PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन



सागर बुढाथोकी

उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन
फोटो: justscience.in

कौशलटारका ४ वर्षीय सुयोग कार्कीमा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न त परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै उनी जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाले खेलिरहन्छन्। खेलौना साथमा भए उनलाई बुवाआमा नै चाहिन्न।

सुयोगको यो स्वाभावका कारण उनकी आमा राधा चिन्तित छिन्। सुयोगलाई 'अटिजम' भएको उनले भर्खरै थाहा पाएकी छिन्।

केही दिनअघि मनोविश्लेषक बासु आचार्यको क्लिनिकमा एक जना अभिभावक ७ वर्षीय बच्चा लिएर आइपुगे। बच्चा आफ्नै आमासँग कुरा गर्न नसक्ने अवस्थामा थियो। बोलाउदाँ कान नसुनेजस्तै गर्थ्यो। जति बोलाएपनि नबोल्ने। न आमासँग केही माग्थ्यो न रुन्थ्यो नै।

आचार्यका अनुसार छोराको त्यस्तो स्वभावले आमा चिन्तित थिइन्। किनकि, बच्चा आमाले छोएकोसमेत मन पराउँदैनथ्यो। हात खुट्टा चलाइरहने र चाहेको कुरा बोल्न नसक्ने अवस्थामा थियो। उनले ति परिवारलाई काउन्सिलिङ गरेर पठाए। बच्चाको यस्तो समस्या लिएर धेरै परिवारहरु आउने गरेको आचार्य बताउँछन्।

नेपालमा अटिजम भएकाहरुको एकिन तथ्यांक छैन। सुयोगजस्तै ३ लाख नेपाली बालबालिकामा अटिजम रहेको अनुमान गरिएको छ। तर नेपालमा अटिजमको अवस्थाको बारेमा कुनै अध्यन अनुसन्धान नै भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनको तथ्याकंअनुसार विश्वभरका १ प्रतिशत मानिसमा अटिजम छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले विश्वभर जन्मने ५९ जना बच्चामध्ये एक जनालाई अटिजम हुने जनाएको छ। दक्षिण कोरियाको तथ्यांक अनुसार त्यहाँ २ दशमलव ६ प्रतिशतमा अटिजमको समस्या छ। भारतमा ८ करोड र श्रीलंकामा २ लाखमा अटिजम रहेको अनुमान गरिएको छ।

मनोविश्लेषक आचार्यका अनुसार अटिजम बच्चादेखि सुरु हुन्छ र बुढेशकालमासम्म त्यसको असर देखिन्छ। अटिजम भएका बच्चाहरुलाई जीवनभर अरुले हेरचाह गर्नुपर्ने हुन्छ।

मेडिकल न्युज टुडे डटकम लेख्छ, अटिजम भनेको जटिल मानसिक असक्षमता हो। चिकित्सकहरुका अनुसार जीवनको पहिलो ३ वर्षमा अटिजम भएको थाहा हुन्छ। अटिजम मानसिक विकारको त्यो अवस्था हो जसले मानशिक कार्य गर्न, बोलचाल गर्न र घुलमिल हुन दिदैन। र, यसको कुनै उपचार पत्ता लागेको छैन।

मनोविश्ष्लेषक आचार्य भन्छन्, 'अटिजम मस्तिष्कका स्नायु कोषहरुमा  विकास हुने अवरोधका कारण देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो।'

अटिजमलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’  अर्थात मस्तिष्कको अव्यवस्थित विकास पनि भनिन्छ। यो वौद्धिक अपाङ्गता र मनोवैज्ञानिक विकार होइन। अटिजम बालबालिकामा देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो। यो अवस्थामा रहेका बालबालिकालाई सामान्य मानिस सरह जिउन कठिनाइ हुन्छ।

अटिजम भएका बच्चाहरु कि अत्यधिक चकचक गर्ने खालको हुन्छन् कि निस्क्रिय बसिदिने स्वभावका हुन्छन। उनीहरुमा प्रेम, आनन्द, पीडा सबै हुन्छ। बस उनीहरु आफ्नो भावना अरुजस्तै राम्रोसँग व्यक्त गर्न सक्दैनन। उनीहरु पागल हैनन। 


आचार्यका अनुसार धेरै अभिभावकहरु बच्चालाई मानसिक रोग लाग्यो भनेर भ्रममा छन्। सोही कारण उपचार गराउनतिर लाग्दैन। ग्रामीण भेगतिर त अटिजम भएका बच्चाहरुलाई दाम्लोले बाँध्ने, थुन्ने गरेका घटना प्रसस्त भेटिन्छ।  आचार्यले भने, 'धामीझाँक्री र झारफुकमै अभिभावकहरु भर पर्ने कारण बच्चाहरु झनै जोखिममा रहन्छन।'

साइन्टिफिक अमेरिकन डटकम लेख्छ, व्यावहारिक हेरचाह र अभिभावकहरुको केयर गर्ने राम्रो तरिकाले अटिजम भएका बालबालिका गुणस्तरिय जीवन बिताउन सक्छन। अटिजम भएका बालबालिकालाई सामाजिक आर्थिक वातावरण राम्रो नबनाए उनीहरुको जीवन खतराबाट मुक्त हुन्न।

आचार्यका अनुसार अटिजम जन्मेको १८ महिनादेखि ३ वर्षभित्र पहिचान गर्न सकिन्छ। तर यो समस्याले जीवनभर छोड्दैन। अटिजम पहिचान भएदेखिकै तालिम, व्यावहारिक ज्ञान दिन सके बच्चाको अवस्थामा धेरै सुधार आउँछ।

किन हुन्छ अटिजम ?
आचार्यका अनुसार अटिजम वंशाणुगत कारणले हुने गर्छ। केही अटिजम वातावरणीय र मनोवैज्ञानिक कारणले पनि हुने गरेको अनुसन्धानले देखाएका छन्। तर, अटिजम हुने निश्चित कारण भने पत्ता लागेको छैन।

अटिजम भएका बालबालिकालाई कुराकानी गर्न र बुझ्न कठिन हुन्छ। उनीहरु सजिलै सामाजिक गतिविधि र संस्कार बुझ्न सक्दैनन्। बोली तथा क्रियाकलाप दोहोर्‍याउन उनीहरुलाई मुस्किल हुन्छ।


टाइम डटकम लेख्छ, अटिजम केटीको तुलनामा केटाहरुमा बढी हुन्छ। केटीभन्दा केटाहरुलाई अटिजम हुने सम्भावना २ देखि ५ गुणा बढी हुन्छ। अर्थात ६८ जना अटिजम भएकाहरुमा ४२ जना केटा हुन्छन्।

मनोविश्लेषक आचार्यका अनुसार अटिजम भएकालाई सामान्य जीवनमा फर्काउन सकिन्छ। पुरै ठिक नभएपनि परामर्शदाता, मनोविज्ञ तथा मनोचिकित्सकले सामूहिक अन्तर्वार्ता, अध्ययन लगायतका विधिबाट बच्चाहरुको अवस्था सुधार गर्न सक्छन्। बच्चाहरुको अवस्था हेरेर उपचार विधि फरक हुन्छ। शिक्षण विधि र व्यावहारिक थेरापीबाट उनीहरुको अवस्थामा सुधार ल्याउन सकिन्छ। 

यो पनि पढ्नुहोस् :

बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक

पानी धेरै पिउँदा झनै खतरा! बच्चालाई नि?

उपचार पत्ता नलागेको एउटा ‘खतरनाक’ रोग जुन ‘मेडिकल साइन्टिस्ट’हरुको टाउको दुखाइ बन्दैछ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell