षामन्त्री, सेवा आयोगका अध्यक्ष, शिक्षाध्यक्ष र राजिस्टार रहन्छन्।
 

अबको बैठक कहिले?

त्रिवि सिनेटको बैठक रद्द भएसँगै अर्को बैठक भने अनिश्चित बनेको छ। मिति तोक्न र कार्यसूचीबारे थप छलफल गर्न पदाधिकारीको बैठक बसेर प्रधानमन्त्रीलाई भेट्ने त्रिविले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell