PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री वाङद्वारा त्रिदेशीय साझेदारीका लागि भारतलाई आह्वान



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री वाङद्वारा त्रिदेशीय साझेदारीका लागि भारतलाई आह्वान

काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग त्रिदेशीय साझेदारीका लागि आह्वान गरेका छन्। बेइजिङ भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री यीले यस्तो बताएका हुन्।
 
उनले नेपाल भारत र चीनको साझेदारीका लागि प्राकृतिक क्षेत्र रहेको भन्दै भारतलाई तीन देशबीचको कनेक्टिभिटी प्रोजेक्टमा सहभागी हुन आह्वानसमेत गरे। 

नेपालले पटकपटक त्रिदेशीय साझेदारीको कुरा उठाउँदै आएको छ। यस्तोमा बेइजिङबाट त्रिदेशीय साझेदारीको कुरा आउनु नेपालका लागि सुखद् पक्ष हुन सक्छ।
 
भुपेरिवेष्ठित देश नेपाल व्यापारमा परम्परागत रूपमा भारतमा आश्रित रहँदै आएको छ। पछिल्लो समय भारतमाथिको परनिर्भरता अन्त्यका लागि नेपालले चीनसँग व्यापार तथा पारवहान सन्धी गरेको छ। 

दुई वर्ष अगाडि प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गरेका केपी शर्मा ओलीले चीनसँग भारतीय व्यापार तथा परनिर्भरता अन्त्यका लागि पारवहान सन्धिमा हस्ताक्षर गरेका थिए। 

पछिल्लो समय चीन र भारतबीचको सम्बन्ध मनमुटावमा गुज्रिरहेका बेला चिनियाँ विदेशमन्त्रीबाट यस्तो धारणा आएको हो। 

विदेशमन्त्री यीले नेपाल चीन र भारतबीच सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्नुपर्नेसमेत बताए।
 
‘म विश्वास गर्छु कि चीन, नेपाल र भारत प्राकृतिक मित्र तथा साझेदार हुन्। हामी एउटै हिमाल र एउटै नदीले जोडिएका छिमेकी हौँ,’ उनले भने, ‘नेपालको विकासमा सहयोग पुर्‍याउनका लागि चीन र भारतबीच समान बुझाइ हुन आवश्यक छ।’ 

उनले चीन र भारतबीचको साझेदारीको फाइदा नेपालले पनि पाउनुपर्ने बताए। प्राकृतिक रूपमा नेपाल दुई देशबीचको साझेदारीबाट फाइदा लिने स्थानमा छ। 

‘नेपालको यो चाहना तर्कसँगत पनि छ, नेपालको विकासमा भारत र चीनको सहयोग आवश्यक छ।’
 
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत दीर्घकालीन महत्त्व राख्ने ‘क्रस हिमालय कनेक्टिभिटी नेटवर्क’मा नेपाल र चीनले हस्ताक्षर गरेको भन्दै विदेशमन्त्री यीले, अगाडि भने, ‘हामी यस्ता साझेदारीमा विश्वास गर्छौँ। यो साझेदारी विकासका लागि महत्त्वपूर्ण छ र चीन र भारतको बीचमा नेपाल आर्थिक कोरिडोरको रूपमा स्थापना हुन सहयोग गर्छ।’ यीले यसले तीनै देशको आर्थिक विकास र समृद्धिमा समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएको साता दिनपछि नेपालका परराष्ट्रमन्त्री नेपाल सकारको सन्देश बोकेर बेइजिङ पुगेका हुन्। मंंगलवार बेइजिङ पुगेका ज्ञवालीले बुधवार बिहानै चिनियाँ उपराष्ट्रपति वाङ क्यूसानसँग समेत शिष्टाचार भेट गरेका थिए। 

भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले दुई देशबिच क्रस बोर्डर रेलवे लिंकको सम्भाव्यता अध्ययन सुरु गर्न समेत सहमति जनाएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालबाट रेलमा चीन जाने आफ्नो चाहना रहेकोसमेत बताएका थिए।

*(परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ हुनुपर्नेमा चिनियाँ विदेशमन्त्रीको भएकाले सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell