PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चीनको हैनानमा बोआओ फोरम शुरु: प्रधानमन्त्री ओली छुटेपछि नेपालको सहभागिता शून्य



पहिलोपोस्ट

चीनको हैनानमा बोआओ फोरम शुरु: प्रधानमन्त्री ओली छुटेपछि नेपालको सहभागिता शून्य
फोटो: people.cn

काठमाडौं: भारतको राजकीय भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै छन्। स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री चीन जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको थियो। 

तर, प्रधानमन्त्री ओली चीन नजाने भएका छन्। नेपाललाई चीनको हैनानमा आयोजना हुने एसियाका लागि बोआओ फोरम (बोआओ फोरम फर एसिया)का लागि निम्तो आए पनि अन्तिम समयसम्म आइपुग्दा नेपालले प्रतिनिधिको टुंगो लगाउन नसक्दा नेपालका तर्फबाट सहभागिता शून्य हुने भएको छ। 

बोआओ फोरमको वार्षिक सम्मेलन आजदेखि हैनान प्रान्तको बोआओमा सुरु भएको छ। ‘विश्वको समृद्धिका लागि खुला तथा नवीन एसिया’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनका अन्तिम सहभागीहरूको नाम फोरमले सार्वजनिक गरेको छ। 

चिनियाँ राष्ट्रपतिसहित विश्वका शीर्ष नेताहरू सहभागी हुने सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओली सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको भए पनि प्रधानमन्त्रीको तर्फबाट टुंगो नलाग्दा सहभागिता शुन्य उन्मुख भएको हो। 

बोआओ फोरमले सार्वजनिक गरेको सम्मेलनका ‘डेलिगेट’हरूको सूचीमा प्रधानमन्त्री ओलीको नाम छैन। 

सम्मेलनमा चीनका राष्ट्रपति सीसँगै अष्ट्रियाका राष्ट्रपति अलेक्सजेन्डर भान डेर बेलेन, फिलिपिन्सका राष्ट्रपति डुतेर्ते, मंगोलियाका प्रधानमन्त्री युखानागिन खुरेल्सुख, नेदरल्याण्डका प्रधानमन्त्री मार्ट रुथ, पाकिस्तानका प्रधानमन्त्री शाहीख खाकन अब्बासी, सिंगापुरका प्रधानमन्त्री ली हेनि लुङ सहभागी हुँदै छन्। त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, पाकिस्तानका पूर्व प्रधानमन्त्री सौकत अजिजसहित विभिन्न देशका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसहित ६२ जना राजनीतिक प्रतिनिधिहरू सहभागी हुँदैछन्। 

त्यस्तै सम्मेलनमा १३७ व्यावसायिक नेतृत्वहरू सहभागी हुँदै छन् भने ४२ बौद्धिक व्यक्तित्वहरूको सहभागिता हुने फोरमको आधिकारिक वेबसाइटमा उल्लेख छ। ५५ मिडिया लिडरको समेत सहभागिता हुँदै छ। 

सम्मेलनका लागि छनोट भएका कुल २७६ जनाको ‘डेलिगेट’ लिष्टमा नेपाल भने अट्न सकेन्। यसअघि भएका हरेक सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता हुँदै आएको थियो। 

यस अघि २०१७ को सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष वक्ताका रूपमा निम्ताइएको थिए। त्यस्तै सन् २०१६ मा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिए। 

त्यस्तै सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिको रूपमा सहभागी भएका थिए। यसपालि पनि चीनले नेपालको तर्फबाट उच्चस्तरीय सहभागिताका लागि निम्तो पठाएको थियो। 

सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिताका लागि चासो राखेका थिए। तर भारतले प्रधानमन्त्री ओलीलाई चीनले निम्तो दिएकै समयमा भारत निम्तो दियो। प्रधानमन्त्री ओली दिल्ली गए। उनी दिल्ली गएसँगै बोआओ फोरममा नेपालको सहभागिता शून्य हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell