PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उड्न तयार भएको मालिन्दो एयर कसरी चिप्लियो रनवेबाट? विमान दुई फिट तान्दा डोरी नै चुँडियो



वसन्तराज उप्रेती

उड्न तयार भएको मालिन्दो एयर कसरी चिप्लियो रनवेबाट? विमान दुई फिट तान्दा डोरी नै चुँडियो

काठमाडौँ : मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टादेखि बन्द छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हिजो रातिदेखि नै विमानलाई रनवे अवरुद्ध नहुने गरी निकालेर पार्किङ स्थलमा राख्ने प्रयास जारी छ। 

ठाकुरका अनुसार पाइलटले टेकअफ गर्न लाग्दा प्राविधिक समस्या आएको थाहा पाएपछि बोइङ ७३७-९०० विमान रोक्ने प्रयास गरेका थिए। तर जहाजले गति लिइसकेको हुँदा रनवेबाट बाहिर गएर भासिन पुग्यो। 

रनवे अवरुद्ध भएको हुँदा राति नै विमानलाई पार्किङ एरियातर्फ तान्ने प्रयास भएको थियो। 

'नेपाल वायुसेवा निगमको दुई वटा पुस ब्याक भेहिकलले फलामको डोरी प्रयोग गरी तान्ने प्रयास गरेका थियौँ ', बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ठाकुरले भने, 'राति दुई फिट तान्दा डोरी नै चुँडियो। त्यसपछि आज बिहान ८ बजे नेपाली सेनाले डोरी ल्याएर तान्ने काम थालनी भएको छ।'

ठाकुरले आफूहरुसँग यसरी विमान निकाल्नका लागि उपकरण नै नभएको पनि बताए। 

यसअघि तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थलको रनवे अवरुद्ध हुने गरी दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट बोकेर आउनु परेको थियो। त्यतिबेला विमानस्थल चार दिन बन्द गर्नुपरेको थियो। 

हिजो राति पानी पनि परेको र जहाज माटोमा भासिएको हुनाले अहिले टोबार र जेसिबीले तानिरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। 

'विमानलाई गाडी जस्तो तान्न मिल्दैन, सकुशल निकाल्नुपर्ने हुनाले अलिक समय लाग्छ', उनले भने। 

उनका अनुसार ककपिटमा डिस्प्ले राम्रोसँग नदेखिएको कारण पाइलटले जहाज रोकेका थिए। हाल विमान रनवे ०२ को करिब ४० मिटरमा रहेको घाँसे मैदानमा चक्का भासिएको अवस्थामा छ।


अहिले नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तान्ने प्रयास गरिरहेका छन्। 

रनवे अवरुद्ध भएका कारण हिजो राति काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली, चाइना सदर्नको कोलकाता र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell