PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बनाउन यही महिना ऋण सम्झौता हुने



सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बनाउन यही महिना ऋण सम्झौता हुने
प्रतीकात्मक फोटो

काठमाडौं: अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ।  

सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले मे मा जापानी टोली ऋण सम्झौताकालागि नेपाल आउने समेत बताए।

नेपाल र जापानबीचमा मे मा हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ। महाशाखाका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछन्। महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए।

गत मार्चमा जापानी  अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)को टोली नेपाल आइ सुरुङ मार्ग निर्माणका बारेमा एक  चरणको छलफल गरेर गैसकेका छन्। उक्त द्विपक्षीय छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएको थियो।

भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो अत्यन्त घुमाउरो र जोखिमपुर्ण रहेको छ। भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको वैदेशिक महाशाखाले जनाएको छ।

यो खण्डमा सुरुङमार्गसंगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ। सुरुङमार्ग र सडक विस्तारका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।जसमा केही प्रतिशत नेपालको पनि लगानी रहने महाशाखाले जनाएको छ।

अहिले सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ। ऋण सम्झौता भएपछि एक बर्षमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार पार्ने र तीन बर्षभित्रमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ।

कस्तो बन्ने छ सुरुङमार्ग ?


महाशाखाका अनुसार धुलिखेलतिर जान र आउनका लागि दुर्इ वटा सुरुङमार्ग हुनेछन्।

एउटा सुरुङमार्गको चौडार्इ ९ मिटरको हुनेछ। दुर्इवटा लेन  हुनेछ ३.५/३.५ मिटरको ।दुवैतिर १/१ मिटरको स्पेश छोडिने छ। सुरुङमार्गको लम्वार्इ करिव १.३/१.३ किमी हुने छ।

यो सुरुङमार्ग निर्माणपछि तातोपानी नाका  र  अरनिको वीपी राजमार्ग हुँदै आउने यात्रुलार्इ सहज हुनेछ। सुरुङमार्ग बनेपछि त्यस क्षेत्रमा अहिले दैनिक रुपमा घण्टौसम्म हुने गरेको जाम पुर्ण रुपमा हट्ने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell