PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धार्मिक अस्थिरता निम्त्याउने तत्व सक्रिय: गृहमन्त्री थापा



पहिलोपोस्ट

धार्मिक अस्थिरता निम्त्याउने तत्व सक्रिय: गृहमन्त्री थापा

काठमाडौं:  गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्ला दिनहरूमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन्।

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्य माथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझ्दै उक्त दाबी गरेका हुन्।

ज्ञापनपत्र बुझाउन आएका प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा  दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजविन जारी रहेको बताए।

गृहमन्त्री थापाले घटनामा संलग्नहरूको पहिचान गर्न र कारबाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिईसकेको जानकारी दिए।

उनले भने, ‘जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरूलाई कारबाहीको दायरमा ल्याइनेछ ।'

गृहमन्त्री थापाले घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने वचनसमेत दिए।

प्रतिनिधि मण्डलले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, घटनाको छानबिन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दु धर्ममाथिको आक्रमण रोकिनपुर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतका माग राखेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell