PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका



पहिलोपोस्ट

प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा आली तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। दोसोपटक प्रधानमन्त्री भएपछिको प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत जान लागेका हुन्। 

प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्दैछन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली राष्ट्रपति भवनमा पुग्नेछन्। 

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर ओली भारत जान लागेका हुन्। पहिलोपटक प्रधानमन्त्रीको भ्रमण टोलीमा चलचित्र क्षेत्रबाट समेत प्रतिनिधित्व छ।

ओलीको टोलीमा नेपाल सरकारका मन्त्री, संघीय संसद्का सांसद्, मुख्यसचिव, सचिव, उद्योगी व्यवसायी तथा सचिवालयका सदस्य छन्। 


यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका


पहिलो दिन
शुक्रबार नयाँ दिल्लीमा ओर्लिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा केही समय आराम गर्ने छन्। त्यसपछि उनले भारतका उद्योगी तथा व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यो अन्तरक्रियामा नेपालबाट जाने उद्योगी तथा व्यवसायीहरुको समेत सहभागिता हुने छ। 

यो कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओली साँझ नै अर्को अन्तरक्रियामा सहभागी हुने छन्। भारतमा रहेका नेपाली समुदायसँग उनले शुक्रबार साँझ नै अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ प्रधानमन्त्री ओलीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोजको आयोजना गर्ने छ। उनी रात्रिभोजमा सहभागी हुनुका साथै सोही अवसरमा उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।   

दोस्रो दिन
दिल्ली भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त हुने छन्। भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक रुपमा स्वागत  गर्ने छन्। 

शनिबार बिहान प्रधानमन्त्रीको सम्मानमा आयोजित राजकीय स्वागतमा सहभागी हुनेछन्। त्यहाँ उनलाई गार्डअफ अनर प्रदान गरिनेछ। लगत्तै उनी महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगी पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। लगत्तै उनले भारतीय उपराष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

त्यस लगत्तै प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग द्विपक्षीय भेट गर्ने छन्। प्रधानमन्त्री ओलीको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा समेत सरिक हुने छन्। सोही क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ वार्ता हुनेछ। त्यसपछि दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा द्विपक्षीय वार्ता हुने छ। 

वार्तापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सम्बोधन गर्ने कार्यक्रम बनेको परराष्ट्र स्रोतले जनाएको छ। 
शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतका वित्तमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

लगत्तै प्रधानमन्त्री ओलीसँग भारतका विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले भेट गर्ने कार्यक्रम तय भएको छ।  

भेटवार्तापछि दुबै देशका प्रधानमन्त्रीले शनिबार नै वीरगंजमा भारतीय सहयोगमा बनेको एकीकृत चेक पोष्टको संयुक्त रुपमा दिल्लीबाट स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। 

लगत्तै दुबै प्रधानमन्त्रीहरुले भारतका इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा वुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। 

तेस्रो दिन
भ्रमणको तेस्रो तथा अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तराखण्डमा पुग्ने छन्। उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी हुने छन्। विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि (डिग्री अफ डक्टर अफ साइन्स) प्रदान गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रम सकेसँगै प्रधानमन्त्री ओली नयाँ दिल्ली फर्किने छन्। त्यहाँदेखि आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell