PahiloPost

Sep 25, 2018 | ९ असोज २०७५

मोदीले केही गर्दिन्छन् कि भन्ने आश छ : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल


मोदीले केही गर्दिन्छन् कि भन्ने आश छ : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल
फाइल फोटो : globalbhutanese.com

भुटानी शरणार्थी मामिलामा विगत तीन दशकदेखि विश्वले याद गरेको नाम हो टेकनाथ रिजाल। रिजाल तिनै व्यक्ति हुन् जो सन् १९९९को डिसेम्बर महिनामा १० वर्षपछि भुटानको जेलबाट छुट्दा नेपालका दैनिक पत्रिकाहरुमा व्यानर समाचार  बनेका थिए  उनलाई मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भएको बेलामा सन् १९८९ मा भुटानको आग्रह अनुसार नेपालबाट त्यसतर्फ सुपुर्दगी गरिएको थियो। सन् १९८० को दशकको अन्त्यमा सुरु भएको भुटानी शरणार्थी समस्याको सम्बन्ध  छिमेकी भारतसँग सोझै जोडिने गरेको छ। त्यतिबेला १ लाखभन्दा बढी शरणार्थीलाई भारतले नेपालतर्फको एकतर्फी बाटो दिएको थियो, जान दिने, फर्कन नदिने। भारतको बाटो हुँदै नेपालको मोरङ र झापाका ७ वटा शरणार्थी शिविरमा भुटानीहरु बसे। तर, भारतले सधैं यो विषयलाई नेपाल र भुटानको आन्तरिक मामिला भन्न रुचायो।

पटक पटकको नेपाल –भुटान वार्ता असफल भएपछि सन् २००७मा अन्तर्राष्ट्रिय समुदायको पहलमा शरणार्थीलाई तेस्रो मुलुकमा लग्ने क्रम सुरु भएको हो । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)को तथ्यांक अनुसार अहिलेसम्म नेपालबाट १ लाख १२ हजार ५ सय ८७ भुटानी शरणार्थी तेस्रो देशमा गइसकेका छन्। जसमध्ये अमेरिकामा ९५ हजार ७ सय ९५, क्यानडामा ६ हजार ८सय ३३, अष्ट्रेलियामा ६ हजार ७ सय ३३, न्युजिल्याण्डमा १ हजार ९५,डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, बेलायतमा ३ सय ५८ र नेदरल्याण्ड्समा ३ सय २९ जनाको पुनर्वास गराइएको छ भने करिब साढे ९ हजार शरणार्थी अझै पनि झापा र मोरङका दुई वटा शिविरमा रहेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि वैशाख २८ गतेका लागि तय भएपछि स्वदेश फिर्तीको अन्तिम प्रयासका लागि अहिले नेपालमा रहेका बाँकी शरणार्थीहरु जम्जमाएका छन्। रिजाल यही सिलसिलामा झापाबाट काठमाडौँ आई अहिले राजधानीको एउटा होटलमा बसेर पहल गरिरहेका छन्। प्रस्तुत छ, केही वर्षदेखि गुमनाम जिन्दगी बिताइरहेका उनै रिजालसँग लेखनाथ अधिकारीले  गरेको  कुराकानीका मुख्य अंश :

तपाई त हराउनु भयो त आजकल ?
मलाई त हराएको जस्तो लाग्दैन । तपाईकै अगाडि छु  । मेरो जीवन सखाप नभएसम्म म हराउँदिन । शरणार्थी समस्याको समाधान भएपछि मात्रै म हराउँला ।

पहिला चर्चामा आइरहने मान्छे अचेल सेलाउनु भयो नि।
म आफ्नै हिसाबले काम गरिरहेको छु । चर्चामा नआएको मात्रै हो ।

शरणार्थी फिर्ती आन्दोलन कहाँ पुग्यो त ?
सर्सर्ती हेर्दा भुटानी शरणार्थी तेस्रो देशमा गएपछि समस्या समाधान भएजस्तो देखिएको छ । तर यहाँ अझै आगो बलिरहेको छ । तेस्रो देश जानु नराम्रो होइन । जानेहरुले बस्ने, पढ्ने, काम गर्ने सबै राम्रो भयो भनिपनि रहेका छन् । पुनर्जन्म भयो पनि भनिरहेका छन् । तर असन्तुष्टी पनि छ । तेस्रो देश जान नचाहेका मान्छे अझै पनि भुटान जान पाउनुपर्छ भनेर यहाँ बसिरहेका छन् । तिनको संख्या अझै साढे ९ हजार छ। नेपालका सरकारी अधिकारीहरूले भने यहीं राख्न चाहेको जस्तो बुझिन्छ। त्यस्तो नहोस्, बाँकीलाई भुटान फर्काइयोस् भन्ने मेरो चाहना हो।  भुटानमा असह्य भएर हिँडेका करिब २५० जना व्यक्तिहरू पनि अहिले नेपालमा लुक्दै हिँडिरहेका छन्। उनीहरू शरणार्थीको रूपमा पनि दर्ता छैनन् । देशविहीन जस्ता भएका छन् । उनीहरू सबैलाई ससम्मान स्वदेश फिर्ता गरियोस् भन्ने हाम्रो चाहना हो। 

तपाईंलाई त शरणार्थी नेता भन्छन् तर, जनता अर्थात् शरणार्थी तेस्रो देशमा गएपछि त तपाई जनता बिनाका नेता जस्तो पो हुनुभयो त होइन ?
म नेता होइन । मेरो राजनीतिक पार्टी पनि छैन । म त मानवअधिकारको सम्मान हुनुपर्छ भन्ने अभियन्ता हो । भुटानमा जातको आधारमा मान्छेलाई थुन्न पाइन्न, उनीहरूलाई धपाउन पाइँदैन भन्ने मान्छे हो । भुटान भित्र सुधार हुनुपर्छ भनेर अभियान चलाएको मान्छे हो । भुटान सरकारले नेपाली भाषामा बोलेको आधारमा नै ल्हाेत्साम्पा (नेपाली भाषी)लाई लखेट्न पाइँदैन भन्ने मान्छे हुँ । उनीहरूलाई स्वदेश फर्काउनुपर्छ भन्ने मान्यता हो । 

अब भुटानले फर्काउला र बाँकी शरणार्थीलाई ?
फर्काउनुपर्ने हो । विश्वले नै यसकुरामा दबाब दिनुपर्छ र फर्काउनुपर्छ । कसैका दाजुभाइ उता छन्, अरू नातेदार  यता छन् । धनसम्पति उता छ , मान्छे यता छन् । यस्तो त हुनुभएन नि । विश्वले हेरिदिनुपर्‍यो। 

भुटानको जेलमा चाहिँ ल्हाेत्साम्पाहरु कति छन्, यहाँलाई थाहा छ ?
७० जना त मैले चिनेका मान्छे नै छन् । अरू कति छन् त्यो त मलाई पनि थाहा छैन । कसैलाई बाँधेर राखेको छ । कसैलाई जङ्गलमा राख्ने चलन छ। कसैलाई राजाको दाउरा चिर्न लगाएर राखिएको छ रे । कतिलाई मारियो पनि होला । तारा गौतम लगायतका १५ जनालाई मुखमुखै लागे भनेर म जेलमा भएकै बेलामा अन्तै कता लगेको थियो । उनीहरूको अझैपनि अत्तोपत्तो छैन । त्यसैले यति नै छन् भनेर अहिले भन्न सकिँदैन । 

भुटान सरकारका कुनै निकायसँग तपाईँको अहिले सम्पर्क छ कि छैन ?
छैन । उताको समाचार चाहिँ कहिलेकाहीँ भागेर यहाँ आइपुग्ने मान्छेले सुनाउँछन् । सरकारी निकायसँग कुनै सम्पर्क  छैन । 

तपाईँलाई पहिला भुटानमा भारतको मान्छे भन्ने आरोप पनि रहेछ होइन ?
हो । त्यस्तो निराधार आरोप पनि लगाएका रहेछन् तर त्यो गलत हो ।

भारत सरकारका कुनै निकायसँग वा काठमाडौंस्थित भारतीय दूतावाससँग शरणार्थी मामिलामा कुनै कुरा भएको छ ?
छैन । उनीहरूले यो बारेमा कुरा गर्न नै चाहँदैनन् । शरणार्थी शिविरमा सबै देशका राजदूतहरू गइसके तर भारतका राजदूत अहिलेसम्म गएका छैनन् । एक पटक तत्कालीन राजदूत शिवशंकर मुखर्जीसँग एउटा विवाहको कार्यक्रममा भेट भएको थियो । म यहाँसँग कुरा गर्न चाहन्छु भनेको थिएँ । हुन्छ मेरो दूतावासमा कुरा गरेर समय लिएर भेट्न आउनु न भनेका थिए । पछि माग्दा समय नै दिइएन । 

नेपाल सरकारसँग पछिल्लो अवस्थाको बारेमा कुरा भएको छ ?
प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेलामा कुरा राखिदिन आग्रह गरुम् भनेको उहाँहरूले समय दिनु भएको छैन। अझैपनि भेट्न समय मागिरहेको छु । परराष्ट्र मन्त्रालयमार्फत् एउटा समिति बनाएर बाँकी रहेका शरणार्थीलाई के गर्ने भन्ने बारेमा निर्णय हुन्छ रे भन्ने सुनेको छु ।

अहिलेसम्म भारतले केही चासो नदिएको अवस्थामा  तपाईँले कसरी अहिले केही होला भन्ने ठान्नुभयो ?
अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगतको सरकारको भन्दा कतिपय कुरा नयाँ हिसाबले गर्न चाहिरहेको जस्तो देखिएकोले उहाँले भुटानको समस्याका बारेमा पनि केही बोलिहाल्नुहुन्छ कि गर्दिहाल्नु हुन्छ कि भनेर प्रयास गरेको हो । 

नेपाल सरकारका मान्छेले चाहिँ किन भेट नदिएको जस्तो लाग्छ त ?
होइन अहिलेको सरकारले त भारतलाई अप्ठेरो पर्ने कुरा गर्नै नचाहेको जस्तो देखिन्छ । यो सरकार त वैशाखको गर्मीमा आहाल बसेको भैँसी उठ्नै नमानेको जस्तो पो गरिरहेको छ । वैशाखमा आहाल बसेको भैँसीलाई गर्मी हुने भएकोले जति उठ् भने पनि उठ्दैन । त्यस्तै जस्तो लाग्यो । 

तपाई त तत्कालीन भुटानी राजा जिग्मे सिंगे वाङचुकको सल्लाहकार पद रोयल एडभाइजरी काउन्सिलर भइसकेको मान्छे कसरी राजासँग सम्बन्ध बिग्रियो?
जातीय हिसाबले उनीहरूले एक्सन लिन खोजे । मैले असन्तुष्टी पोखेको हो । अरू केही पनि भएको थिएन । 

भुटानका रानीहरू र राजाका बहिनीहरूसँगको तपाईँको सम्बन्धले अप्ठेरो परेको  भन्ने किस्सा पनि सुनिन्छ नि ?
रानीहरूसँग मेरो बोलचाल पनि थिएन ।  बहिनीहरूसँग चाहिँ चिनजान हो । तर, मैले केही गरिन । लक्ष्मी माता जस्तो मानेको हो ।  मैले केही गर्‍यो भन्ने कुरा हावादारी कुरा हो । 

अहिलेका राजा त भर्खर जन्मिएका थिए होला । तपाईँको चिनजान थियो ?
अहिलेका राजा जिग्मे खसेर नाम्ग्याल वाङचुक त यतै स्वयम्भुतिर जन्मेका हुन् भन्ने सुनेको हो । यी जन्मेको त मलाई थाहा पनि भएन ।
 
शरणार्थी सम्बन्धी यहाँहरूका अनेक संस्था छन्। सबै किन एकढिक्का भएर नलागेर  फुट्नु परेको ?
हेर्नुस् यहाँ पनि अनेकथरी मान्छे छन् । एकथरी मलाई धम्क्याउने छन् । सधैँ आन्दोलनको लागि भनेर मलाई पैसा लेउ भन्छन् मैले कहाँबाट ल्याएर पैसा दिनु ? त्यसैले म सँग रिसाएका छन् । कतिले त मलाई यति नदिए मार्छु समेत भनेका छन् । नभएको पैसा कहाँबाट दिनु भनेर चुप लागेर बसेको छु ।

तपाईँले नेपाल सरकारबाट पनि रकम लिनु हुन्छ हो?
सरकारबाट होइन मलाई सहानुभूति राख्ने केही नेताहरूले मेरो चुल्हो बलोस् भनेर केही पैसा दिनुभएको हो । तर, शरणार्थी फिर्ती अभियानको लागि नेपाल सरकारले दिएको रकम मैले लिएँ र उनीहरूलाई दिइनँ भनेर मलाई गलत आरोप लगाइएको छ ।

तपाईँलाई सरकारले सुरक्षा व्यवस्थापनि गरेको छ होइन ?
थियो । तर, अहिलेको सरकारले हटाइदियो । त्यसैले मलाई कहिले के हुने हो भनेर असुरक्षित महसुस गरिरहेको छु । सरकारका तर्फबाट केही पनि लिएको छैन । 

दैनिक गुजारा कसरी चलेको छ त?
सबैसँग हात पसारेर खानुपर्ने अवस्था छ । जीविका चलाउन गाह्रो भएको छ ।

तपाईँले सन् २००७बाट सुरु भएको तेस्रो देशमा लाने अभियानको विरोध गर्नुभयो । तर, छोराहरू चाहिँ पठाउनुभयो विरोधाभास भएन?
हो, मेरा छोरा बुहारी अहिले क्यानडामा छन् । उनीहरूको स्वतन्त्रताको कुरा हो ।

उनीहरूले पैसा पठाउँदैनन्?
पठाएका छैनन्। 

बाहिर जानेले स्वदेश फिर्तीको लागि केही अभियान चलाएका छन् कि ?
छैन । उनीहरूले बिर्सिसके जस्तो लागिसक्यो ।

अबको तपाईँको अभियान के त ?
स्वदेश फिर्ता हुन पाइयोस् भन्ने नै हो ।
 
तपाईँलाई एकथरीले रिजालजीले यहीँको नागरिकता लिइसके भन्ने आरोप पनि लगाउँछन् त सत्य हो र ?
गलत कुरा । मेरो ज्यान कसैले लियो भने यस्तै गलत कुरा गर्ने मान्छेले हो भन्ने ठान्नुहोला ।

नागरिकता लिएको छैन भन्नुभयो अनि कसरी बिर्तामोडमा जग्गा लिएर घर बनाउनुभयो त ?
हेर्नुस्, त्यो सबै कौशिलाको आमा (सासू)ले किनिदिनुभएको हो। मैले नागरिकता लिएर होइन। 
 



मोदीले केही गर्दिन्छन् कि भन्ने आश छ : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल को लागी १ प्रतिक्रिया(हरु)

N B Giri [ 2018-05-02 18:26:15 ]
नेताजीकाे कार्य काैशलता र बिवेकशील नेतृत्वकाे सच्चार्इ यही देखिन्छ, माछा छेउमा अाउदां जाल फिजाउने हाम्रा अग्रजहरू यस्तै गरेर उल्झनमा परेका छन् । धेरै के भनुँ कुरा स्ष्पट छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट