PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या आरोपीले पाए सफाई  



फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या आरोपीले पाए सफाई  

काठमाडौँ : राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन्। 

मनीषाको मृत्युको कारण झुन्डिएर भएको पुष्टि भएको भन्दै नवलपरासी जिल्ला अदालतले उनलाई सफाई दिएको हो। 

गत वर्ष जेठ १३ गते बिहान मनीषा बर्दघाट–८ ‍स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको आशङ्कामा प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। 

शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको मृत्यु झुन्डिएरै भएको उल्लेख गरेका थिए। मनीषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयमार्फत् आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो। 

जिल्ला न्यायाधीश रीतेन्द्र थापाको इजलासले गरेका फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनीषाको मृत्युको कारण झुन्डिएर नै भएको उल्लेख गरिएको छ। 

यस्तो थियो प्रहरीको घटनाको अनुसन्धान प्रतिवेदन

प्रहरीले त्यतिखेर सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा मनीषाको हत्या प्रेमी चौधरीले गरेको उल्लेख थियो।  

तर पोलिग्राफ टेस्टमा भने आशिषले घाँटी थिचेर मारेको अस्वीकार गरेका थिए। काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा पनि मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइएको थियो।

गत वर्ष जेठ १२ गते राति घटना भए पनि प्रहरीले भोलिपल्ट बिहान मनीषाको घरमा पुगी अनुसन्धान थालेको थियो।
 
छिमेकीसँगको सोधपुछपछि घटनाको आशङ्कामा मनीषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो र उनकै घरबाट खरानी रङ्गको टिसर्ट र पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रङ्गको सल पनि बरामद गर्योप।

मनीषाका काकाले  ज्यान मुद्दामा जाहेरी दर्ता गराए। जाहेरीकै आधारमा जिल्ला अदालतमा ७ दिन म्याद थपिएर अनुन्धान सुरु भयो। मनीषाको शव पोस्टमार्टमका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल ल्याइयो। 

अनुसन्धान बढाउँदै आशिषले झुटो बोलेको हो होइन भनेर पत्ता लगाउन पोलिग्राफ टेस्टसमेत गर्योट प्रहरीले। टेस्टले देखायो- आशिषले घाँटी थिचेर मनीषाको हत्या गरेका होइनन्।

मनीषाका प्रेमी आशिषको पाँच घण्टा लगाएर पोलिग्राफ टेस्ट गरिएको थियो। पोखराबाट गएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्टमा जुटेको थियो। झुटो बोलेको हो कि होइन भनेर पत्ता लगाउने प्रविधि नै पोलिग्राफ टेस्ट हो।

प्रहरीको अनुसन्धानले दुईबीचको प्रेम सम्बन्ध र त्यसले ल्याएको विवादकै कारण घटना भएको देखाएको थियो। मनीषा र आशिषबीच २०७३ जेठ १२ गते राति साढे ८ बजेसम्म दुई-चार दिनमा २ सय १८ पटक दुईतर्फी फोन सम्पर्क भएको थियो।

प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनीषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।

विमलले एक दुर्घटनामा आफ्ना बाबुलाई दशकअघि गुमाएका थिए। उनी खेलको दौरानमा देशविदेश गइराख्नुर्ने भएकाले नवलपरासीस्थित घरमा आमा र बहिनीमात्र बस्दै आएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell