
क्रिस्टोफर हेनरी गेलले नटआउट सेन्चुरी प्रहार गरेको खेलमा किंग्स ११ पञ्जावले आइपीएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।
बिहीवार भएको खेलमा पञ्जावले हैदरावादलाई १५ रनले पराजित गर्दै हैदरावादको अपराजित यात्रा तोडेको हो।
पञ्जावको जितपछि कोलकता नाइट राइडर्स, पञ्जाव र हैदरावादको समान ६ अंक छ। तर रनरेटमा कोलकता शीर्ष स्थानमा छ भने हारपछि हैदरावाद दोस्रोमा झरेको छ। पञ्जाव भने तेस्रो स्थानमै यथावत छ।
घरेलु मैदान मोहलीमा टस जितेर पहिले ब्याटिङ गर्ने कप्तानको निर्णयलाई क्रिस गेलले सहि सावित गर्दा पञ्जावले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। ओपनर गेलले पुरा खेल अवधी 'ब्याट क्यारी' गर्दै नटआउट १०४ रन बनाए। ६३ बल खेलेका गेलले ११ छक्का र १ चौका प्रहार गरे। हैदरावादको सबैभन्दा मंहगा बलर बनेको रसिद खानलाई गेलले १६ बलमा ४१ रन हानेका थिए।
यस सिजन शतक प्रहार गर्ने गेल पहिलो खेलाडी हुन्। सुरुवाती दुई खेल खेल्न नपाएका गेलले पछिल्लो दुई खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै पञ्जावलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। गेलले आइपीएलमा सर्वाधिक ६ शतक प्रहार गरिसकेका छन्।
यस्तै करुण नायरले २१ बलमा ३१ रन जोडे। ओपनर लोकेश राहुल र मायांक अग्रवालले समान १८ रन बनाए।
ओपनर शिखर धवन रिटायर्ड हर्ट भएपछि १९४ रनको उच्च लक्ष्य पछ्याएको हैदरावादलाई सुरुमै जड्का लाग्यो। धवन खाता नखोल्दै बाहिरिए। हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।
हैदरावादका लागि मनिस पाण्डे र कप्तान केन विलियमसनले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। पाण्डेले ४२ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए। यस्तै विलियमसनले ४१ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए। शकिब अल हसन २४ रनमा नटआउट रहे। बलिङमा पञ्जावमा मोहत शर्मा र आन्द्रे त्येले २-२ विकेट लिए।