PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६

शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’

शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’

स्वेच्छा राउत/पहिलोपोस्ट


कुनै नगरमा राजा हुन्छ तर उसको विवेक शून्य। हरपल मदिराको मातमा हुने राजा सानातिना घटनाका दोषीसमेत पत्ता लगाउन सक्दैन। पटक पटक अल्मलिन्छ। वरपरका आसेपासेले उनलाई सम्झाइरहनुपर्छ बेलाबेलामा। 

त्यस्तै घर, परिवार समाज त्यागेर साधु बनेको अर्को पात्र छ। यो पात्रको बोलीमा धर्म र आदर्श र व्यवहारमा लोभीपन झल्कन्छ। पद प्राप्तिका लागि अरु कसैलाई फाँसीमा चढाउन पनि तयार हुन्छ या पात्र।

अनि अरू धेरै पात्रहरू छन् जो कसैको निष्ठावान सेवक देखिन्छन् तर अवसर पाउनासाथ उसैलाई फसाउन पछि पर्दैनन्।

हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा'मा देखिने पात्रहरु हुन् यी जसको भूमिका व्यङ्ग्यात्मक लाग्छ। नाटकले पद र प्रतिष्ठामा हुनेहरुको विवेक, व्यवहारमाथि प्रश्न गर्छ। साथै लोभले हुने लाभ र त्यसपछिको विपापसम्मको चर्चा पनि।

+++
एक साधु महाराजले आफ्ना दुई चेला गोवर्धनदास र नारायण दासलाई अधिक लोभ नगर्न उपदेश दिइरहेको अवस्थाबाट सुरु हुन्छ नाटक। जहाँबाट उनीहरु भिक्षा माग्न फरकफरक ठाउँका लागि छुटिन्छन्। र, चेलामध्यको एक गोवर्धनदास अंधेरीनगरमा पुग्छन् जुन नगरमा हरेक सामान एक आनामा पाइन्छ। सेकुवा, बदाम, श्रृङ्गारका सामान, पाचक, तरकारीदेखि यार्सागुम्बासम्मको एउटै मोल सुन्दा ऊ छक्कपर्छ। छक्क मात्र पर्दैन, गुरुले दिएको उपदेश भुल्छ, र अति खुशी हुन्छ। भिक्षामा आएको सात आनाले मिठाइ किन्छ र गुरुकहाँ पुग्छ।
अंधेरी नगरको बजार भाउ सुनेपछि गुरुको पहिलो प्रश्न हुन्छ- 'त्यो कस्तो ठाउँ हो अनि त्यहाँको राजाको नाम के हो?'
ठाउँको नाम 'अंधेरी नगरी' र राजाको नाम 'चौपट' सुन्नासाथ साधुले त्यो ठाउँ छोड्ने निर्णय गर्छ। तर, गोवर्धनदास थोरै पैसामा धेरै खान पाउने लोभले गुरुको निर्णय स्वीकार्दैन। र, त्यहीँ बस्छ।

त्यसपछि जोडिने घटनाहरुले अंधेरी नगरको अस्तवव्यस्तता, चौपट राजाको बौद्धिक अनि व्यवहारिक स्तर र नाटकको शीर्षकलाई प्रस्ट्याउँछ। पर्याप्त हाँस्यरस भरिएको नाटकले दर्शकहरुलाई हाँस्दा हाँस्दै सोच्न बाध्य बनाउँछ।

राजाको हालत यस्तो हुन्छ कि समस्यामा परेर न्याय खोज्दै आएका नगरवासीको समस्याको समाधान खोज्नु, दोषीलाई सजाय दिलाउनु परको कुरा उसलाई बोल्ने शब्दहरुको चयन गर्न पनि आउँदैन। ऊ विवेकहीन हुन्छ अनि भुलक्कड पनि। यतिसम्म कि निरंकुश शासकको रुपमा देखाइएको राजा पात्र साधुले बैकुण्ठ बास हुने साइत रहेको बताउँदा आफै फाँसीमा चड्न तयार हुन्छ।

उसले फाँसीमा चढेपछि नाटकले फरक मोड लिन्छ। उसको श्रीपेच लगाउनका लागि सबै लालायित हुन्छ जो उ बाँचुन्जेलसम्म वरपर सुसारे भएर बसेका थिए। उक्त दृश्य ‘मुखमा रामराम बगलीमा छुरा’ उखानसँग मिल्छ र साथै राजाहरू कस्तो मानिसहरूबाट घेरिएका छन् भन्ने प्रश्न पनि सोच्न बाध्य बनाउँछ।

र, ती सबैथोक भइराख्दा एउटा सामान्य मानिस छ। उसको पाठो पर्खाल ढलेर मरेको थियो। राजाले न्याय दिने नाममा पर्खाल बनाउनेदेखि लिएर खसी बेच्नेसम्मलाई बोलाउँछन् तर पनि उसले न्याय पाउन सक्दैन। राजाको विवेकहीनता र उनको वरपर हुने मानिसका कारण उसले पाउनुपर्ने न्याय गुम्छ।
ऊ एक साधारण मान्छे हो जसलाई आफ्नो क्षति बाहेक केही कुराको मतलब थिएन। 

नाटक हेर्दैगर्दा बाटो बिस्तारले घर भत्किएका मानिसहरू, बाटोमा बगेको भेलमा परेर जीवन गुमाएका स्कुले नानी तथा न्याय खोज्दै अदालतको परिसरमा वर्षौ धाइरहेका मानिसहरूको अनुहार सम्झिन मन लाग्छ र सँगै त्यहाँ भएका राजा र साधु जस्ता हाम्रा शासकहरू सम्झिएर मन कुँडिन्छ।
+++

काठमाडौं कुञ्ज थिएटरमा हिन्दी नाटक नेपाली भाषा र भावानुवादमा मञ्चन भइरहेको छ। व्यङ्ग्यात्मक नाटक भएकाले नाटकको प्रस्तुति हाँस्यास्पद छ। सुरुवातदेखिका संवाद र अभिनयले हसाउँछ। र हाँसोले नै दर्शकलाई अन्त्यसम्म बाँधिराख्छ।

तर, अभिनयको पाटो भने बलियो लाग्दैन। निर्देशकले लोक नाटकमा एउटा कलाकारलाई धेरै चरित्रमा खेलाउन पाउने स्वतन्त्रको प्रयोग गरेका छन्। तर, १० कलाकार फरक-फरक चरित्रको सतही प्रस्तुतिमा रुमलिन्छन् कलाकार। एउटै कलाकारले दुईभन्दा बढी भूमिका निभाउनुको असर हुनसक्छ एउटाको ह्याङ्ग अर्कोमा देखिन्छ। डायलग डेलिभरीदेखि शारीरिक हाउभाउसम्म उस्तै लाग्छन्। हसाउनकै लागि कतिपय दृश्यहरूलाई अनावश्यक लम्ब्याइएको पनि छ।

केही समययता नाटकमा प्रयोग बढेको प्रत्यक्ष गीत र संगीत यो नाटकमा पनि छ। संगीतको पाटोमा संगीत सापकोटा, मोनिस निरौला र रोहित महर्जनले प्रशंसनीय काम गरेका छन्। कतिपटक त कलाकार र घटनाक्रमहरुले भन्दा संगीतले दर्शकको ध्यानाकर्षण गर्छ। तर बीचबीचमा कलाकारसँगको तालमेल नमिल्नाले सांगीतिक पाटो ‘लाउड’ लाग्छ। कतिपटक त कलाकारको संवाद नै सुनिँदैन।

राजा देखिने दृश्यसँगैको सेट आकर्षक छ। केही व्यङ्ग्यात्मक पनि। तर, त्यसअघिको सेटिङ निकै सामान्य। ठाउँ भएर पनि उचित प्रयोग नभएजस्तो। लाइटको र दृश्यको संयोजन नमिल्नुले पनि मञ्च आकर्षित लाग्दैन।

नाटकको नेपाली भावानुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले संयुक्त रुपमा गरेका हुन्। उनीहरुको यो दोस्रो सहकार्य हो। म्यारिज प्रपोजलपछिको यो प्रस्तुतिमा अनुवाद र निर्देशकीय दुवै पाटो सुधारिएको छ। नेपाली परिवेशमा पात्र र घटनाक्रमलाई ढाल्न गरिएको प्रयास तारिफयोग्य छ। 'भैंसी मर्यो है माया', 'झन् माथि सार्यो ' जस्ता गीत र 'कहीँ नभएको जात्रा थापा गाउँमा' लगायत नेपाली गीत र उखानको प्रयोग सान्दर्भिक लाग्छ। साथै नाटकको हास्य पक्षलाई बलियो पनि बनाउँछ।

नाटकको मुख्य उद्देश्य के हो भन्नेमा चाहिँ दर्शक कन्फ्युज हुन् सक्छन्। किनकि घटनाहरुको गति एकै छैन। दृश्यहरुलाई लामो बनाउनुले पनि नाटकको केन्द्रीय द्वन्द्व प्रष्ट हुँदैन। प्रयोग संवाद, संगीत र जीवन भट्टराई, पुस्कर कार्की, प्रकु पाण्डे, पिटर प्रिन्स लगायत केही कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन भने भरपुर दिन्छ।

नाटक वैशाख २९ गतेसम्म बुधवार बाहेक हरेक साँझ साढे पाँच बजे चल्नेछ। नाटकको शनिबार दिउँसो एक बजेर अतिरिक्त सो छ। नाटकलाई क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनले प्रस्तुत गरेका हुन्।


ट्रेन्डिङ पोस्ट