PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम'



दिनेश खड्का

सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम'

काठमाडौँः महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ।

पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्‍याएकाले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशीघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।


सडक विभागका अनुसार परामर्शदाता कम्पनीको सुझाव अनुसार पुल नबनाएको, कमजोर कंक्रिट र पिल्लर बनाएका कारण नजिता कमजोर भएको हो। पुल भाँच्चिएपछि विभागले त्यसको भुक्तानी रोकेको थियो। पप्पुले भुक्तानी पाउनुपर्ने भन्दै मुद्दा समेत दायर गरिसकेको छ।

महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षणको सिलसिलामा २०७४ माघमा स्थलगत अवलोकन गर्दा एउटा पिलर जमिनमा धस्सिएको र अन्य केही पिल्लर बाङगिएको पाइएको छ। त्यसै गरी पुलका केही स्ल्याव छुट्टिएको र पुलको माथिल्लो सतह तलमाथि भर्इ पुल प्रयोग गर्न नहुने अवस्थामा रहेको, निर्माण कार्य सम्पन्न हुनै लागेको पुल क्षति हुनुमा सम्बन्धित पदाधिकारी पहिचान गरी जिम्मेवार गराइएको पाइएन भनी उल्लेख गरिएको छ।

डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनका वीचमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६८ असार २२ गते सम्झौता भएको थियो। १६ करोड ६८ लाख रुपैयाँमा खरिद सम्झौता भएकोमा १९ करोड ७५ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ।


समयमै आयोजनाको काम नसकिने भएपछि पूर्व निर्धारित क्षतिपूर्ति लिनेगरि २०७३ कार्तिकसम्म म्याद थप भए पनि असुल गर्नुपर्ने १ करोड ६६ लाख ८० हजार  रुपैयाँ क्षतिपूर्ति असुल नगरिएको पाइएको छ।

त्यसै गरी महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुर्खेतको भेरी नदी पुल लामो समयसम्म पनि निर्माण सुरु नभएको उल्लेख गरेको छ। यो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ।

२२.५६ प्रतिशत खर्च भएको भए पनि निर्माण कार्यको कुनै प्रगति देखिएको छैन। यो वर्ष कुनै काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०६९ सालमा सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरी २०७२ साल पुसमा निर्माण कार्य सक्ने लक्ष्य भए पनि अझै निर्माण कार्य थालिएको छैन।

त्यसै गरी सिरहाको गिदेरी खोला पुल सम्झौता भएको तीन वर्षमा बल्ल करिब १४ प्रतिशत मात्रै काम भएको। ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ। सडक विभागको अनुसार करिब छ किमी सडक पुल आयोजनाको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। पप्पु कन्स्ट्रक्सनका जिम्मा पाएर निर्माण थालेका अधिकांशमा पुलमा समस्याहरू हुने गरेका छन्। अधिकांश पुल आयोजनामा अर्को कम्पनीसँग मिलेर जोइन्ट भेन्चर बनाएर काम गर्ने गरेको छ। जोइन्ट भेन्चरमा काम गरे पनि दुबै कम्पनीको जिम्मेवारी बराबर हुने गर्छ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रूपमा आलोचित बन्दै आएको छ पप्पु कनस्ट्रक्सन। सडक विभागका अधिकारीहरू नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसूचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेका छैनन्। पप्पु कन्सट्रक्सन सांसद हरिनारायण रौनियारको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell