PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीलाई साक्षी राखेर मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार!



पासाङ ठकुल्ला

प्रधानमन्त्रीलाई साक्षी राखेर मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार!
Photo: MOWSS

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर मेलम्ची खानेपानी आयोजनाको सुरुङको तेस्रो तथा अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार हुने भएको छ। खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार गरिने बताइन्। 

मंगलबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले दसैँ अगावै जनताको घरघरमा पानी पुर्‍याउने उद्देश्यका साथ मेलम्ची खानेपानी सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको बताइन्। 

प्रधानमन्त्री केपी शर्मा ओली आतिथ्यमा मेलम्ची खानेपानी आयोजना सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको हो। बिहीबार मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धु–ग्याल्थुम खण्डको ७ दशमलव ५ किलोमिटर सुरुङको ब्रेक थ्रु गरिन लागेको मन्त्री मगरले जानकारी दिइन्। 
यसअघि पहिलो पटक सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको ब्रेक थ्रु गरिएको थियो। त्यस्तै सन् २०१७ मा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर सुरुङको ब्रेक थ्रु गरेको थियो। 

‘दसैँ अगाडि नै जनताको घरमा पानी पुर्‍याउने गरी काम भइरहेको छ, केही प्राविधिक कुराहरूको हल गर्न बाँकी छ,’ उनले भनिन्, ‘हामीले खानेपानी आयोजनाको प्रत्यक्ष निगरानी गरिरहेका छौँ, सुरुङ सफा गरिँदै छ।’ 

सन् २०१० को जुनबाट मेलम्ची खानेपानी परियोजनाले खानेपानी निमार्ण सुरु गरेको थियो। ३ वर्षको अवधिमा ६.५ किलोमिटर मात्र सुरुङ खनिएको थियो। 

निर्माण सुस्त भएपछि सरकारले सीआरसीसीसँगको सम्झौता रद्दा गरी नयाँ निर्माण कम्पनी सीएमसी डी रभिनासँग निमार्ण सम्झौता गरेको थियो। 

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सामचन्द्र देवकोटाका अनुसार स्रोत सुनिश्चितामा समय लाग्नु, संविधान जारी भएपछिको भारतीय नाकाबन्दीका कारण परियोजना निमार्णमा ढिलाइ भएको थियो।

परियोजनाको लागि जग्गा अधिग्रहण र मुअब्जा वितरण, भूकम्प र सुरुङ खन्ने पुरानो प्रविधि जस्ता विषयका कारण मेलम्ची ढिलाइ भएको उनले बताए।

२६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भन्दै आगामी २०७५ को दसैँ अघि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउने गरी काम गरेको समेत आयोजनाले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell