PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यातायात व्यवसायीसँग हिजो नरम देखिएका मन्त्री महासेठ आज आक्रमक!



दिनेश खड्का

यातायात व्यवसायीसँग हिजो नरम देखिएका मन्त्री महासेठ आज आक्रमक!

काठमाडौं : भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलार्इ तत्काल आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।

शुक्रबार महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले आजै पत्रकार सम्मेलन गरेर हडतालका सबै कार्यक्रम फिर्ता लिन भनेका हुन्। बन्द फिर्ता लिएमात्रै निर्देशिका संशोधनका बारेमा छलफल गर्न सकिने उनले प्रस्ट्याए। बिहीवार सफ्ट रहेका महासेठ शुक्रबार भने यातायात व्यवसायीसँग आक्रामक देखिएका हुन्। बिहीबार प्रधानमन्त्री केपीशर्मा ओलीले महासेठलार्इ भेट्न बोलाएका थिए। त्यो भेटपछि महासेठ आक्रामक रुपमा प्रस्तुत भएका हुन्। बिहीबार उनले सरकार र व्यवसायी नङ र मासुको सम्बन्ध रहेको भन्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका थिए।

 ‘मन्त्रीपरिषदबाट नै निर्णय भएकाले सबै यातायात व्यवसायी कम्पनी ऐनमा आउनुको विकल्प छैन,’उनले भने, ‘हामीले चाहेको भए एकै दिनमा यस्तो व्यवस्था गर्न सक्थ्यौं। यातायात क्षेत्र अस्तव्यस्त नहोस भनेर तीन महिनाको समय दिएका हौं।’

उनले छिमेकी मुलुक बंगलादेश, पाकिस्तान लगायतका देशमा समेत कम्पनी ऐन अन्तर्गत सार्वजनिक यातायात सञ्चालन भएको बताउँदै कम्पनीमा गाडी चलाउँदा समिति भन्दा सहज हुने बताए। ‘कम्पनीमा जान तपाईँहरुको समस्या के छ? जनताको सरकार भएकाले हामी वार्ताबाट समस्या समाधान गर्न चाहन्छौं। तर, पहिला बन्द फिर्ता लिनुहोस्,’ उनले भने।

सरकारले चैत १८ गते ‘यातायात व्यवस्थापन कार्यविधी निर्देशिका’जारी गर्दै देशभरबाट सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कम्पनीको मोडलमा जानुपर्ने विषयमा आन्दोलन गर्न नलागेको बताउँदै आन्दोलनको मुख्य कारण निर्देशिका भएको बताए। उनले निर्देशिका खारेज गरे आन्दोलनका कार्यक्रम फिर्ता लिने बताए।

मन्त्री महासेठले जारी भएको निर्देशिका फिर्ता नहुने अडान दोहोर्याए। ‘हामीले जारी गरेको निर्देशिका गीता, बाइबल, रामायण जस्ता कुनै परिवर्तन नै गर्न नमिल्ने धर्मग्रन्थ होइनन्। तपार्इँहरु सबै बन्द र हड्तालका कार्यक्रम फिर्ता लिनुस् निर्देशिकामा तपार्इँका उपयुक्त मागका संशोधन गर्छौ,‘ उनले भने। महासेठले यातायात व्यवसायीले सहज सेवाका लागि सुधारका कार्यक्रम ल्याउन लागेको बताए।

‘मैले तपार्इँहरुकै सुविधाका लागि अब घर नजिकैको बैकबाट नवीकरण लगायतको शुल्क तिर्ने व्यवस्था मिलाउन लागेको छु,' उनले भने, 'यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन नीतिगत कमजोरीका बारेमा अध्ययन गरेर सुधार गर्दैछु।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell