PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कम्युनिस्ट पार्टी स्थापना दिवस: निकालिएको ब्यानर नै राखेर कार्यक्रम शुरु



विधुर ढकाल

कम्युनिस्ट पार्टी स्थापना दिवस: निकालिएको ब्यानर नै राखेर कार्यक्रम शुरु

काठमाडौं: लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम पुरानै ब्यानर राखेर सञ्चालन गर्ने तयारी भएको छ। मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएपछि कार्यक्रम शुरु हुनै लाग्दा उक्त ब्यानर निकालिएको थियो।

विवादपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पुरानै ब्यानर राख्ने र मञ्चमा लेनिन र मार्क्सको फोटो राख्ने सहमति भएको छ। त्यसैगरी दुई अध्यक्षबीच पुरानो ब्यानरको दुईतिर लेनिन र मार्क्स अंकित नयाँ ब्यानर राख्ने सहमति भएपछि कार्यक्रम सुरु हुने भएको छ।

पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि  नेकपा एमालेका अध्यक्ष ओली र  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताको संदेश दिने तयारी रहेको छ। 

एकताको सन्देश दिने कार्यक्रमको शुरुमै ठूलो संख्यामा रहेका कार्यकर्ताहरु मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए। १२ बजे सुरु हुने भने पनि ४ बज्न लाग्दा बल्ल कार्यक्रम सुरु हुन लागेको छ। 

ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग ओली र प्रचण्डको फोटो छ। ब्यानरमा मार्क्स र लेनिनको नभएको भन्दै कार्यकर्ता आक्रोशित भएका थिए। लेनिन जयन्तीमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर नहुनुमा आपत्ती जनाएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell