PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेलिब्रिटी सपना : प्रदीपका संघर्षका प्लटहरु



स्वेच्छा राउत

सेलिब्रिटी सपना : प्रदीपका संघर्षका प्लटहरु

२०७२ बैसाख १२ गते भूकम्प गएपछि प्रदीप खड्काको अस्ट्रेलिया जाने प्रक्रिया पनि रोकियो। उनको दिमागमा पनि सानोतिनो भूकम्प नै गयो। परिवार, आफन्त र आफ्नै मनमा प्रश्न थियो - 'अब के गर्ने?' धेरै दिन घरभित्रको घोत्लिएपछि पनि निर्णय गर्न सकेनन्। र, रिफ्रेसमेन्टका लागि घुम्न निस्किए।  कुपण्डोलको एउटा क्याफेमा थिए। 'फिल्म प्रेमगीतको लागि नयाँ अभिनेताको खोजी' शीर्षकको समाचारले उनको ध्यान तान्यो।

'सानो शरीर र एउटा फिल्म फ्लप भएको म। छानिन्छु भन्ने होप नभए पनि निर्माण कम्पनीलाई मेरो केही फोटो र डिटेल इमेल गरेँ,' प्रदीपले सुनाए, 'इमेलको सकारात्मक रिप्लाइ आयो।' 

उनको 'अब के गर्ने?' अन्यौलता पनि दुर भयो। उनी फेरि हिरो बन्ने भए।

सन् २०१६ मा फिल्म रिलिज भयो, चर्चामा आए प्रदीप खड्का। प्रेमगीत सिक्वेलमा पनि उनी नै अभिनेता रहे। ३ वर्षको अवधिमै हिट भए। उनको फ्यान फलोइङ पनि बढ्यो। निर्माता, निर्देशकको रोजाइमा पनि पर्न थाले। उनको नाममा ट्याटु बनाउनेहरु धेरै भए। उनीसँगको फोटो प्रोफाइलमा राख्‍ने त कति कति। कोही भेट्दा रुने त कोही उनीसँगै डान्स गर्न स्टेजमा उक्लने। 

प्रदीप फिल्म प्रचारका लागि झापामा थिए। उनीसँग सेल्फी खिच्ने फ्यानको छुट्टै भिड। उनको आँखा पुग्यो ह्यान्डी प्लास्ट लगाएकी एक युवतीको हातमा। सोधे-के भयो? 

'कन्सर्टबारे थाहा पाएर हस्पिटलबाटै आएको रे। फ्यान बताउने ती युवतीको खुशी ब्यग्र देखिन्थ्यो। जसलाई भेटेर मलाई लाग्यो- मेरो अभिनय मन पराउने कोही दौडिएर मलाई भेट्न आउनु उसको होइन मेरो चाहिँ खुशीको कुरा हो,' उनले सेयर गरे। 

धेरैले प्रदीपलाई सुझाएका थिए - तँ अब हिरो होस् आफैलाई मेनटेन गर्, डिस्ट्यान्स राख्।' तर, प्रदीपले प्रशंसकलाई टाढा राख्न चाहेनन्। 'फ्यानहरुबाट धेरै कुराहरु सिक्दै छु,' सुनाए।

***

'तपाईंलाई सफलताले सिकाउँदैन, तपाईंलाई अवार्डले सिकाउँदैन र सेलिब्रेटीको जीवनले पनि सिकाउँदैन। सिकाउँछ त केवल चोटले, अभावले, गल्तीले र असफलताले। र यो नै सत्य हो,' अमेरिकी अभिनेत्री तथा राजनीतिक अभियन्ता जेन सिमोर फोन्डाको यो अभिव्यक्तीलाई आत्मसाथ गरेका छन् प्रदीपले। 

धेरैलाई लाग्छ सन् २०१५ मा 'प्रेमगीत' डेब्युसँगै चर्चामा आएका हुन् प्रदीप। तर, उनी एकाएक उदाएका स्टार भने होइनन्। चोट, अभाव, असफलता भोगे। तर, पछि हटेनन्। मिहेनत गरे र पाए आजको नाम।
  
टिभी प्रस्तोता बन्न चाहे। स्क्रिनमा बोल्न नजान्नाले मार्केटिङ र पर्दा पछाडि काम गर्न पर्‍यो। 

मोडलिङ गरे- आफू खेलेको भिडियोको नाम समेत लिन लजाउँछन् अहिले।

आफै कार्यक्रम प्रस्तुत गर्न आँटे - प्रायोजकको विज्ञापन टिभीमा बजाउन नमिल्ने भयो।

हिरो बनाउँछु भन्ने निर्देशकसँग वर्षदिन काम सिक्‍न हिँडे- फिल्म नै बनेन।

प्रोडक्सन हाउस खोले- लगानी गरेको पहिलो फिल्म डुब्यो।

आफ्नो दोस्रो फिल्ममा आफै हिरो बने- त्यो पनि फ्लप।

प्लस टू पढ्दादेखिको उनको रहरहरुलाई आकार दिन सक्दो कोशिश गरेका हुन्। तर, समयले साथ दिएन। उनको मिहेनत नै पर्याप्त थिएन सायद। भन्छन्, 'हरेक कुरा ठीक समयमा हुन्छ। र, जे हुन्छ राम्रोको लागि हुन्छ।' 

***

स्क्रिनमा देखिने अवसर पाएको त्यो समय- नेपाल वान टिभीमा 'भुराभुरीको हल्लाखल्ला' भन्ने कार्यक्रम आउँथ्यो। उक्त कार्यक्रमको बिहीवार विशेष अंक 'चकचके'का लागि एकजना बद्‍मास अनि बाठो बालक आवश्यक थियो। कक्षा ७ मा पढ्थे प्रदीप। स्कूलको सबैभन्दा बद्‍मास हुनुले उनलाई टिभीमा काम गर्ने अवसर दियो। बालबालिकामा चर्चामा रहेको उक्त कार्यक्रम प्रदीपको लागि 'धाक'को विषय बन्यो। 'भोज भत्तेरमा जाँदा आफ्ना उमेरका अरु केटाकेटी फोटो खिच्न आए। त्यति खेर मलाई टिभीमा देखिनुको असर अलिकति महसुस भएको थियो,' सुरुवाती दिन सम्झिए उनले।

'मान्छेले चिने, कार्यक्रमको दिन स्कूल पनि जान नपर्ने, अरुलाई जिस्काएरै पैसा पनि पाइने,' प्रदीपले भने, 'मैले त्यो कार्यक्रम निकै इन्जोय गरेँ। कक्षा ९ पढुन्जेलसम्म भुराभुरीको हल्लाखल्लामा काम गरेँ।'

एसएलसी अनि प्लस टू। पढाईमा अब्बल प्रदीपले स्कूल टप गरे। तर, प्लस टूमा म्यानेजमेन्ट पढ्ने भए। उनको एसएलसीको नतिजा र त्यसपछिको निर्णयमाथि प्रश्न उठ्नु स्वभाविक थियो। 

'मान्छेहरुले एसएलसीमा चोरेको आरोप लगाए। प्लस टूमा साइन्स पढ्न सक्दैनस् भने', उनले आफ्नो इखालु बानीको बारेमा पनि खुलेरै भने, 'साइन्स मेरो रुचीको विषय थिएन। तर अरुलाई देखाउनका लागि बिहान प्रसादी कलेजमा म्यानेजमेन्ट र दिउँसो पाटन कलेजमा आइएस्सी पढ्न थालेँ। अहिले मसँग दुईवटै विषयका सर्टिफिकेट्स छन्।'

***

प्लस टूपछि बीबीए, बीबीएपछि एमबीए। पढाईलाई कतै अलमलाएनन्। तर, उनको यात्रा पढाईसँगको मात्र भने थिएन।

प्लस टूपछि टिभी प्रस्तोता बन्ने हुटहुटीले प्रदीपलाई पुन: स्कूल छँदा कार्यक्रममा लग्नेहरुकोमा पुर्‍यायो। 'रहरै रहरले एनटिभी प्लसमा आउने कार्यक्रमको लागि अडिसन दिन पुगेँ। तर, क्यामेरा अगाडि बोल्नै सकिँन', उनले नहिच्किचाई सुनाए, 'त्यसपछि मैले टिभी कार्यक्रम जिन्दगी रक्सको लागि मार्केटिङको काम थालेँ।' 

जिन्दगी रक्समा काम गर्दागर्दै 'खोजी प्रतिभाको'को प्रोडक्सन टिममा काम गर्ने अवसर पाए। तर, उनको रहरसँग परिवार खुशी थिएन। अमेरिकाको भिसा रिजेक्ट हुनु परिवार दु:खी हुनुको कारण थियो। 

'फलानोको छोराले आमाबुबा भेट्न बोलायो रे। कसको छोरीले आइफोन पठाइ रे। मलाई पनि विदेश जान एक किसिमको दवाव थियो। त्यसैले टिभीमा काम गर्दै अप्लाई गरेँ। प्लस टूपछिको पहिलो अप्सन थियो विदेश, दोस्रो बीबीए। टिभी, फिल्म, म्युजिक भिडियो त रहर मात्र।'

टिभीमा प्राविधिक पाटो सम्हालेको केही समयपछि उनको 'प्रेजेन्टर' बन्ने रहर हरायो। र, मन मोडियो मोडलिङतर्फ। म्युजिक भिडियोमा नाच्ने रहर पूरा गरिदिए शैलेन्द्र खोकालीले। जसले उनलाई हर्षिका श्रेष्ठसँग फिचर गराए। जुन गीतको बोल समेत भन्न चाहदैनन् प्रदीप। 'म आफैलाई चित्त बुझेन,' यतिमात्र खुले। 

त्यसपछि त आफै गर्न सकिन्छ भनेर प्रोडक्सन कम्पनी दर्ता गरे। सिजीले नेपाल आइसको विज्ञापन दियो। स्टाइल, टेक्नोलोजी र फिल्मको विषयमा टक सो प्रस्तुत गर्ने योजना थियो। नाम जुर्‍यो 'चेकमेट'। दुर्भाग्य त्यतिखेरै टिभीमा मादक पदार्थको विज्ञापन बजाउन नमिल्ने नियम लागू भयो। 

यो सब भइरहँदा उनको बीबीए पढ्दै थिए। पढाई र मिडिया दुईतिर सम्हाल्न अप्ठ्यारो पक्कै थियो। तर, प्यासन त्याग्न सकेनन्।

निर्देशक रामजी लामिछानेले फिल्म खेलाउँछु भन्ने आश्वासन दिए। त्यसपछि हिरो बन्नतिर मोडिए। झण्डै एक वर्ष काम सिक्ने, शरीर बनाउने बहानामा लामिछानेसँग हिँडे। 'फिल्म बनेन र आफैले फिल्म निर्माणमा हात हालियो', प्रदीपले फिल्म 'ठूलो मान्छे' निर्माण गर्दाको कुरा सुनाए। ३० प्रतिशत लगानी गरे। बाल मनोविज्ञानमा आधारित फिल्मले व्यवसायिक पाटोमा पानी पनि भन्न पाएन। 

दोस्रो पटक अर्को फिल्ममा लगानी गरे। फिल्म 'इस्केप'। आफै हिरो बने। दुर्व्यसनीमा फसेको युवाको कथा। उक्त फिल्मको पोस्टर शहरका भित्ता भित्तामा टाँसियो। हलमा केही सो पनि पायो। तर, हलिउड फिल्म बास्केटबल डायरिजको कथा कपी गरेको आरोप खेप्न पर्‍यो। फिल्म फ्लप भयो। 'आफैलाई ठूलो पर्दामा हेरेँ। आफ्नै पोस्टरसँग फोटो खिचाएँ। रहर पूरा गरेँ', उनी असन्तुष्ट सुनिन्छन्। 

र, घरबाट दवाव आउन थाल्यो। लगानीको लागि लिएको पैसा फिर्ता दिनसक्ने अवस्था रहेन। त्यसमाथि विदेश प्रोसेसिङको खर्च र कलेज फी पनि। 'मैले ममीलाई पनि कन्भिन्स गर्न नसक्ने भएपछि चाहिँ विदेश नै जान्छु भन्ने सोचेँ,' प्रदीप आफ्नो गर्लफ्रेन्डसँग डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तरखरमा थिए। डकुमेन्टेसनको काम सकिनै लाग्दा भूकम्प आयो र प्लान क्यान्सिल। त्यसपछि हो उनी करियरको अन्यौलतामा रुमलिएको। ठीक त्यसै बेला सुदर्शन थापाको फिल्म प्रेमगीतलाई हिरो चाहियो। उनले अप्लाई गरे। र, त्यसयता उनले पछाडि फर्कन परेको छैन।

अमेरिका र अस्ट्रेलिया बाहेक फ्रान्स, डेनमार्क लगायतका केही युरोपियन देशको भिसा अप्लाइ गरेका थिए। तर, अफसोच त्यतिखेर कुनै पनि देशले पत्याएनन्। 'अब अहिले त घर कम विदेश ज्यादा हुन थालेको छ। मैले अभिनय गरेरै यो अवसर पाउँछु भन्ने सोचेको थिइन', सुनाए। उनी खुशी छन् छोटो समयमै चर्चा, मान्छे र निर्माता निर्देशकको विश्वास कमाउनुमा। 'पैसा त कमाइन्छ नै तर जुन माया अनि शुभचिन्तक कमाएको छु यो सबैलाई सामान्य मान्दिन म', उनले भने, 'हजारौंको प्रशंसा र माया एउटा मान्छेलाई मिल्नु असामान्य कुरा हो।' 

प्रदीपको अबको उद्देश्य नेपाली फिल्म बजार बिस्तारमा योगदान पुर्‍याउनु हो। प्रदीप मिडियाबाट दुई फिल्म निर्माण गरेका उनले प्रेमगीत २ मा सेयर होल्डरको हैसियत बनाए। फिल्मको ३० प्रतिशत नाफा उनको पोल्टोमा पर्‍यो। हाल उनको चौथो फिल्म 'लिलिबिली' प्रदर्शनरत छ। फिल्ममा पनि उनी अभिनेता मात्र होइनन्। लिलिबिलीको म्यानमार तथा थाइल्यान्ड प्रदर्शन राइट्स उनले पाएका छन्। प्रेमगीत २ मार्फत् थाइल्यान्ड म्यानमारका नेपाली भाषीको मन जित्नुको गर्व उनको बोलीमा झल्किन्छ, 'भनेँ नि पैसा कमाउनुभन्दा महत्वपूर्ण मान्छे कमाउनु हो। म दर्शकसँग प्रत्यक्ष रुपमा ननजिएको भए ममा त्यताको राइट्स सम्हाल्ने कन्फिडेन्ट कहाँबाट आउनु?' 

खड्‍काको चर्चा नेपाल, थाइल्यान्ड वा म्यानमारमा मात्र सीमित भने छैन। अन्य देशमा रहेका साथीहरुले कहिले काही मेसेज लेख्छन्- 'तिमी मेरो साथी हौ भनेको यताकाले विश्वास नै गर्दैनन्। हामी सँगै भएको कुनै फोटो छ भने पठाउ न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell