PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टाइट सेड्युलमा स्पोर्टस् : खेलहरुको भेलमा यसरी हेलिँदैछ नेपाल



गोविन्दराज नेपाल

टाइट सेड्युलमा स्पोर्टस् : खेलहरुको भेलमा यसरी हेलिँदैछ नेपाल

काठमाडौं : २०७४ मा नेपालले क्रिकेटको वान डे इन्टरनेशन ओडीआई स्ट्याटसको मान्यता पायो। पहिलो पटक हात पारेको उक्त सफलता नेपाली क्रिकेटको लागि ऐतिहासिक थियो। यस्तै २०७४ सालमा भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पायो।

फुटबलमा भने नेपालले सफलता हात पार्न सकेन। मैदान भित्रको खेलसँगै मैदान बाहिर पनि खेलकुदमा धेरै उतारचढाव आए गत वर्ष। संघको विवाद, फुटबलको लिग गर्न नसक्‍नु, क्यान निलम्वनको विवाद कायम, भौतिक पूर्वाधारमा कछुवा गतिको प्रगतिले निराशाजनक अवस्था दियो।
२०७४ सालमा हात पारेको सफलतालाई बचाइराख्ने र कायम रहेका विवाद अन्त्य गर्ने चुनौतीसँगै पूर्वाधारमा सुधार २०७५ सालको दायित्व बनेको छ।

२०७५ सालमा नेपालले ३ ठूला खेल मेलामा प्रतिस्पर्धा गर्दैछ। एसियाली खेलकुदका लागि इन्डोनेसिया जाने नेपालले दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद आयोजना गर्दैछ। अनि तीन मुख्य खेल क्रिकेट, फुटबल र भलिबलमा पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दैछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले त २०७५ साललाई स्वर्णकाल नै बनाउने उद्‍घोष गरिसकेका छन्। त्यसका लागि गर्नुपर्ने कायम भने धेरै नै छ।

२०७५ सालमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा धैरै प्रतिस्पर्धा गर्ने वर्षको रुपमा रहनेछ।

एसियाको ओलम्पिक मानिने एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद, क्रिकेटमा वर्ल्ड टी-२० क्वालिफायर र लर्ड्समा ट्राई सिरिज अनि एसिया कप छनोट, फुटबलमा साफ च्याम्पियनसीप तथा राष्ट्रिय खेल भलिबलमा एभिसी एसियन सेन्ट्रल जोन भलिबल यही वर्ष आयोजना हुँदैछ। यी सबैमा नेपालले दाबेदारी प्रस्तुत गर्नेछ।

अझ दक्षिण एसियाली खेलकुद नेपालले आफै आयोजना गर्दैछ। त्यसका लागि भौतिक पूर्वाधारदेखि खेलाडी छनोटसम्मको काम गर्नुपर्नेछ।
यसले गर्दा २०७५ मा नेपाली खेलकुद क्षेत्र पूरै व्यस्त रहनेछ।

यस्तो छ २०७५ सालमा नेपाली खेलकुदको तालिका -

मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप 

यही वैसाख दोस्रो साता नेपालले बंगलादेशमा चौथो एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप खेल्दैछ। गत वर्ष राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाली राष्ट्रिय भलिबल टोलीले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। सुरुको दुई संस्करणमा पदक विहीन बनेको नेपालले २०७३ चैतमा मादिल्भसमा कास्य जित्दै सफलता चुमेको थियो।

उक्त सफलतालाई कायम राख्दै पदक जित्ने लक्ष्यका साथ नेपाली टोली बंगलादेश जाँदैछ। च्याम्पियनसीप वैसाख ८ देखि १६ गतेसम्म सञ्चालन हुँदैछ। 

लर्ड्समा ट्राई सिरिज

गत वर्ष ओडीआई स्ट्याटस पाए नेपाली क्रिकेट टिमले यस वर्ष पहिलो प्रतियोगिताको रुपमा इंगल्याण्डको लर्ड्स क्रिकेट मैदान टी-२० ट्राई सिरिज खेल्दैछ। आगामी साउनमा नेपालसहित नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसीसी सम्मिलित ट्राई सिरिज हुन लागेको हो।

नेपालले यसअघि लर्ड्समै एसमीसीसँग ५० ओभरको खेल खेलिसकेको छ। नेपालले साउन १३ गते सिरिज खेल्दैछ। तीन वटै खेल सोही दिन हुने एसमीसीले जनाएको छ।

एसियन गेम्स

एसियाको सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्सको १७औँ संस्करण भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुँदैछ। राजधानी जाकार्ता र पालेमबाङमा हुने खेल मेलामा ४० खेलका ४६२ इभेन्ट्स समावेश छन्। तर, नेपालले कति खेलमा प्रतिस्पर्धा गर्ने र कति खेलाडी समावेश गर्ने निर्णय भइसकेको छैन।

सन् २०१४ मा दक्षिण कोरियामा भएको १६औं एसियन गेम्समा नेपालले एक कास्य मात्र जितेको थियो।

एसिया कप छनोट क्रिकेट 

नेपालले भदौमा एसिया कप क्रिकेटको छनोट प्रतियोगिता खेल्नेछ। छनोटमा शीर्ष हुने टिमले टेष्ट प्लेइङ नेशनसँग एसिया कप खेल्ने अवसर पाउनेछ।

भारतमा हुने भनिएको एसिया कप छनोटमा नेपालसँगै युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। एसिया पक छनोटमा युएईसँगको खेल नेपालको पहिलो ओडीआई मान्यता प्राप्त खेल समेत हुनेछ। 

यस प्रतियोगिताको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान समावेश एसिया कप खेल्नेछ। एसिया कपको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। युएईमा हुने प्रतियोगिता भारत, पाकिस्तान र छनोटको विजेता एकै समूहमा परेका छन्। त्यसैले नेपालले छनोटको उपाधि जित्न सके भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। एसिया कपको आयोजनास्थल भारतबाट युएईमा सरेको छ।

यस्तै एसियन कप छनोटको विजेताले पुसमा हुने एसीसी इमर्जिङ नेशन्स कप पनि खेल्न पाउनेछ।

आठौं राष्ट्रिय खेलकुद 

यसै वर्ष नेपालको बृहत राष्ट्रिय खेलकुद पनि हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंसिरमा आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दैछ। राखेपको १०९ औं बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। आठौँ राष्ट्रिय खेलकुद मध्यपश्चिममा हुनेछ।

साफ च्याम्पियनसीप 

फुटबलमा नेपालले यो वर्ष दक्षिण एसियाली पुटबल साफ च्याम्पियनसिमा प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसीप भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुँदैछ। तेस्रो पटक बंगलादेशमा हुन लागेको च्याम्पियनसीपमा नेपाल र आयोजकसँगै भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसीपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

साग गेम्स 

२०७४ मै नेपालले आयोजना गर्नुपर्ने दक्षिण एसियाली खेलकुदको नयाँ मिति २०१९ मार्च ९ देखि १९ सम्म तोकिएको छ। त्यसको नेपाली मिति २०७५ साल फागुन २५ देखि चैत ४ गतेसम्म हुनेछ। वर्षको अन्त्यमा १३औँ साग गेम्स आयोजना गर्ने भने पनि भौतिक पूर्वाधारमा सुधार गर्नुपर्ने धेरै काम बाँकी छ। राजधानी काठमाडौं र ४ नम्बर प्रदेशमा रहेको पोखरामा साग गेम्स गर्न प्रस्ताव गरिएको छ।

नेपालले तेस्रो पटक साग गेम्सको आयोजना गर्ने अवसर पाएको हो। १९९८ मा पछिल्लो पटक साग गेम्स आयोजना गर्दा दोस्रो भएको नेपालले २० वर्षपछि त्यस्तै अवसर पाउँदा भने सोचे अनुसार तयारी गर्न सकेको छैन।

यसबाहेक नेपालले विभिन्न खेलमा व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछ। 

यस्तै नेपाली क्रिकेट टिमले यसै वर्ष आइसीसी टी-२० वर्ल्ड कप क्वालिफायर समेत खेल्नेछ। तर यसको खेलतालिका सार्वजनिक भने भएको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell