PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेविसंघ काफ्ले पक्षको शुभकामना लैनचौरमा, प्रकाशमानले भने : पार्टीमा 'डिबेट' नै गर्न नमिल्ने अवस्था आयो



पहिलोपोस्ट

नेविसंघ काफ्ले पक्षको शुभकामना लैनचौरमा, प्रकाशमानले भने : पार्टीमा 'डिबेट' नै गर्न नमिल्ने अवस्था आयो

काठमाडौं : नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीमै दुई स्थानमा शुभकामना कार्यक्रम आयोजना भयो।

नेविसंघ अध्यक्ष नैनसिंह महर पक्षले त्रिचन्द्र कलेजमा शुभकामना कार्यक्रम आयोजना गर्‍यो। यता महामन्त्री कुन्दनराज काफ्ले समूहले लैनचौरस्थित लैनचौर बैङ्क्वेटमा 'नेपाल विद्यार्थी संघ र वर्तमान दायित्व विषयक गोष्ठी र शुभकामना कार्यक्रम आयोजना गर्‍यो।

त्रिचन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने लैनचौरमा केन्द्रीय सदस्य प्रकाशमान सिंह।

लैनचौरको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीमा प्रजातान्त्रिक तवरले डिबेट नै गर्ने नमिल्ने अवस्था आइसकेको बताए। 'पार्टीमा प्रजातान्त्रिक डिबेट नै गर्न नमिल्ने अवस्था आइसक्यो। गल्ती गर्नेले गल्ती गर्ने अनि पार्टीले मार खाने। यसो भयो भन्दा भन्नै नपाउने अवस्था छ,' नेता सिंहले भने।

कार्यक्रममा उनले कांग्रेस विधिसम्मत चलेमात्र नेविसंघ राम्रोसँग चल्ने बताए। यसका लागि अब नेविसंघले आगामी महाधिवेशनको तयारीमा लाग्न सुझावसमेत दिएका थिए।
     
निर्वाचनको पूर्व तयारी अहिलेबाट नै गर्नुपर्ने बताउँदै नेता सिंहले समृद्धिको अभियान कांग्रेसकै काँधमा आउने दाबीसमेत गरे। भने, 'कम्युनिस्टले समृद्धिको अभियान थालेका छन्, यो अभियान पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा आउँछ। अहिलेबाटै तयारी थालौं। मेहेनत गरौँ। पार्टी लाई ठीक ठाउँमा ल्याउन संस्थागत बनाएमात्र ठीक ठाउँमा आउँछ।'

कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले सामुदायिक स्कुललाई बलियो बनाउन लाग्न नेविसंघ लाग्नुपर्ने सुझाव दिए। त्यसै गरी कांग्रेस नेता उमेशजंग रायमाझीले नेविसंघलाई हजुरबाहरुको संगठन बनाउन नहुने धारणा राखे। केन्द्रीय सदस्य कल्याण गुरुङले सामान्तवादको विरुद्धमा नेविसंघ लड्न सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell