PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने?



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने?
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्गमाथि प्रश्न गरेका छन्। एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले रेलमार्गमाथि प्रश्न गरेका हुन्।

थापाले भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको दाबी गरे। भने, 'हामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने, बनाउने भन्दै गर्दा केका लागि बनाउने? भारत र चीनलाई सामान बेच्छौ भन्छौ। भारत र चीनलाई सामान बेच्न नेपालमा बाटो बनाउनुपर्दैन। यो भ्रममा नहोस।'

आफू रेलमार्गको विरोधी नभएको उल्लेख गर्दै थापाले अगाडि भने, 'म जन्मेकै साल २०३३ मा वीपीले युनिभर्सिटीका विद्यार्थीलाई जम्मा गरी भन्नुभएको थियो, सडक बन्यो भन्दैमा विकास भयो भन्ने होइन। तपाईको गाउँमा सामान लिएर आएका ट्रक फिर्ता जाँदा भरी गयो भनेमात्र विकास हो। नेपालमा आउने रेललाई हामी भरेर पठाउन सक्छौ कि सक्दैनौ?'  

दुई देशबीच अर्बौको व्यापार भइरहेको बेला रेलवे र जलमार्ग काम लाग्ने कुरो नभएकोसमेत बताए। 'हान्ड्रेड बिलियन युएस डलरको टार्गेट राखेर व्यापार चलिरखेको बेला यो काम छैन,' थापाले भने। 

कार्यक्रममा उनले कृषिबाट रोजगारी सिर्जना गर्न सक्नुपर्ने र पर्यटन विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो। यसका लागि र्‍याफ्टिङको पनि एउटा आधार भएको उनले बताए। त्यसैगरी उनले समृद्धिका लागि सोच नै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell