PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अनामनगरबाट कसले लुटेको थियो ३३ किलो सुन?



सविन ढकाल

अनामनगरबाट कसले लुटेको थियो ३३ किलो सुन?

काठमाडौं : ३३ किलो सुन हराएपछि तानिएको लहरोले ३ हजार ८ सय किलो सुनको तस्करीसम्मको पहरो गर्जिए पनि यो सब काण्ड मच्चिने गरी १६ करोड रुपैयाँ बराबरको सुन कसले लुट्यो अहिलेसम्म खुल्न सकेको छैन।
 
यस प्रकरणमा जोडिएका तीन जनाको मृत्यु भइसकेको छ। 

यही सुन हराएपछि नै चुडामणि उप्रेती ‘गोरे’ ले यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो। र, यही हत्यापछि नै यो प्रकरण सतहमा आएको थियो। 

सुन कसले लुट्यो भन्नेतर्फ अनुसन्धान प्रवेश नै गरेको छैन। तै पनि अभियुक्तहरुको बयानबाट सुन कसरी काठमाडौँ भित्रिएको थियो र अन्तिम पटक कहाँ देखिएको थियो भन्नेसम्म खुल्छ।

सुन तस्करीका लागि कस्तो सेटिङ मिलाइएको हुन्थ्यो यो स्टोरीमा पढ्नुस् :

तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर

सुन विमानस्थलबाट निकालेर तस्करकोमा पुर्‍याउन जाने दुई पात्र थिए- थाइ एयरलाइन्सका सिनियर प्राविधिक सानु बन र तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ। सानुको विमानस्थलमै भएको ‘दुर्घटना’मा मृत्यु भइसकेको छ। तक्लेको बयानका आधारमा सुन कसरी हराएको थियो भन्नेसम्म झलक बुझ्न सकिन्छ।  
 

यसरी आएको थियो सुन

माघ ९, २०७४। थाई एयरको टिजी ३१९ बाट सुन आउँदै गरेको खबर सेटिङवाला सबैकोमा पुगिसकेको थियो। दिउँसो १२/१ बजे विमान ल्याण्ड भएपछि पहिलेजस्तै गरी सुन ट्वाइलेटको डस्टबिनबाट निकालेर भर्‍याङको प्वालसम्म आइपुग्यो। 

भर्‍याङबाट झिकेपछि १२ पिस सुन रहेको टक्लेलाई पनि थाहा भयो। साँझ अन्दाजी ५ बजे सानु बनले सुन पुर्‍याउन जानुपर्छ भनेपछि सुन लुकाएको ज्याकेट उनले लगाए। तस्करीका लागि १० वटा गोजी भएको ज्याकेट बनाउने गरेको अरुहरुको बयानबाट खुल्छ। 

ज्याकेट लगाएका तक्ले र सानु दुई छुट्टाछुट्टै मोटरसाइकलमा बसी सानुको घरमा पुग्छन्। तक्लेले आफ्नो ज्याकेटबाट सुन निकाली सानुको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाउँछन्। 

सुन पुर्‍याउनु पर्ने ठाउँ चुडामणि उप्रेतीको अनामनगरस्थित भाडामा लिएको घरमा थियो। दुवै त्यहाँ आ–आफ्नै मोटरसाइकलमा जान्छन्।
 

अनामनगरमा यसरी लुटियो सुन

बयानमा तक्लेले भनेका छन्, ‘अनामनगरमा सुन दिनका लागि मोटरसाइकल छिराउने सटर अगाडि दुई वटा जति मोटरसाइकल र ३/४ जना मानिसहरू भेला भएको देखेँ। त्यसपछि सानु बन सर अगाडि-अगाडि र म पछि-पछि मोटरसाइकल चलाई उक्त सटर क्रस गरेर गयौं।‘

केही अगाडि पुगेपछि सानुले मोटरसाइकल रोक्छन्। उनी भने क्रस गरेर १०/१५ मिटर अगाडि गई मोटरसाइकल रोकी सानुलाई फोन गरी सोध्छन्, ‘किन के भयो? किन मोटरसाइकल रोक्नु भएको?’ 

‘यहाँ खतरा छ जस्तो छ। तिमी यहाँबाट गइहाल,’ सानुले अह्राए। 

त्यसपछि उनी मोटरसाइकलबाटै झन्डै ५०० मिटर जति अगाडि एउटा चोकमा पुगे। के गर्ने भनेर अन्यौल भएपछि मोटरसाइकल रोकी पुनः सानुलाई फोन गर्छन्। तर, फोन लाग्दैन। 

उनले बयानमा भनेका छन्, ‘यही बेला भित्रको गल्लीबाट एउटा स्कुटीमा सानु बन सर पछाडि बसी मैले मोटरसाइकल रोकेको ठाउँबाट क्रस गरेर देब्रे मोडी पुरानो बानेश्वरतिर गए।‘

सानु चढेको मोटरसाइकलमा सुन थियो। तर, सानु अरुले चलाएको स्कुटीमा पछाडि बसी निस्कन्छन्। यही बीचको अवधिमा  मोटरसाइकलसहित सुन हराएको देखिन्छ। 

स्कुटीमा पछाडि बसेर सानु गएको देखेपछि तक्लेले बयानमा भनेका छन्, ‘मैले फेरि सानु बन सरलाई फोन सम्पर्क गर्ने प्रयास गरेँ। फोन लागेन। मैले मोटरसाइकलबाट पिछा गर्ने प्रयास गरेँ। तर, मेरो मोटरसाइकल स्टार्ट गरी अगाडि बढेर हेर्दा कुन गल्लीबाट कतातिर छिरे, मलाई थाहा भएन।‘ 

त्यसपछि सम्बिरप्रसाद तोलाङलाई फोन गरेर ‘सानु सरको फोन लागेन, सानु बन सर एक जना मान्छेको स्कुटीमा बसेर जानुभएको छ, के भएको बुझ’ भन्छन्। 

तर, उनी अफिस जाँदै गर्दा सानु बन आफैले उनलाई फोन गरेर - तिमी कहाँ हो भनेर सोध्छन्। 

‘सिनामंगल पुलमा छु’ 

‘त्यसो भए अफिसतिर जाऊ,’ यति भनेर सानुले फोन राख्छन्। 

उनले बयानमा अगाडि भनेका छन्, ‘म अफिसको सिनामंगलपट्टि गेटमा पुग्ने बेलामा सानु बन सरले फेरि फोन गरेर तिमी अफिसमा छिर भित्र सेभ हुन्छ भन्नुभयो।‘ 

साढे सात बजे एयरपोर्टको अफिसमा पुग्दा बल्ल उनले सुन लुटिएको चाल पाउँछन्। यसबारे उनले बयानमा भनेका छन्,  ‘म साढे ७ बजेको समयमा अफिसमा पुग्दा गोपालकुमार श्रेष्ठ सरले मलाई सानु बनले भनेको सुन त लुटियो रे त? बाटोमा के–के भयो भनेर सोध्नुभयो। मैले बाटोमा भएको कुरा सुनाएँ, अनि म आफ्नो काममा लागेँ।‘

त्यसपछि सुरु भयो सुन मगाउने चुडामणि उप्रेती गोरेले दिने यातनाको क्रम। ‘सानु बन सरले हामीलाई सुन भुजुङ गुरूङको मान्छेले लगेको हो भन्नु भनी सिकाएका थिए र सोधपुछ गर्दा हामीले सुन भुजुङ गुरूङले लगेको छ भन्यौ र गोरे भन्ने चुडामणि उप्रेतीका मानिसहरुले सो कुराको भिडियो रेकर्ड समेत गरेका थिए,’ उनले भनेका छन्। 

भुजुङ गुरुङ पनि सुन तस्करीको सेटिङ मिलाउनेमध्येका एक हुन्। उनी राप्रपाका नेतासमेत हुन्। 

सानु घटनापछि बिदा बस्छन्। २०७४ माघ २२ गतेको दिन सानु बन बिदा थप्न एयरपोर्ट आउँदा सुनको कुरा हुन्छ। ‘कुरा गर्दा मलाई भोलिदेखि तिमीहरूलाई सन्चो हुन्छ, अब केही हुँदैन भन्नुभएको थियो,’ उनले भनेका छन्।

त्यही दिन अबुधाबीबाट आउने बिमान इत्तिहाद एयरवेजको टेक्निकल हेण्डलिङको लागि तयारी हुँदै गर्दा बाहिर अफिस अगाडि रोडमा फ्युल ट्यांकरले सानु बनलाई किच्यो र त्यहीँ उनको मृत्यु भयो। 

सानु बनको मृत्युपछि भने गोरेका मान्छेहरूले उनलाई फोन गर्न र बोलाउन छाड्छन्। सानुको मृत्यु भएको करिब १ हप्तापछि गोपालकुमार श्रेष्ठले ड्युटी गएको समयमा उनलाई भेटी गोरे भन्ने चुडामणि उप्रेतीलाई पैसा आवश्यकता परेको छ रे, पछि फिर्ता दिन्छ, कति सक्छौ सापटी देउ भनेपछि उनले ९ लाख रुपैयाँ दिएको बयानमा छ। 

तर, पछि फेरि उनलाई यातना दिने काम सुरु हुन्छ। फागुन १६ गते उनलाई सिरहाको जंगलमा लगेर यातना दिइन्छ। पछि फेरि यत्तिकै घर जानलाई बसको टिकट काटिदिएको बयान उनले दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell